Logo

नेप्सेप्रतिको मनोविज्ञान बिग्रदै, मार्जिन कलको दबाबमा लगानीकर्ता

नेप्सेप्रतिको मनोविज्ञान बिग्रदै, मार्जिन कलको दबाबमा लगानीकर्ता


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । लामो समयसम्म पर्ख र हेरको अवस्थामा बसेका लगानीकर्ताहरु घट्दो बजारमा भएपनि आफुसँग भएको सेयर बिक्री गर्न थालेका छन् । अघिल्ला दिनका तुलनामा कारोबार बढाउँदै लगानीकर्ताले घटेरै भएपनि सेयर बिक्री गर्न थालेका सम्बद्ध लगानीकर्ताहरु बताउँछन् ।

लामोसमयसम्म लगानीकताहरु बजारमा पर्ख र हेरको अवस्थामा बसे । जसले गर्दा कारोबार रकम घटेपनि नेप्सेमा उतरचढाव कम भएको थियो । तर, पछिल्लो समय परिसुचक उच्च रुपमा घट्दा पनि लगानीकर्ताहरुले सेयर बिक्री गर्न थालेका छन् ।

जलविद्युत कम्पनीको लकिङ पिरियड खुला, बैंक तथा वित्तीय संस्थाको हकप्रद तथा बोनस सुचिकृति हुने क्रम बढ्दोजस्ता कारणले बजारमा सेयर सप्लाई बढी हुनेथालेपछि लगानीकर्ताले घट्दो बजारमा बिक्री गर्न थालेका हुन् । त्यसैगरी बढ्दो बैंक ब्याज तथा घट्दो बजारमा बैंक वित्तीय संस्थाले मार्जिन कलको दबाबले गर्दा पनि लगानीकर्ताहरु चेपुवामा परेका सम्बद्ध लगानीकर्ताहरुकै भनाई छ । पछिल्लो समय बजार उच्च रुपमा घटेका कारणले गर्दा पनि बैंकहरुले मार्जिन कलका लागि दबाब दिइरहेको स्रोतको भनाइ थियो ।

अहिले बजारमा संस्थागत तथा ठूला लगानीकर्ताभन्दा पनि साना लगानीकर्ताहरुबीच बढी कारोबार भइरहेको छ । बजारमा म्युचुअल फण्डले लगानी नगरेको र ठूला लगानीकर्ता पहिले नै निक्लिसकेकाले पनि कारोबार रकममा गिरावट आएको छ ।

बजारमा अझै पनि ठूला लगानीकर्ता घटाएर सेयर किन्ने दाउमा बसेका एक लगानीकर्ताको भनाई थियो । ‘केही लगानीकर्ताहरु अझै बजारलाई दबाबमा ल्याएर किन्ने दाउमा छन्,’ उनले भने, ‘बढ्दो ब्याज र मार्जिन कलले गर्दा साना लगानीकर्तालाई पनि पर्ख र हरेका अवस्थामा बस्नलाई कठिन भइरहेको छ ।

यो हप्ता आईतबारदेखि नै ओरालो लागेको बजारमा मंगलबार १५ अंकको गिरावट आयो जसमा होटल बाहेक सबै समुहको परिसुचक ओरालो लागेका छन् । बजारमा सबैभन्दा बढी बीमा समुहको परिसुचक १ सय ५२ अंकले घटेको छ भने बजारमा बढी प्रभाव रहेको बैंकिङ समुहको परिसुचकमा पनि १० अंकको गिरावत आएको छ ।

यसैगरी विकास बैंक समुह १५, माइक्रोफाइनान्स समुह २०, उत्पादनमुलक समुह ४३ र जलविद्युत समुहको परिसुचक २० अंकले घटेको छ । मंगलबार कारोबार रकम सामान्य बढेर ३२ करोड ८९ लाख रुपैयाँ पुगेको छ । जसमा नेपाल लाईफ इन्स्योरेन्स, नविल बैंक र नेपाल क्रेडिट एण्ड कमर्श बैंकको कारोबार सबैभन्दा बढी भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL