Logo

रानीपोखरीको नयाँ डिजाईन तयार हुँदै, कंक्रिट हटाउन १६ लाख खर्च

रानीपोखरीको नयाँ डिजाईन तयार हुँदै, कंक्रिट हटाउन १६ लाख खर्च



काठमाडौं । भूकम्पले क्षतीग्रस्त रानीपोखरीको पूनर्निर्माण गर्न यसअघिको निर्माण डिजाइन परिवर्तन गरी नयाँ डिजाइन तयार गरिदैंछ । यस अघि सिमेण्ट र छड प्रयोग गरेर निर्माणको प्रारम्भिक काम सुरु भइसकेमा त्यसलाई पूर्णतः परिवर्तन गरेर काठमाडौं महानगरपालिकाले नयाँ डिजाइन गर्न लागेको हो ।

महानगरपालिका आफैले नयाँ डिजाइन तयार गर्न लागेको सहरी विकास निर्माणका विभागीय प्रमुख राम थापाले जानकारी दिए । उनका अनुसार बढीमा एक हप्ताभित्र नयाँ डिजाइनको काम पुरा हुनेछ । उक्त डिजाइनमा पुरातत्व विभागले स्विकृति दिनुपर्ने हुन्छ । स्विकृति पछि मात्रै पुनर्निर्माणको काम सुरु हुने उनको भनाई छ ।

नयाँ डिजाइनमा निर्माण गर्नुपर्ने भएपछि महानगरपालिकाले यसअघि सुरु गरिसकेको निर्माणको काम भत्काएर कंक्रिट हटाइरहेको छ । जेठ दोस्रो हप्तादेखि कंक्रिट हटाउन सुरु भएकोमा अहिले अन्तिम चरणमा पुगेको थापाले जानकारी दिए ।

नयाँ संरचनामा निर्माण गर्न महानगरपालिकाले केहि महिना अघि निर्माण गरेको सिमेन्ट र रडबाट निर्मीत पर्खाल लगायतका संरचना भत्काउन जनस्तरबाट दबाव आएपछि भत्काउन सुरु गरेको थियो । त्यस्तो कंक्रिट बढीमा एक दुई दिनमै हटाइ सक्ने महानगरपालिकाले जनाएको छ ।

कंक्रिट हटाउन मात्रै करिब १६ लाख खर्च हुने महानगरपालिकाको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्
MBL