Logo

बजारमा मूल्य बढ्यो तथ्याङ्कमा घट्यो, खाद्य मुद्रास्फीति १ प्रतिशतले ऋणात्मक

बजारमा मूल्य बढ्यो तथ्याङ्कमा घट्यो, खाद्य मुद्रास्फीति १ प्रतिशतले ऋणात्मक


बिजखबर संवाददाता
0
Shares

बजारमा खाद्य बस्तुको मूल्य बढेपनि सरकारी तथ्याङ्कमा भने दैनिक रुपमा ओरालो लागेको छ । पछिल्लो समय बजारमा तरकारी तथा खाद्य बस्तुको मूल्य उच्च रुपमा बढेपनि नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्याङ्क अनुसार मुद्रास्फीति ओरालो लागेको देखिन्छ ।

चालू आर्थिक बर्षको साउन महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति २ दशमलव ३ प्रतिशत झरेको छ । यो असारभन्दा शुन्य दशमलव ४ र गत आवको सोही अवधिको तुलनामा ६ दशमलव ३ प्रतिशतले कमी हो । पछिल्लो समय बजारमा तरकारी तथा अन्य खाद्य बस्तुको मूल्य उच्च रुपमा बढेको सम्बद्ध व्यवसायीहरु बताउँछन् ।

राष्ट्र बैंकको तथ्याङ्क अनुसार सो अवधिमा खाद्य मुद्रास्फीति१ प्रतिशतले ऋणात्मक रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खाद्य मुद्रास्फीति ९ दशमलव ३ प्रतिशत रहेको थियो । यस समूह अन्तर्गतको दलहन तथा गेडागुडीको मूल्यमा २३ दशमलव ३ प्रतिशत, तरकारीको मूल्यमा ११ दशमलव ७ प्रतिशत, मसलाको मूल्यमा ३ दशमलव ५ प्रतिशत र फलफूलको मूल्यमा १ दशमलव ४ प्रतिशतले गिरावट आएको थियो ।

यसैगरी समीक्षा अवधिमा गैर–खाद्य मुद्रास्फीति ४ दशमलव ९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा गैर– खाद्य मुद्रास्फीति ८ दशमलव १ प्रतिशत रहेको थियो । यस समूह अन्तर्गतको लत्ताकपडा तथा जुत्ता, घरायसी सामान तथा सेवा, फर्निसिङ तथा घरायसी उपकरण लगायतका वस्तुहरूको मूल्य वृद्धिदर गत वर्षको तुलनामा न्यून रहेकोले गैर–खाद्य मुद्रास्फीति कम रहन गएको हो ।

समीक्षा अवधिमा उपभोक्ता मुद्रास्फीति हिमालमा ५ दशमलव ६ प्रतिशत, तराईमा २ दशमलव ८ प्रतिशत, पहाडमा २ दशलमव २ प्रतिशत र काठमाडौं उपत्यकामा १ दशमलव ३ प्रतिशत रहेको छ । नेपाल र भारतबीचको उपभोक्ता मुद्रास्फीति अन्तर २०७४ साउन महिनामा नेपालको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति २ दशमलव ३ प्रतिशत र भारतको ३ दशमलव ४ प्रतिशत रहेको छ । दुई मुलुकबीचको उपभोक्ता मुद्रास्फीति अन्तर १ दशमलव १ प्रतिशत रहेको छ ।

सो अवधिमा वार्षिक बिन्दुगत राष्ट्रिय तलब तथा ज्यालादर सूचकाङ्क ६ दशमलव ४ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त सूचकाङ्क १४ दशमलव ९ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिमा तलब सूचकाङ्कमा १४ दशमलव ६ प्रतिशत र ज्यालादर सूचकाङ्कमा ४ दशमलव ४ प्रतिशतले वृद्धि भएको छ । तलब अन्तर्गत बैंक तथा वित्तीय संस्था, शिक्षा र सार्वजनिक संस्थान उप–समूहहरूको तलब सूचकाङ्क क्रमशः १० दशमलव ६ प्रतिशत, ५ दशमलव ८ प्रतिशत र ४ दशलमव ९ प्रतिशतले वृद्धि भएको छ ।

त्यसैगरी, ज्यालादर अन्तर्गत कृषि मजदूर, औद्योगिक मजदूर र निर्माण मजदूरको ज्यालादर सूचकाङ्क क्रमशः २ दशमलव ८ प्रतिशत, ८ दशमलव ९ प्रतिशत र २ दशमलव १ प्रतिशतले वृद्धि भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL