Logo

तिहारलाई १७ लाख माला खपत हुँदै, ३ लाख भारतबाट आयात

तिहारलाई १७ लाख माला खपत हुँदै, ३ लाख भारतबाट आयात


रासस
0
Shares

काठमाडौं । यस वर्षको तिहारमा गत वर्षभन्दा दुई लाख बढी फूलको माला खपत हुने भएको छ । गत वर्ष तिहारमा १५ लाख माला खपत भएको थियो । यस वर्ष भने बजारमा १७ लाख मालाको माग रहेको व्यवसायीहरुले जानकारी दिएका छन ।

अघिल्ला वर्षको तुलनामा यस वर्ष तिहार ढिला परेको छ जसका कारण स्थानीय फूल फुलेर सुकिसकेका छन । पात्रो हेरेर व्यावसायिक रुपमा फूल लगाउनाले व्यवसायीको मात्रै फूल प्रयोग गर्न मिल्ने अवस्थामा रहेकाले स्वदेशी उत्पादनमा कमी देखिने हुँदा फूलको माग बढन सक्ने र फूलको मूल्यमा समेत केही वृद्धि हुनेछ ।

यस वर्ष उपभोक्ताले एउटा सयपत्री मालाको मूल्य ६० रुपैयाँ देखि ७० रुपैयाँ सम्म बढी तिर्नुपर्ने देखिन्छ । गत वर्ष ५० देखि ६० रुपैयाँभन्दा बढी मूल्यमा माला किन्नुपर्ने अवस्था नभएको फ्लोरीकल्चर एशोसिएशनले जानकारी दिएको छ । मुख्यगरी तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरी फूलमध्ये सयपत्री मात्रै भारतबाट ल्याउनुपर्ने एशोसिएशनले जानकारी दिएको छ ।

प्रत्येक वर्ष १० देखि १५ प्रतिशत स्वदेशी फूल उत्पादनमा वृद्धि हुने गरे पनि माग बढेकाले यस वर्षको तिहारका लागि २ लाख बढी माला आयात गरिने एशोसिएशनका अध्यक्ष कुमार कसजु श्रेष्ठले जानकारी दिएका छन ।

यस वर्ष भारतबाट मात्रै ३० लाख रुपैयाँ बराबरको ३ लाख सयपत्री फूलको माला ल्याइँदै छ । तिहारमा मात्रै १ करोड रुपैयाँ फूलको कारोवार हुनेछ । यस पटकको तिहारमा भारतबाट अत्यन्तै थौरै मूल्यको माला आयात गर्ने तयारी रहे पनि माग बढेकाले फूलको माला आयातमा वृद्धि गर्नुपरेको श्रेष्ठले भनाई रहेको छ ।

अहिले स्वदेशमा नै ९० प्रतिशत फूल उत्पादन हुन थालेकाले १० प्रतिशत मात्र भारतबाट ल्याउनुपर्ने बाध्यता छ । यसअघिका वर्षमा १८ प्रतिशत फूल भारतबाट आयात गर्नुपर्ने अवस्था थियो ।

६० प्रतिशत माला खपत

काठमाडौँ उपत्यकामा सबैभन्दा बढी ६० प्रतिशत माला खपत भएको छ । स्वदेश र विदेशमा गरी गत वर्ष १ अर्ब ८५ करोड रुपैयाँको फूलको कारोवार भएको थियो । तिहार र अन्य मौसममा गरी ११ करोड रुपैयाँ बराबरको फूल वार्षिक रुपमा विदेशबाट आयात गरिँदै आएको छ । मुख्यगरी कात्तिकदेखि फागुनसम्म विभिन्न चाडबाड र विवाहको मौसम पर्ने हुँदा फूल बढी प्रयोग हुने गरेको छ ।

तिहारमा सयपत्री र प्रणय दिवसमा रातो गुलाब आयात गर्नुपरे पनि मखमली र गोदावरी फूलमा नेपाल आत्मनिर्भर बनिसकेको अवस्था छ । अष्ट्रेलिया र मलेसियामा धेरै नेपालीले बसोबास गर्ने गरेकाले तिहारमा ती देशमा मखमली फूल निर्यातसमेत हुन थालेको अध्यक्ष श्रेष्ठले बताए ।

विशेषगरी तिहारका लागि सयपत्री र अन्य समयमा सजावटका लागि केही फूल भारतबाट आयात हुने गरेको छ । व्यावसायिक रुपमा ४ सय ५० प्रजातिका फूल नेपालमा उत्पादन हुँदै आएको छ । यस व्यवसायबाट ४१ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा लाभ लिएका छन । नेपालमा लगभग १ सय ५३ हेक्टर क्षेत्रफलमा ७ सय जना व्यवसायीले यसको खेती गर्दै आएका छन ।

नेपालमा विसं २००७ सालदेखि शुरु भएको पुष्प व्यवसाय शहरीकरणको विकास तथा विस्तारसँगै फस्टाउँदै गएको छ । फूलको मागमा आएको वृद्धिसँगै विशेषगरी काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४१ जिल्लामा लगभग ६ सय ७५ पुष्पखेती तथा नर्सरी विस्तार भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL