Logo

उत्तर र दक्षिण कोरियाले एउटै झण्डामा मार्च गर्ने !

उत्तर र दक्षिण कोरियाले एउटै झण्डामा मार्च गर्ने !


बिजखबर संवाददाता
0
Shares

सोल । उत्तर र दक्षिण कोरिया उनीहरु दुई देशका रुपमा टुक्रिएपछि पहिलो पटक एउटै झण्डामा मार्च गर्न सहमत भएका छन् । आगामी फेब्रुअरी ९ देखि २७ सम्म दक्षिण कोरियामा आयोजना गरिएको शीतकालीन ओलम्पिक खेलमा यी दुवै देशले एउटै झण्डामा मार्च गर्न सहमत भएको बताइएको छ ।

उत्तर कोरियाले दक्षिण कोरियामा हुन लागेको उक्त शीतकालीन ओलम्पिकमा आफ्ना खेलाडीको टोली र अन्य खेलकूद अधिकारीहरु पठाउने जानकारी यसअघि नै दिइसकेको छ ।

उक्त ओलम्पिक खेलमा सहभागिताका लागि उत्तर कोरियाली केही उच्च अधिकारी र पत्रकारहरु पनि जाने भएका बताइएको छ । यसरी उत्तर कोरियाली प्रतिनिधिमण्डल ठूलो हुने भएको समाचारमा जनाइएको छ ।

दक्षिण कोरियाले यस खेलकूदमा उत्तरले बढी भन्दा बढी खेलाडी र अधिकारीहरु पठाओस र जसले गर्दा दुई देशको सम्बन्धलाई थप प्रगाढ बनाउन सकियोस भन्ने आग्रह गरेको थियो ।

उक्त आग्रहजस्तै उत्तर कोरियाले खेलाडी र अधिकारी पठाउने भएको हो । यतिमात्र नभएर उत्तर र दक्षिण कोरियाले उक्त खेलकूदमा एउटै अथवा संयुक्त झण्डामा सँगसँगै मार्च गर्न सहमति जनाएकोले उक्त खेलकूदलाई एक किसीमले भन्दा सौहार्द वातावरणको रुपमा लिन सकिने पर्यवेक्षकहरुले जानकारी दिएका छन् ।

यसका साथै युद्धविराम गाउँका रुपमा चिनिने पाममुनजोममा जनवरी ९ मा भएको एक उच्चस्तरीय कोरिया वार्तापछि तिनीहरुले आइस हकी खेलको महिला तर्फको प्रतिस्पर्धामा संयुक्त टोली समेत प्रस्तुत गर्ने सहमति पनि जनाएका छन् ।

यी दुई देशबीच यो स्तरको वार्ता करिब २ वर्षयता पहिलो पटक भएको थियो ।

सो वार्ताले सकारात्मक वातावरण निर्माण गरेपछि यसै हप्ता पनि दुई देशका अधिकारीहरुबीच कार्य समूहको अर्को वार्ता पनि भएको थियो ।

यी दुई वार्तापछि उत्तर कोरियाले सो ओलम्पिक खेलमा आफ्ना खेलाडी पठाउन सहमत भएको थियो । यससँगै दुई वर्षयता पहिलो पटक यी दुई देशबीच शान्तिपूर्ण समझदारीको विकास पनि हुन पुगेको बताइएको छ ।

यसरी विकसित सम्बन्धलाई जापानले शङ्कास्पद रुपमा हेरेको बताइएको छ । उता दुवै देशका तर्फबाट एक खेलमा संयुक्त खेलाडी प्रस्तुत गरिएको घटनालाई दक्षिण कोरियाका परम्परावादी समाचारमाध्यम र केही उच्च पदस्थ अधिकारीले पनि त्यसो नगर्न भनेका छन् ।

उनीहरुले उत्तर कोरियालाई दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले बढी महत्व दिएको भन्दै त्यसो नगर्न उनको ध्यानाकर्षण गराउन दश हजार जना भन्दा बढी नागरिकले अनलाइन हस्ताक्षर पनि बुझाएको बताइएको छ ।

उत्तर कोरियाको सैन्य परेड

यता उत्तर कोरियाले भने सो खेलकूदको अघिल्लो दिन अर्थात फेब्रुअरी ८ मा आफ्नो देशको दक्षिणतर्फको सिमानानजिकै ठूलो सङ्ख्यामा सैनिक परेडको आयोजना गर्ने भएको छ ।

उत्तर कोरियाले आफ्ना कम्तीमा पनि १२ हजार जना सैनिक सम्मिलत एक परेडको आयोजना गरेको बताइएको छ ।

उक्त सैनिक परेडमा उत्तर कोरियाली सेनाको कला कौशलका साथै हातहतियारहरुको पनि प्रदर्शनी गरिने जनाइएको छ ।

आफ्नो सेनाको बल प्रदर्शनका लागि उक्त खेलकूदको अघिल्लो दिन पारेको र सो दिनलाई उत्तरले आफ्नो सैन्यबल स्थापनाको ७० औँ स्थापना दिवसका रुपमा पनि लिएको छ । रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्
MBL