Logo

आईएमई समुहको दोस्रो केवलकार प्रोजेक्ट, १ अर्ब लगानीमा मौलाकालिका मन्दिरमा केवलकार स्थापना

आईएमई समुहको दोस्रो केवलकार प्रोजेक्ट, १ अर्ब लगानीमा मौलाकालिका मन्दिरमा केवलकार स्थापना


रासस
0
Shares

नवलपरासी । आईएमई समुहले धार्मिक पर्यटकीयस्थल मौलाकालिका मन्दिर क्षेत्रमा केवलकार स्थापना गर्ने भएको छ ।

यस अघि काठमाडौंको चन्द्रागिरीमा केवलकार निर्माण गरी संचालनमा ल्याएको सो समुहले नवलपरासी गैंँडाकोटस्थित मौलाकालिका मन्दिर क्षेत्रमा केवलकार निर्माणका लागि आवश्यक प्रक्रिया सुरु गरेको हो । मौलाकालिका मन्दिर क्षेत्रमा केवलकार स्थापनाका लागि आवश्यक पर्ने वातावरणीय प्रभाव मूल्याकंन (इआइए) सम्बन्ध कार्य अन्तिमचरणमा पुगेको आइएमइ समूहका जनसम्पर्क व्यवस्थापन विभागका प्रमुख राजु पौडेलले जानकारी दिए ।

करीब १ अर्ब रुपैयाँको लगानीमा निमार्ण सम्पन्न हुने लक्ष्य राखिएको सो केवलकार आयोजनामा ५१ प्रतिशत लगानी आइएमइ समूह र बाँकी ४९ प्रतिशत लगानी स्थानीयवासीको रहने छ ।

पूर्वी नवलपरासीको पहाडी क्षेत्र, बिचमा नारायणी नदी र चितवनको पर्यटकीय क्षेत्रको सम्भावनालाई मध्यनजर गरी स्थापना गर्न लागिएको केवलकारले यस क्षेत्रको पर्यटकीय विकासमा ठूलो सहयोग पुग्ने विश्वास लिएको प्रमुख पौडेलले बताए ।

गैँंडाकोट मौलाकालिका मन्दिर फेदी धारापानी टोलमा १२ कठ्ठा जमीन खरीद गरी मौलाकाली केवलकार प्रालि दर्ता नै गरेर आइएमइ गु्रपले केवुलकार निमार्णका लागि अन्य प्राविधिक तयारी गरेको छ ।

सो कम्पनीले मौलाकाली मन्दिर परिसरमा प्रस्तावित मौलाकाली केवलकार आयोजनाको वातावरणीय प्रभाव मूल्याकंन इआइए सम्बन्धी स्थानीयवासीसँग केवलकार निमार्ण र त्यसको प्रभावको विषयमा छलफल गरेको छ ।

केवलकार स्थापनाले यस क्षेत्रको पर्यटकीय विकासमा ठूलो सहयोग पुग्ने गैँडकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले बताए ।

सरकारी स्तरबाट सम्पूर्ण प्रक्रिया पूरा भएपछि निमार्ण कार्य शुरु गरी एक वर्षभित्रै सम्पन्न हुने लक्ष्य सो समूूहको छ । नगरभित्र रहेका ३६ वटा धार्मिक संघ संस्थालाई समेटेर धार्मिक पर्यटकीय नगर विकासको योजना अघि बढाइएको नगरपालिकाले जनाएको छ ।

यो केवलकार आयोजनाले नगरपालिकाको विकासमा पनि ठूलो सहयोग पुग्ने गैँडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्यले बताउनुभयो ।

देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टंकनाथ पौडेलले अहिले नै वार्षिक पाँच÷सात लाख पर्यटक देवघाटधाममा आइरहेको अवस्थामा गैँडाकोटबाट मौलाकालिका र मौलाकालिकाबाट देवघाट जोड्न सके र बेनी संगममा त्रिकोणात्मक पुल बनेपछि वर्षेनी २० लाख पर्यटक आउन सक्ने धारणा व्यक्त गरे ।

मौलाकालिका मन्दिरमा दर्शनका लागि आन्तरिक र बाह्य गरी वार्षिक करीब १० लाख पर्यटक आउने गरेको अनुमान छ । केवलकार स्थापनासँगै सो संख्यामा निकै वृद्धि हुने आशा लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL