Logo

रसुवामा बन्दैछ २० मेवाको जलविद्युत आयोजना, २०७६ भित्र संचालनमा

रसुवामा बन्दैछ २० मेवाको जलविद्युत आयोजना, २०७६ भित्र संचालनमा


रक्षा रेग्मी
81
Shares

काठमाडौं । रसुवाको गोसाँइकुण्डमा २० मेगावाटको जलविद्युत आयोजना निर्माण कार्य शुरु भएको छ । मल्टी इनर्जी डेभलपमेन्ट प्रालीले गोसाँइकुण्डमा लाङटाङ खोला जलविद्युत आयोजना निर्माण शुरु गरेको हो ।

शुरुमा १० मेगावाटको बनाउने भनिएपनि अहिले २० मेगावाट विद्युत उत्पादन गर्ने उद्देश्सहित काम अघि बढाइएको कम्पनीका महाप्रबन्धक जनार्जन अर्यालले जानकारी दिए । ‘१० मेवाको बनाउन प्रक्रिया अगाडी बढाएका थियौं,’ उनले भने, ‘२० मेवाकै सम्भावना देखिपछि सोका लागि निर्माणकार्य अघि बढाएका हौं ।’ हाल आयोजना निर्माणार्थ ‘डिटेल डिजाइन’को काम सकिएको छ । आयोजना स्थलसम्म जानका लागि सडक र पुल निर्माण कार्य भइरहेको  उनले जानकारी दिए ।

कम्पनीले २०७६ भित्र सञ्चालनमा ल्याउने उद्देश्यसहित निर्माण कार्य तिव्र बनाएको बताएको छ । मल्टी इनर्जी डेभलपमेन्ट प्राली अन्तर्गतको कम्पनीले उद्योग विभागमा १० मेवा विद्युत उत्पादन गर्ने उद्देश्यसहित प्रस्ताव पेस गरेको थियो । उद्योग विभागले असार ४ गते लाङटाङ खोला जलविद्युत आयोजनाको प्रस्ताव स्वीकृत गरेको हो ।

उद्योग विभागका अनुसार कम्पनीले १ अर्ब ६६ करोड रुपैयाँ कुल लगानीमा आयोजना स्थापना गर्ने उद्देश्यसहित विभागमा दर्ता गरेको थियो । जसमध्ये १ अर्ब रुपैयाँ चालु र बाँकी १० करोड स्थिर पूँजी रहेको छ ।

तर, अहिले २० मेवाको सम्भावना देखिएकाले क्षमता विस्तार गरिएको अर्यालले जानकारी दिए । उनका अनुसार ४ अर्ब २१ करोड करोड रुपैयाँ लगानीमा आयोजना स्थापना गर्न लागिएको हो । सो आयोजनाको सञ्चालकमा ३ जना रहेका छन् । सो आयोजना संचालनमा आएसँगै ५२ जनाले रोजगारी पाउनेछन् ।

उद्योग विभागका अनुसार पछिल्लो समय जलविद्युतमा लगानी गर्ने क्रम बढेको छ । नेपालमा जलविद्युत क्षेत्रमा हालसम्म पौने ७ खर्ब रुपैयाँ बराबरको लगानीको प्रतिबद्धता आएको विभागको तथ्यांकले देखाएको छ ।

उद्योग विभागको अनुसार २०५० सालदेखि हालसम्म ६ खर्ब ८९ अर्ब २१ करोड रुपैयाँ बराबरको लगानीको प्रतिबद्धतासहित जलविद्युत आयोजना दर्ता भएका हुन् । २४ बर्षको अबधिमा २ सय ८७ ओटा जलविद्युत आयोजना दर्ता भएको उद्योग बिभागले जानकारी दिएको छ । ती उद्योग २८ हजार ५ सय ८१ जनालाई रोजगारी प्रदान गर्ने प्रतिवद्धता सहित उद्योग विभागमा दर्ता गरिएका हुन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL