Logo

राष्ट्रिय सभा सदस्यका लागि मनोनयन आज

राष्ट्रिय सभा सदस्यका लागि मनोनयन आज


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता कार्यक्रम शुरु भएको छ । माघ २४ गते हुने निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता हुन लागेको हो ।

निर्वाचन आयोगले उच्च अदालत रहेका विराटनगर, जनकपुर, ललितपुर, पोखरा, दाङ, सुर्खेत र डोटीमा उम्मेदवार मनोनयनका लागि निर्वाचन अधिकृतको कार्यालयहरु यसअघि नै स्थापना गरिसकेको छ । उम्मेदवारी मनोनयन बिहान १० बजेदेखि शुरु भई अपराह्न ४ बजेसम्म हुनेछ ।

प्रत्येक प्रदेशबाट तीन महिला, एक दलित, एक पिछडिएका क्षेत्र वा अल्पसंख्यकसहित आठ जनाका हिसाबले ५६ जना राष्ट्रियसभा सदस्यमा निर्वा्चित हुने संवैधानिक प्रावधान छ ।

५९ सदस्यीय राष्ट्रिय सभामा तीनजना भने सरकारको सिफारिशमा राष्ट्रपतिबाट मनोनयन हुनेछन् । राष्ट्रियसभा संघीय संसद्को माथिल्लो सदन हो ।

राष्ट्रिय सभा सदस्यको निर्वाचनमा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख तथा प्रदेशसभाका सदस्य गरी २०५६ मतदाता छन् ।

आज मनोयनन दर्ता गरेका उम्मेदवारलाई निर्वाचन आयोगले छानबिनपछि यही माघ १५ गते चुनाव चिह्न प्रदान गर्नेछ । राष्ट्रिय सभाको निर्वाचनमा २१ राजनीतिक दलले भाग लिने निर्वाचन आयोगले जनाएको छ ।

उच्च अदालत रहेका जिल्लाका जिल्ला न्यायाधीश राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन अधिकृत तोकिएका छन् । राष्ट्रियसभा सदस्य निर्वाचनको परिणाम आफ्नो पक्षमा ल्याउन कतिपय राजनीतिक दलले चुनावी तालमेल गरी उम्मेदवार उठाएका छन् ।रासस

प्रतिक्रिया दिनुहोस्
MBL