Logo

तराइ बन्दको हल्लाले पेट्रोलियम अभाब, थानकोटमा तीन दिनलाई मात्र ‘रिजर्भ’

तराइ बन्दको हल्लाले पेट्रोलियम अभाब, थानकोटमा तीन दिनलाई मात्र ‘रिजर्भ’


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । पछिल्लो समय तराइ मधेश केन्द्रित राजनीतिक दलले बन्द हड्तालका कार्यक्रम सार्वजनिक गरेसँगै काठमाडौंमा पेट्रोलिय पदार्थको अभाव भएको छ । बन्द हड्तालको हल्ला आएसँगै पेट्रोलियम पदार्थको माग उच्च भएका कारण अभाव हुन थालेको नेपाल आयल निगमले जानकारी दिएको छ ।

काठमाडौंमा दैनिक ३ सय ५० देखि ४ सय किलोलिटर पेट्रोलको माग हुँदै आएकोमा बन्द हड्तालको हल्लासँगै ८ सय केएल माग हुन थालेको नेपाल आयल निगमका प्रवक्ता सिताराम पोखरेलले जानकारी दिए । ‘पछिल्लो समय निगमले दैनिक रुपमा बजारमा पठाइरहेको भन्दा दोब्बर माग हुन थालेको छ,’ उनले भने, ‘वितरणको तुलनामा माग उच्च भएकाले बजारमा अभाव भएको हो ।’

काठमाडौंमा निगमको भण्डारण क्षमता कम भएको र त्यसको तुलनामा माग उच्च हुँदा बजारको माग बमोजिम वितरण गर्न नसकिएको निगमले जानकारी दिएको छ । पछिल्लो समय थानकोट डिपोमा रहेको स्टक समेत सकिँदै गएकाले केही दिनका लागि बजारमा तेल अभाव हुने निगमले जानकारी दिएको छ ।

पोखरेलका अनुसार थानकोट डिपोमा तीन दिनलाई वितरण गर्न पुग्ने पेट्रोल मात्र रहेको छ । निगमले पछिल्लो समय भैरहवा र नेपालगञ्ज डिपोबाट पेट्रोल मगाएको र उक्त पेट्रोल आइपुगेपछि मात्र वितरण सहज हुने उनको तर्क छ । बन्द तथा हड्तालको डरले उपभोक्ताले पेट्रोलियम पदार्थ स्टक गर्न लागेका पनि बजारमा माग बढी भएको उनले जानकारी दिए । बजारमा १÷२ दिनका लागि पेट्रोलियम पदार्थ अभाव भएको हो केही दिनमै सहज हुने उनको दावी छ ।

इन्डियन आयल निगमले सहज रुपमा पेट्रोलिय पदार्थ दिइरहेकाले आगामी दिनमा अभाव नहुने समेत उनले जानकारी दिए । ‘इन्डियन आयालले गाडी पुग्ने वित्तिकै पेट्रोलियम लोडिङ गर्दिरहेको छ,’ उनले भने, ‘निमगको भण्डारण क्षमता कम र बन्द हड्तालका कारण उपभोक्तामा त्रास पैदा भएकाले समस्या उत्पन्न भएको हो ।’

यसैगरी पछिल्लो समय सरकारी बन्द बढी भएको र सोही अनुसार निगमले व्यवस्थापन गर्न नसक्दा बजारमा अभाव हुन गएको नेपाल पेट्रोलियम डिलर्श एशोसिएशनका अध्यक्ष लिलेन्द्रप्रसाद प्रधानले बताए । ‘नेपाली उपभोक्तामा अझै पनि नाकाबन्दीको असर रहेको र केही पेट्रोल पम्पमा केही लाइन देख्नेवित्तिकै माग उच्च रुपमा बढ्ने गरेको छ,’ उनले भने, ‘भारतबाट सहज रुपमा आइरहेकाले केही दिनमै सहज हुनेछ ।’ विशेषगरी निगमले सरकारी बिदाको समयमा वितरण नगर्दा बजारमा पटक–पटक समस्या उत्पन्न हुने गरेको उनको तर्क छ ।

प्रतिक्रिया दिनुहोस्
MBL