Logo

रिद्धिसिद्धिले शुरु गर्यो रोवर्टबाट सिमेन्ट उत्पादनको तयारी, ३ महिनाभित्र बजारमा

रिद्धिसिद्धिले शुरु गर्यो रोवर्टबाट सिमेन्ट उत्पादनको तयारी, ३ महिनाभित्र बजारमा


बिजखबर संवाददाता
0
Shares

हेटौंडा । रिद्धिसिद्धि सिमेन्ट उद्योगले रोबोटबाट परीक्षण उत्पादन शुरु गर्ने भएको छ । जगदम्बा र शंकर ग्रुपको संयुक्त लगानीमा निर्माण भइरहेको रिद्धिसिद्धि सिमेन्ट उद्योगले दैनिक ५० केजी तौलको ५६ हजार बोरा सिमेन्ट उत्पादन रोवर्टबाट गर्न लागेको हो ।

हाल परीक्षण उत्पादनको अन्तिम तयारी भइरहेको र संचालनमा आएसँगै सिमेन्ट उत्पादनमा जनशक्ति कम लाग्ने उद्योगका परियोजना प्रमुख राजेश पिलाइले बताए ।

उनका अनुसार उद्योगको व्यवस्थापकदेखि बजार व्यवस्थापन र पिएनसम्म गरेर जम्मा ३ सय जनशक्ति लाग्नेछ । उत्पादनको अनुपातमा जनशक्ति एकदमै कम भएको र यो उद्योग प्रविधिको हिसाबले हेर्दा नेपालमा पहिलो परियोजना भएको उनको भनाइ थियो ।

उद्योगबाट धुलो बाहिर जान नदिनका लागि अत्याधुनिक उपकरण जडान गरिएकाले वातावरणमा प्रतिकूल असर नपार्ने प्रमुख पिलाइले बताए । रिद्धिसिद्धि सिमेन्टले मकवानपुरको राक्सिराङ र निबुवाटारको चुनढुंगा खानीबाट कच्चापदार्थ आपूर्ति गर्ने छ ।

यसबाहेक चितवनको शक्तिखोरमा रहेको खानीबाट पनि चुनढुंगा आपूर्ति गरिने भएको छ । उद्योग पूर्ण क्षमतामा सञ्चालनमा आउँदा दैनिक १५ मेघावाट विद्युत खपत गर्ने छ । यसका लागि प्राधिकरणले विद्युत उपलब्ध गराउने प्रक्रिया जारी रहेको छ । अम्बे र शंकर ग्रूपको लगानीमा मिर्चैयामा पनि रिद्धिसिद्धि भन्दा ठूलो उद्योग स्थापना भइरहेको छ । नेपालमा सिमेन्टको बजार प्रशस्त रहेको र गुणस्तरीय उत्पादनको खोजीमा रहेका उपभोक्ताको मागलाई सम्बोधन गरिने भएको छ ।

नेपालमा सिमेन्टको माग बर्सेनी १५ देखि २० प्रतिशतका दरले वृद्धि भइरहेकाले लगानीकर्ताले सिमेन्ट उद्योगमा लगानी गरेको उद्योगका निर्देशक राजेश खरेलले बताए । ‘ स्वदेशी लगानीमा स्थापना भएका सिमेन्ट उद्योगमध्ये नेपालको हालसम्मको ठूलो उद्योग यो एउटा हो,’ उनले भने, ‘उद्योगको भौतिक निर्माणकार्य अन्तिम चरणमा पुगेकाले ३ महिनाभित्र उत्पादन थाल्ने छ ।’

आफ्नै क्लिङकर उत्पादन गर्ने प्लान्ट जडानका लागि भने १ वर्षको समय लाग्ने भएकाले क्लिङकर उपकरण जडान नभएसम्म खरिद गरेर उत्पादन गर्ने उद्योगको योजना रहेको उनले जानकारी दिए ।

कम्पनीबाट ओपिसी र पिएससी दुई प्रकारका सिमेन्ट उत्पादन हुनेछ । सिमेन्ट उद्योगमा जर्मनी र डेनमार्कको अत्याधुनिक प्रविधिका उपकरण जडान गरिएको उद्योगले जानकारी दिएको छ । ४० बिगाहा क्षेत्रफलमा निर्माणाधीन उद्योगमा पूर्णतया स्वचालित उपकरण जडान भइरहेको छ /रासस

प्रतिक्रिया दिनुहोस्
MBL