Logo

क्रिसमस र नयाँ वर्षमा डान्सबारदेखि होटलमा छुटैछुट

क्रिसमस र नयाँ वर्षमा डान्सबारदेखि होटलमा छुटैछुट


बिजखबर संवाददाता
0
Shares

सिवी अधिकारी
काठमाडौं । पर्यटन व्यवसायीहरुले नजिकिएको अंग्रेजी नयाँ वर्ष ९सन् २०१८० र ‘क्रिसमस डे’ लाई लक्षित गरेर यतिखेर नयाँ–नयाँ ‘प्याकेज’ सार्वजनिक गर्न थालेका छन् ।

पर्यटनका हिसाबले निकै महत्वपूर्ण मानिने यी पर्वमा आन्तरिक तथा विदेशी पर्यटकको चहलपहल बाक्लिने र व्यवसाय पनि फस्टाउने भएकाले व्यवसायीले विभिन्न सेवामा छुटसहितका आकर्षक प्याकेज बनाएका हुन् ।

विशेषगरी रात्रिकालीन मनोरञ्जन व्यवसायीले पाहुनालाई विभिन्न सेवामा विशेष अफर ल्याएका छन् ।

इशाई धर्मावलम्बीले उक्त धर्मका संस्थापक जिसस क्राइस्टको जन्मदिनका रुपमा क्रिसमस डेलाई मनाउने गर्छन् । दुई हजार १७ वर्ष अगाडिदेखि सोही धर्मावलम्बीले इस्वी संवत् प्रारम्भ गरेका हुन् । पर्यटनलाई संस्कृतिसँग जोडेर व्यवसायीले विभिन्न पर्वका अवसरमा नयाँ कार्यक्रम ल्याउने गरेका छन् ।

यसैक्रममा ठमेलको ‘रियल थेरापी एण्ड ब्यूटी प्वाइन्ट’ले नयाँ ग्राहकका लागि विभिन्न सेवामा ५० प्रतिशतसम्म छुटको अफर ल्याएको छ ।

जाडोको समयसँगै नयाँ वर्षको अवसरमा छुट ल्याइएको कम्पनीका सञ्चालक भविश्वर शर्माले बताए । पुराना नियमित ग्राहकलाई अझै बढी छुटको व्यवस्था गरिएको उनले जानकारी दिए ।

रियल थेरापीले ‘विन्टर भ्याकेसन’ छुटअन्तर्गत अफुरो, साउना, स्टिम, मसाजलगायत विभिन्न सेवामा नेपाली ग्राहकका लागि ५० प्रतिशत छुट दिइने जनाएको छ । जापानमा चर्चित ओफुरो, आयुर्वेदिक मसाज, हटस्टोन मसाज, ज्वाइन्ट पेन रिलिफ मसाज, रिल्याक्सेसन मसाज, अकुप्रेसर थेरापीलगायतका सेवासमेत सञ्चालनमा रहेको सञ्चालक शर्माले बताए ।

यस्तै, स्वदेशी मात्र नभई विदेशी पर्यटकलाई लक्षित गरी ठमेलमा खुलेका गजल, लाइभ ब्याण्ड, क्लब, लाउञ्ज रेस्टुराँ, डिस्को, दोहोरी साँझलगायत व्यवसायीले पनि नयाँ वर्ष तथा जाडो मौसममा विशेष छुट दिने गरेका छन् । व्यावसायिक सम्भावना देखेरै करोडौँ लगानी गरेका उनीहरुले विगतमा झैँ यसवर्ष पनि आफ्ना सेवामा विभिन्न अफर ल्याएका छन् ।

क्रिसमस डे र नयाँ वर्षलाई लक्षित गरी ठमेलमा नयाँ क्लब र रेस्टुराँ खुल्ने क्रम पनि जारी छ । यसै सन्दर्भमा सुविधायुक्त ‘टर्टल लाउञ्ज एण्ड क्लब’ शुक्रबारदेखि शुरु भएको छ ।

नयाँ वर्षको अवसर पारेर ठूलो लगानीमा नयाँ क्लब शुरु गरिएको व्यवसायी आयुष ठकुरीले बताए । उनले ठमेलमै करोडौँको लगानीमा ‘ब्लू बार’ नामक रेस्टुरेन्ट तथा ‘सर्कल गजल एण्ड लाउञ्ज बार’ सञ्चालन गरेका छन्।

नयाँ वर्षमा ग्राहकको रुची र चाहनाअनुसारको नयाँ प्याकेज तथा विभिन्न सेवामा छुट दिइएको व्यवसायीले बताएका छन् । राजधानी काठमाडौँमा मात्र नभई मुख्य पर्यटकीय क्षेत्र पोखरा, चितवन, लुम्बिनीलगायतका पर्यटन व्यवसायीले विभिन्न सेवामा छुटसहित अफर ल्याएका छन् ।

होटल एशोसिएसन अफ नेपाल ९हान० का महासचिव विनायक शाहले क्रिसमस डे र नयाँ वर्षलाई लक्षित गरी तारे होटलदेखि पर्यटकस्तरीय होटलले विभिन्न प्याकेज ल्याएको बताउछन् ।

र ठूला होटलले सेवामा छुटभन्दा पनि सेवाग्राहीको चाहनाअनुरुपका प्याकेजअन्तर्गत अन्तर्राष्ट्रिय चर्चित ब्याण्ड, नेपाली चर्चित कलाकारका साथमा मनोरञ्जन दिलाउने प्याकेज सार्वजनिक गरेका छन् ।

सामान्य अवस्थामा पनि विभिन्न पेशा व्यवसायमा आबद्ध मानिस दिनभर कामको थकानले साँझ मनोरञ्जनका साथै थकान मेटाउन गजल, क्लब, रेष्टुराँ धाउने गरेका छन् । पछिल्लो समय लाइभ म्युजिकसहितको क्लब तथा लाउञ्ज रेस्टुरेन्टमा पर्यटकको ओइरो लाग्न थालेपछि लगानी गर्नेहरु पनि उत्साहित बनेका छन् ।

पर्यटकीय क्षेत्र ठमेलमा नयाँ वर्षको अवसरमा सडक महोत्सवको तयारी भइरहेको ठमेल पर्यटन विकास परिषद्ले जनाएको छ ।

नयाँ वर्षकै सन्दर्भमा रेस्टुरेन्ट तथा बार एशोसिएसन नेपाल ९रेबान० ले यही ‘डिसेम्बर २८ देखि जनवरी १’ सम्म पोखरामा १९औँ पोखरा सडक महोत्सव आयोजना गर्दैछ ।

रेबानका अध्यक्ष प्रमोदकुमार जैसवालले नयाँ वर्षको सन्दर्भमा रेस्टुरेन्टले विभिन्न सेवामा छुटसहितका नयाँ प्याकेज ल्याएको बताए । रासस

प्रतिक्रिया दिनुहोस्
MBL