Logo

विमानस्थलमा पेट्रोलियम भण्डारण ‘अण्डरग्राउण्ड’ गरिँदै, पाईपलाईनबाटै सिधै जहाजसम्म इन्धन

विमानस्थलमा पेट्रोलियम भण्डारण ‘अण्डरग्राउण्ड’ गरिँदै, पाईपलाईनबाटै सिधै जहाजसम्म इन्धन



काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलस्थित परिसरमा रहेको नेपाल आयल निगमको पेट्रोलियम भण्डारणलाई ‘अण्डरग्राउण्ड’ गरिने भएको छ ।

आयल निगमले अहिले भण्डारण गरिरहेको टयाङ्कीलाई अण्डरग्राउण्ड गरेर पाईपलाइनमार्फत हवाई इन्धन भर्न सक्ने व्यवस्था गर्न लागेको हो ।

ट्याङ्कीलाई अण्डरग्राउण्ड गर्दा विमान ठोकिएर दुर्घटना नहोस भन्ने उद्देश्यले अण्डरग्राउण्डको तयारी गरिएको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले बिजखबरलाई बताए । ‘यदि अण्डरग्राउण्ड नगर्ने हो भने जुनसुकै बेला जहाज ठोकीएर पुरै काठमाडौ ध्वस्त हुन सक्ने भएकाले इन्धन भण्डारण अण्डरग्राउण्ड गर्न लागिएको हो,’ उनले भने ।

तर, पेट्रोलियम भण्डारणको लागि अण्डरग्राउण्ड गर्न ठूलो रकम खर्च हुने उनले जानकारी दिए । उक्त रकमको लागि संस्कृति ,पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी स्वयमले नै पहल गरिरहेको उनले जानकारी दिए ।

योजना अनुसार नै अण्डरग्राउण्डका लागि विमानस्थलले निगमलाई जग्गा समेत दिने भएको छ । तर उक्त जग्गामा भएको खाडल पुर्न भने केही समय लाग्ने क्षेत्रीले जानकारी दिए । भण्डारण अण्डरग्राउण्ड गर्न  निगमलाई पटक पटक ताकेता गर्दा पनि निगमले भने बेवास्ता गरेको उनको आरोप छ ।

नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक सुशिल भट्टराईले भने विमानस्थल भित्रैको विस्तारको योजनामा राख्ने छलफल भईरहेको बताएका छन । उनका अनुसार विमानस्थलले  जग्गा दिने भए पनि निगमसँग प्रविधि तथा दक्ष जनशक्ति नहुँदा यस्तो काम गर्न समस्या देखिएको हो ।

‘दुई तर्फी काम हुँदा ढिलो हुने तथा एकले अर्कालाई दोष लगाउने काम बाहेक अरु काम केही हुँदैन,’ उनले भने, ‘त्यसैले यो काम विमानस्थलकै योजनामा गर्नुपर्छ ।’  डिजाईनका लागि निगमले प्राविधिक उपलब्ध गराउनले उनले बताए ।

निगमसँग हाल भएको ट्याङकरको क्षमता १६ हजार लिटरको मात्र भएकाले जहाज रोकिने ठाउँसम्म पाईपलाईन भूमिगत गर्न लागिएको हो । ‘एउटै जहाजमा ७० हजार लिटरसम्म तेल जान्छ ट्याङकरले कति पटक ओसार्ने ?,’ उनले भने ।

पाईपलाईन भुमिगत भए पछि जहाजमा तेल भर्न सानो गाडी जाने र उक्त गाडीमा पाईप फिल्टर, पम्पिङ गर्न सक्ने मेसिन लगायत आवश्यक सामग्री रहने भट्टराईले जानकारी दिएका छन् ।

तर पाईपलाईन भुमिगत गर्ने भनेको अन्तरराष्ट्रिय विमानस्थलमा मात्र भएको बताउँदै आन्तरिक विमागनस्थलमा भने यो सम्भव नभएको भट्टराईको तर्क छ । यसरी विमानस्थलसम्म भुमिगत पाईपलाईन विछ्याउँदा दुर्घटना न्युनिकरण हुनुका साथै समयको पनि बचत हुने उनले जानकारी दिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL