Logo

चक्रपथमा ३ बर्ष भित्रै मोनोरेल चल्ने, लागत १ खर्ब १६ अर्ब, २१ स्थानमा स्टेशन

चक्रपथमा ३ बर्ष भित्रै मोनोरेल चल्ने, लागत १ खर्ब १६ अर्ब, २१ स्थानमा स्टेशन



काठमाडौं । काठमाडौंमा अबको ३ वर्ष भित्रमा मोनोरेल चल्ने भएको छ । चाइनाको चाइना रेलवे २५ औँ व्यूरो गु्रप कम्पनी लिमिटेड (सिआरसीसी) ले प्रारम्भीक प्रतिवेदन बुझाएसँगै काठमाडौंको चक्रपथमा तीन बर्षभित्र मोनोरेल चल्ने सम्भावना बढेको हो ।

साथै चाईना रेल्वेले काठमाडौ महानगरपालिका र ललितपुर महानगरपालिकाले मोनो रेल निर्माणका लागि सहमति दिएमा चाडै नै डिपीआरको काम थाल्ने जानकारी दिएको छ ।

सिआरसीसीले गत जेठमा ६ महिना भित्रै प्रारम्भिक प्रतिवेदन बुझाउने भन्दै कम्पनीले काठमाडौं र ललितपुर महानगरपालिकासँग काठमाडौंको चक्रपथमा मोनोरेलको सम्भाव्यता अध्ययन गर्न सहमति गरेको थियो । कम्पनीले ४ महिनामै सोको प्रतिवेदन बुझाएको छ ।

चक्रपथमा मोनोरेल निर्माणका लागि करिब १ खर्ब १६ अर्ब रुपैयाँ लागत लाग्ने प्रारम्भिक अध्ययन सहितको प्रतिवेदन सो कम्पनीले दुबै महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र चिरीबाबु महर्जनलाई बिहीबार हस्तान्तरण गरेको हो ।
प्रतिवेदनमा मोनोरेलका लागि प्राविधिक, भौगोलिक, आर्थिक, वातावरणीय सबैको सम्भाव्यताको समेत अध्ययन गरेको बताएको छ । कम्पनीले सबै हिसावले चक्रपथमा मोनोरेल निर्माण गर्न सकिने प्रतिवेदनमा उल्लेख गरेको छ ।

सो कम्पनीका इण्टरनेशनल म्यानेजर झावो सिवावोले पनि आफूहरु चक्रपथमा मोनोरेल निर्माणका लागि इच्छुक देखिएको जानकारी दिएका छन । उनले जतिसक्दो छिटो निर्णय दिए आफूहरुले डीपीआर सुरु गर्ने समेत जानकारी दिएका छन ।

प्रतिवेदन बुझेसँगै काठमाडौंका मेयर शाक्यले आफ्नै कार्यकालमा काठमाडौं वासीको मोनोरेल चढ्ने सपना पूरा गर्ने प्रतिवद्धता व्यक्त गर्दै चिनियाँ कम्पनीले सम्झौता गरेको समयसीमा भित्रै प्रतिवेदन बुझाएकोमा खुशी व्यक्त गरेका छन ।

‘यो प्रतिवेदनको दुबै महानगरपालिका मिलेर प्राविधिक अध्ययन गर्नेछौँ,’ काठमाडौंका मेयर शाक्यले भने, ‘हामीले उचित ठान्यौं भने केन्द्र र प्रदेश सरकारसँग पनि कुरागरेर काम अघि बढाउने छौं ।’ आफुहरुले मोनोरेल चढेर विदा हुने बाचा गरेको बताएउँदै एकै चरणमा काम गर्न नसक्ने अवस्था आयो भने बरु दुई–तीन चरणमा भए पनि काम गर्न सकिने उनले जानकारी दिए ।

सआरसीसीले पनि पहिलो चरणमा कोटेश्वर देखी कलंकीसम्म, दोस्रो चरणमा कलंकीदेखि चक्रपथसम्म र तेस्रो चरणमा चक्रपथदेखि कोटेश्वरसम्म निर्माण गर्न सकिने बताएको छ ।

सिआरसीसीले डीपीआर सुरु गरेको ६ महिना भित्र प्रतिवेदन बुझाउने र कामशुरु गरेको ३ वर्ष भित्रमा सम्पन्न गर्ने जानकारी दिएको छ । कुल २७ दशमलब ५ किलोमिटरको चक्रपथमा सो कम्पनीले २१ स्थानबाट यात्रु चढाउने र ओराल्ने स्टेशन बनाउने पनि प्रतिवेदनमा उल्लेख छ ।

कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर महर्जनले चिनियाँ कम्पनीसँग काम गर्न आफूहरु इच्छुक रहेको बताएका छन ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL