Logo

नेप्सेको कारोवारले तोड्यो रेकर्ड, कहाँबाट आउँदैछ बजारमा पैसा ?

नेप्सेको कारोवारले तोड्यो रेकर्ड, कहाँबाट आउँदैछ बजारमा पैसा ?


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । बुधबार नेप्सेमा हालसम्मकै बढी कारोवार भएको छ । यस अघि भएको २ अर्ब ३९ करोड रुपैयाँको कारोवार रेकर्ड तोड्दै आज २ अर्ब ५६ करोड ४७ लाख रुपैयाँ बरावरको सेयर खरिदविक्री भएको छ ।

नेप्से परिसुचक १८ सय अंकपुग्दा पहिलो पटक बजारमा २ अर्ब ३९ करोडको कारोवार भएको थियो । तर बुधबार बजार उच्च रुपमा उचारचढाव हुँदै कारोवार रकमले हालसम्मकै रेकर्ड तोडेको छ ।
बैंक तथा वित्तीय संस्थाले क्रेडिट क्रञ्च भइरहेको बताइरहँदा सेयर बजारमा भने दैनिक साढे २ अर्ब रुपैयाँ भित्रन थालेको छ । बैंकहरुले उत्पादनमुलक तथा आवस जस्ता क्षेत्रमा कर्जा प्रवाह नगरेपनि सेयर बजारबाट छोटो समयमा उच्च मुनाफा कमाउन सकिने भएकाले त्यस्ता क्षेत्रमा कर्जा प्रवाह गर्न थालेको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा गर्दै विपन्न बर्ग र उत्पादनमुलक क्षेत्रको गएको कर्जाको ५० प्रतिशत रकम २०७४ असार समान्तसम्म सीसीडी रेसियोमा गणना नहुनेगरी लगानी गर्न बाटो खुला गरिदिएको थियो । तर राष्ट्र बैंकले त्यस्तो रकम पुन उत्पादनमुलक क्षेत्रमा लगानी गर्नुपर्ने बताएपनि सो अवधिमा भित्र त्यस्ता क्षेत्रमा लगानी गरेको रकम नउठ्ने भएकाले सेयर कर्जामा लगानी गर्न थालेको एक अधिकारीले बताए । राष्ट्र बैंकको नियम अनुसार २०७४ असार मसान्त भित्र सीसीडी रेसियो ८० प्रतिशतमै व्यवस्थापन गर्नुपर्ने भएकाले हाल बैंक तथा वित्तीय संस्थाले ओडी तथा व्यवसायीक कर्जाको कागजात बनाएर सेयरमा लगानी गर्न थालेको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् ।

नियामक निकाय नेपाल राष्ट्र बैंक भने सो विषयमा तत्काल आफुहरुलाई जानकारी नभएको अबका दिनमा अनुसन्धान गरिने बताउँदै आएको छ । ‘हामीले त्यतिवेला बजारमा क्रेडिट क्रञ्च भएको हुँदा लगानी योग्य पूँजी ल्याउन बाटो खुला गरिदिएका हौं,’ नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी सिवाकोटीले भने, ‘बैंक तथा वित्तीय संस्थाले कसरी कर्जा प्रवाह गरिरहेका छन् तत्काल अनुगमन गछौं ।’ यदि राष्ट्र बैंकको नियम विपरित कर्जा प्रवाह गरेको भेटिएका कारवाही गरिने समेत उनले जानकारी दिए ।

नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष डा आत्मराम घिमिरे पनि बैंक तथा वित्तीय संस्थाले सेयर बजारमा लगानी गर्न थालेको बताउँछन् । बैंकले पहुँचवालामार्फत बढ्दो बजारमा लगानी गर्ने गरेको समेत उनको आरोप थियो ।

बजार १ हजार ८ सय अंकमा पुग्दा बजारबाट बाहिरिएका लगानीकर्ताले त्यतिवेला पैसा होल्ड गरेर राखेको र अहिले बजारमा प्रवेश गर्न थालेको एक ब्रोकरले जानकारी दिए । त्यतिवेला बाहिरिएर पर्ख र हेरको अवस्थामा बसेका लगानीकर्ता अहिले धमाधम बजारमा प्रवेश गरेको समेत ती ब्रोकरको तर्क थियो ।

बुधबार कारोवार रकमले रेकर्ड तोडेपनि नेप्से परिसुचक भने ओरालो लागेको छ । दिनभर उत्तरचढाव आएको बजारमा अन्तत २२ दशमलव २३ अंकले घट्न पुगेको छ । अघिल्लो दिन १ हजार ६ सय अंक माथी उक्लिएको बजार आज १ हजार ५ सय ८८ अंकमा झरेर अडिएको छ ।

बजारमा ब्यापार बाहेक सबै समुहका परिसुचक ओरालो लागेका छन् । जसमा सबैभन्दा बढी बीमा समुहनै रहेको छ । बीमा समुहको परिसुचक १ सय ५२ अंकले घट्दा जलविद्युत समुहको परिसुचक ७४ अंकले ओरालो लागेको छ । यसैगरी बजारमा सबैभन्दा बढी प्रभाव पार्ने बैंकिङ समुहको परिसुचक पनि २० अंकले घटेको छ भने विकास बैंक समुह १७ र होटल समुहको परिसुचकमा ६६ अंकले गिरावट आएको छ ।

बजारमा बंगलादेश बैंकको मात्र ५८ करोड रुपैयाँ बरावरको सेयर खरिदविक्री भएको छ । जसमा ३८ करोड ६ लाख रुपैयाँ बरावरको संस्थापक सेयर र २० करोड रुपैयाँको साधारण सेयर खरिदविक्री भएको छ । बजारमा नेपाल बैंकको १० करोड रुपैयाँको कारोवार हुँदा सानिमा बैंकको ९ करोड ६४ लाख रुपैयाँको सेयर खरिदविक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL