Logo

किन घट्दैछन् बियर पिउनेहरु ?

किन घट्दैछन् बियर पिउनेहरु ?


बिजखबर संवाददाता
27
Shares

एक अनुसन्धानका अनुसार सन् २०१६ मा विश्वभर मदिराको प्रयोग १.४ प्रतिशतले घटेर दुई सय ५० अर्ब लिटर पुग्यो । यो मदिराको प्रयोग घटेको निरन्तर दोस्रो बर्ष हो । यस्तो तथ्याङ्क राख्न सुरु गरिएको सन् १९९४ देखि भने मदिराको प्रयोग घटेको यो तेस्रो बर्ष हो । बियर पिउनेको सङ्ख्या घट्न थालेपछि समग्र मदिराकै प्रयोग घट्दै गएको छ । विश्वभर प्रयोग हुने मदिरामध्य बियरको हिस्सा मात्रै तीन चौथाई पुग्छ । सन् २०१६ मा मात्रै बियरको प्रयोग १.८ प्रतिशतले घटेर एक सय ८५ अर्ब लिटरमा झरेको थियो । विश्वव्यापी रुपमा मदिरा सेवन गर्ने समुह एक प्रतिशतले बढ्दा पनि बियर प्रयोग गर्ने उमेर समुह भने ३.२ प्रतिशतले घटेको छ । बियकरका सबैभन्दा ठूला पाँच ओटा बजारमध्य चीन, ब्राजिल र रसियाले मात्रै घटेको बियरको प्रयोगमध्य ९९.६ प्रतिशत हिस्सा ओगट्छन् ।

बियरको प्रयोग घट्नुमा अर्थतन्त्र र प्रयोगकर्ताको फेरिएको स्वादको भुमिका प्रमुख छ । चीनले सन् २००१ मा अमेरिकालाई उछिन्दै विश्वमै सबैभन्दा ठूलो बियरको बजारमा आफूलाई उभ्यायो । तर सन् २०१३ देखि त्यहाँ पनि प्रतिव्यक्ति बियरको प्रयोग विस्तारै घट्दै गयो । यसको एउटा कारण भनेको चीनका मदिरा पारखीहरु सस्ता स्थानीय रक्सीबाट महङ्गा किसिमका मदिरातर्फ आकर्षित हुनु हो । मदिराका पुराना पारखीको पनि बियरप्रतिको रुची त्यहाँ घट्दो छ । ३० भन्दा माथि उमेरका पारखीहरु वाइनतर्फ आकर्षित भएका छन् भने ४० बर्षदेखि माथिका व्यक्ति भने चीनमा सबैभन्दा धेरै रुचाइने बाइजिगतर्फ बढी आकर्षित छन् । ब्राजिल र रसियाजस्ता देशमा भने आर्थिक मन्दीले पनि बियर पिउने पारखीको खल्ती कमजोर बनाइदियो र त्यहाँ करिब ७ प्रतिशतले यसको प्रयोग घट्यो ।

जब कुनै देश धनी बन्ने क्रममा रहन्छ त्यहाँ बियर खाने प्रवृत्तिमा पनि परिवर्तन आउने एउटा अध्ययनले देखाएको छ । लेउभेन विश्वविद्यालयका लिजबेथ कोलेन र जोहान स्विनेनले सन् २०१६ मा आम्दानी वृद्धि र बियरको प्रयोगमा विश्वव्यापीकरणको असरका विषयमा सन् १९६१ देखि २००९ सम्मको समय छनोट गरेर ८० ओटा देशको अध्ययन गरे । जब कुनै गरिब देशको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन बढ्दै जान्छ त्यहाँ बियर निकै लोकप्रिय हुँदै जान्छ । तर जब प्रति व्यक्ति आय २७ हजार डलर पुग्छ बियरको प्रयोग घटेको उनीहरुले पाएका छन् । मदिराका कारण हुने स्वास्थ्य समस्यका विषयमा मानिसहरु धेरै सचेत हुने भएकोले पनि धनी देशमा बियर घटेको हुन सक्ने उनीहरुको अनुमान छ । यस्ता देशमा मदिराका पारखीहरुले विकल्पका रुपमा बरु महङ्गा किसिमका मदिरतर्फ आकर्षित भएका छन् । जब कुनै देश विश्वव्यापीकरणको अधिक भुङ्ग्रोमा पर्छ त्यहाँ बियरको प्रयोग बढेको अनुसन्धानकर्ताले तथ्य फेला पारेका छन् ।

दी इकोनोमिस्टबाट साभार

प्रतिक्रिया दिनुहोस्
MBL