Logo

अनलाईनबाट २ सय ७२ उद्योग दर्ता, चाडै नै डिजिटल सिग्नेचर

अनलाईनबाट २ सय ७२ उद्योग दर्ता, चाडै नै डिजिटल सिग्नेचर


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । उद्योग विभागमा २ सय ७२ ओटा उद्योग अनलाइनबाट दर्ता भएका छन् । विभागले अनलाइन सेवा शुरु भएको करिब ५ महिनामा सो बराबरको उद्योग दर्ता भएको हो ।

विभागले माघ २३ गतेदेखि अनलाइन सेवा शुरु गरेको थियो । अनलाइन सेवा शुरु भएसँगै विभागमा सबै उद्योग अनलाइनबाटै दर्ता भएको प्रवक्ता दुर्गा भुसालले जानकारी दिए । विभागले वैदेशिक लगानी स्वीकृति, उद्योग दर्ता तथा भिषा प्रोसेसिङका काम अनलाइनबाट गर्दै आएको छ ।

उद्योग विभागले १० करोड रुपैयाँ देखि २५ करोड रुपैयाँसम्म लगानी भएका मझौला र २५ करोड रुपैयाँ देखि माथि लगानीका उद्योग दर्ता गर्दै आएको छ । २ अर्ब भन्दा बढी लगानीका उद्योगको भने औद्योगिक प्रबर्दन बोर्डको स्वीकृतिपछि मात्र विभागमा दर्ता हुने गरेको छ । त्यस्तै विदेशी लगानीमा सञ्चालित साना उद्योग समेत विभागमा नै दर्ता गर्नुपर्ने प्राबधान छ ।

अनलाइन दर्ता सञ्चालनमा आएपनि उक्त सेवा प्रयोगका लागि सेवाग्राही भने अझै अभ्यस्त नभएकोले फाइल बोकेर विभागमा आउने गरेको उनले बताए । ‘घरैबाट दर्ता गर्न सकिने भएपनि उनीहरु उद्योग दर्ताको फाइल बोकेर विभाग आउछन्,’ उनले भने, ‘त्यस्ता सेवाग्राहीलाई कर्मचारीको सहयोगमा अनलाइन दर्ता गर्न लगाउँछौं ।’ तथापी विभागले हाललाई भने अनलाइन दर्तासंगै फाइल पनि बुझ्ने गरेको छ ।

विभागमा उद्योग दर्तालगायत काम ढिला भएको गुनासो आएसँगै सेवालाई छिटो छरितो र सहज बनाउने उद्देश्यका साथ अनलाइन सेवा सञ्चालनमा ल्याइएको हो ।
अनलाइन प्रणालीमा गएसँगै विदेशी लगानी दर्ताका प्रक्रिया कम्तिमा १ हप्ताभित्र सक्ने गरी काम शुरु भएको छ । त्यस्तै नेपाली कम्पनी दर्ता लागि ३० घण्टाभित्र गरिने उनले जानकारी दिए ।

यसागै विभागले कम्पनी दर्ता तथा भिषा आवेदनमा डिजिटल सिग्नेचर प्रयोगमा ल्याउने तयारी थालेको छ । यससँगै उद्योग दर्ता तथा नविकरणसम्बन्धी सम्पूर्ण काम घरमै बसेर गर्न मिल्ने व्यवस्था लागु हुने छ । हाल विभागमा उद्योग दर्ता अनलाइन प्रविधिबाट शुरु गरेपनि डिजिटल सिग्नेचर नहुँदा फाइल पेस गर्न विभाग पुग्नुपर्ने बाध्यता छ । अनलाइन दर्ता गर्नेको डिजिटल सिग्नेचर अनिवार्य रुपमा हुनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL