Logo

मेलम्ची खानेपानी आयोजनाले सिएमसीसँगको ठेक्का तोड्यो, काम अघि बढाउन सरकारको निर्णय पर्खदै

मेलम्ची खानेपानी आयोजनाले सिएमसीसँगको ठेक्का तोड्यो, काम अघि बढाउन सरकारको निर्णय पर्खदै



काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको मुख्य ठेकेदार इटालियन कम्पनी कोपराटिभा एण्ड सेमेन्टिस्टी सिएमसीडी रभेन्ना (सिएमसी) सँग ठेक्का तोडेको छ । सीएमसीले तोकिएको समयसिमा भित्र काममा नफर्केपछि आयोजनाले उक्त ठेक्का तोडेको हो ।

ठेकेदार कम्पनी लामो समय देखी सम्पर्कमा नआएको र काम गर्ने मनस्थिती नदेखेको भन्दै सिएमसीलाई टर्मिनेट गरेर उक्त ठेक्का सम्झौता तोडेको आयोजना प्रमुख सुर्यराज कंडेलले बिजखबरलाई जानकारी दिए ।

आयोजनाको ठेकेदार सिएमसी कम्पनी टाँट पल्टेको भन्दै भाग्न लागे पछि गत डिसेम्बरमा प्रहरीले पक्राउ गरेको थियो । तर सिएमसीको धरौटी रकम रोक्का गरे पछि पुन काममा फर्कने भन्दै क्रिसमस मनाउन स्वदेश फिर्ता भएको थियो ।

लामो समयसम्म प्रभावित भएको मेलम्ची खानेपानी आयोजनाको कामलाई अगाडी बढाउन मन्त्रिस्तरीय निर्णय हुनु पर्ने र आफुहरु सोही निर्णयको पर्खाईमा रहेको समेत प्रमुख कंडेलले जानकारी दिएका छन ।

आयोजनाका प्रवक्ता तथा सिनियर डिभिजन इन्जिनियर राजेन्द्रप्रसाद पन्तका अनुसार अबका दिनमा विकास समितिका अधिकार भित्र रहेर आयोजनालाई अगाडी बढाइने भएको छ । ‘तर विकास समितिको अधिकार भित्र रहेर सरकारले निर्णय गरेपछि मात्रै थप काम हुनेछ,’ उनले भने, ‘सिधै नयाँ ठेकेदारमार्फत काम गर्न समेत गाह्रो छ ।’ अबको आयोजनालाई साधारण तरिकाले अघि बढाउने वा विशेष परिस्थितीमार्फत जाने भन्ने विषयमा टुङ्गो लगाउनुपर्ने समेत उनले जानकारी दिए ।

अहिले आयोजनाको काम धेरै बाँकी नरहेको अवस्थामा सरकारले विशेष परिस्थिती मार्फत निर्णय गर्दै काम अगाडी बढायो भने सहज हुने आयोजनाले जानकारी दिएको छ । तर साधारण परिस्थितीमार्फत गयो भने आयोजनाको काम लम्बिनेछ पन्तले भने ।

साधारण परिस्थितीमार्फत जाँदा नयाँ कन्ट्याक्टर ल्याउनु पर्ने हुन्छ, जसका लागि पुन टेण्डर आह्वान गर्नु पर्ने हुन्छ । तर त्यसरी काम अघि बढाउँदा काठमाडौंबासीले समयमै मेलम्चीको पानी उपयोग गर्न पाउँदैनन । नयाँ कन्ट्याक्टर आए पनि उसले सिधै काम गर्न सकिँदैन पुरानो कन्ट्याक्टरले के के काम गरेको छ सबै बुझेर मात्रै गर्छन जसले गर्दा समय लम्बिन्छ ।

तर विशेष परिस्थितीमार्फत जान सक्यौं भने काम छिट्टै सम्पन्न हुने र समयमै काठमाडौंबासीले मेलम्चीको पानी उपयोग गर्न पाउनेछन । यसका लागि मन्त्रिस्तरीय निर्णय आवश्यक भएको पन्तले जानकारी दिए । सरकारले विशेष परिस्थितीमार्फत जाने भनेर निर्णय गरेको खण्डमा काठमाडौंमा छिट्टै पानी आउन सकिने उनको दाबी थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL