Logo

सूर्यविनायक–धुलिखेल सडक अब आठ लेन बन्ने

सूर्यविनायक–धुलिखेल सडक अब आठ लेन बन्ने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । अरनिको राजमार्गअन्तर्गत १५ किलोमिटर लामो सूर्यविनायक–धुलिखेल सडकखण्ड अब आठ लेन बन्ने भएको छ ।

सडक आठ लेनको बन्ने भएपछि सडक विभागले बिहीबार भक्तपुरको जगातीमा आयोजना गरेको राय सुझाव संकलन कार्यक्रममा सरोकारवालाले छिट्टै यो सडक विस्तार गर्नु पर्ने मागसमेत गरेका छन् । काठमाडौं उपत्यका भित्रिने र बाहिरिने सवारी साधनको चाप अत्यधिक बढेको र जगाती क्षेत्रमा दैनिक सडक जाम हुन थालेकाले यो सडक छिटो निर्माण हुनुपर्ने माग गरेका हुन् ।

कार्यक्रममा पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य महेश बस्नेतले सूर्यविनायक धुलिखेल सडक देशकै महत्वपूर्ण योजना भएकाले यसको विस्तार तीव्र गतिमा गर्नुपर्नेमा जोड दिए । ‘ सूर्यविनायक जगाती सडकखण्डमा बढ्दोे सवारी चापलाई कम गरी सहजरूपले सवारीसाधन सञ्चालनका लागि सडक विस्तारले निकास दिनेछ,’ उनले भने ‘यो नाकामा सडक साँघुरो भएकाले पलाँसे–साँगा भञ्ज्याङ खण्ड र कोटेश्वरमा सुरुङ निर्माण गर्ने योजनासमेत अगाडि बढेको छ ।’

हाल सञ्चालनमा रहेको कोटेश्वर–सूर्यविनायक ६ लेन सडकमा दुर्घटना बढेको प्रति सचेत हुँदै सडक विस्तार गर्दा ट्राफिक लाइट, सिसिटिभी, सडक बत्ती, आकाशे पुल र फुटपाथको यथोचित व्यवस्था गरी दुर्घटना न्यूनीकरणमा सचेतता अपनाएर सडक विस्तार गर्नुपर्ने उनको भनाई थियो ।

सो अबसरमा उनले सडकको चोकचोकमा ट्याक्सी पार्किङ, मनोहरामा व्यवस्थित बसपार्क र साँगामा उपत्यका भित्रिने गाडी धुने व्यवस्था गरिने जानकारी दिए ।
साथै सूर्यविनाय–धुलिखेल सडक विस्तार गर्दा हाललाई ७५ फिटमात्रै बनाउनुपर्नेमा जोड दिए । बस्नेतले सडक विस्तार गर्दा पहिलो पटकलाई सडकमा पर्ने सबै घरजग्गाको मुआब्जा दिने व्यवस्था गरिनुपर्छ ।

सडक विभागका वैदेशिक सहायता महाशाखा प्रमुख सञ्जयकुमार श्रेष्ठका अनुसार सो सडक विस्तारमा जापान सरकारले सहयोग गर्न लागेको हो ।
यो सडकखण्ड विस्तारका लागि जापानले प्रारम्भिक अध्ययन गरिरहेको छ । सडक विभागको प्रतिनिधिमण्डलको जापान भ्रमण क्रममा प्रारम्भिक अध्ययन सकेपछि ऋण सम्झौतामा हस्ताक्षर गर्ने प्रतिबद्धता जापानले गरेको उनले जानकारी दिए ।

जापान सरकारको अनुदान र सडक विस्तारका लागि जापानले ०.२ प्रतिशत ब्याजमा ऋण सहयोग दिने प्रतिबद्धता जनाएकोले यो सडकखण्ड छिट्टै विस्तार गर्ने तयारी भएको उनले जानकारी दिए ।
प्रमुख श्रेष्ठले भने ‘सडक विस्तारका क्रममा पलाँसेमा सुरुङ निर्माण गरिने योजना छ ।’ पलाँसेबाट साँगा भञ्ज्याङसम्म साँघुरा घुम्तीहरू रहेकाले आठ लेनको सडक बनाउन समस्या देखिँदा सुरुङमार्गको योजना बनाइएको उनले जानकारी दिए ।
सडक आठ लेनको भए पनि सुरुङमार्ग भने चार लेनको हुनेछ ।

पेट्रोलियम पदार्थ बोकेका गाडीलाई सुरुङ मार्गमा प्रवेश नदिई सडकबाटै पठाइने र सूर्यविनायक –कोटेश्वरखण्डमा पनि जाम हटाउन सुरुङ मार्ग बनाउन अध्ययन भइरहेको बताए ।

यो सडकबाट चीनसँगको तातोपानी नाका जाने साथै अरनिको र बिपी राजमार्गसहित दोलखा, खोटाङ, रामेछाप, सिन्धुली, बर्दिबासलगायत लामो दूरीका गन्तव्यमा चल्ने सार्वजनिक यातायातका लागि सहज हुनेछ । रासस

प्रतिक्रिया दिनुहोस्
MBL