Logo

वीरगञ्जका व्यवसायीवीच पार्टी प्रवेशको होड, मेयर बन्ने दाउ कि राजनीतिक आड ?

वीरगञ्जका व्यवसायीवीच पार्टी प्रवेशको होड, मेयर बन्ने दाउ कि राजनीतिक आड ?


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । मुलुककै आर्थिक नगरिका रुपमा चिनिने वीरगञ्जका उद्योगी व्यवसायीहरु धमाधम पार्टी प्रवेश गर्न थालेका छन् । स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा मुलधारका पार्टी तथा मधेश केन्द्रित पार्टीबीच त्यहाँका उद्योगी व्यवसायीलाई पार्टी प्रवेश गराउने होड चल्न थालेको हो ।

वीरगञ्जलाई आधार बनाएर उद्योग व्यवसाय गर्दै आएका साना ठूला सवैखाले व्यवसायीहरु विभिन्न पार्टमा धमाधम प्रवेश गर्न थालेका छन् । त्यसो त राजनितीक दलहरु पनि स्थानीय स्तरमा प्रभाव रहेका व्यक्तित्वहरुलाई आफ्नो पार्टीमा भित्र्याउन लागि परेका देखिन्छन् । खासगरी स्थानीय तहको निर्वाचनमा मेयर तथा गाउँपालिका अध्यक्षको टिकट पाउने आशमा व्यसायीहरु पार्टी प्रवेश गरेका हुन् ।

हालै संघीय समाजबादी फोरम नेपालले पर्सामा गरेको कार्यक्रमवीच उद्योगपती बिजय सरावगी, जगदम्बा इन्टरप्राइजेज प्रालीका निर्देशक रमेश अग्रवाल, कलश सिमेन्टका सञ्चालक अंशुमन अग्रवाललगायतलाई आफ्नो पार्टीमा प्रवेश गराएको छ । त्यस्तै, माँ दुर्गा प्रालीका संचालक अंकित अग्रवाल पनि संघिय समाजबादी पार्टीमा प्रवेश गरेका छन् । उनीहरुसँगै अन्य समाजसेवी तथा अन्य पार्टीका कार्यकर्ता पनि सो पार्टीमा प्रवेश गरेका छन् । उनीहरुलाई संघीय समाजवादी फोरमका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले अबिर–माला पर्हियाएर पार्टीमा भित्र्याएका थिए ।

नेपाल उद्योग वाणिज्य महासंघको व्यापार समितिका सभपति समेत रहेका सरावगी वीरगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्षसमेत हुन् । उनले समग्र व्यवसायीहरुको हक र हितका लागि पार्टीमा प्रवेश गरेको बताए । त्यस्तै, पार्टीको निर्देशन अनुसार वीरगन्ज उपमहानगरपालिकाका मेयरमा पनि उठ्ने उनले बताए । ‘चुनाव हुने अवस्था देखिएको छैन,’ उनले भने ‘भएको अवस्थामा पार्टीको निर्देशन अनुसार उठ्न सकिन्छ ।’

त्यस्तै मधेस आन्दोलनलाई अझ सशक्त ढंगले अगाडि बढाउन पनि पार्टी प्रवेश गरेको उनले बताए । तर राजनितीक संरक्षणका लागि भने आफु पार्टी प्रवेश नगरेको उनको दावी थियो ।
यता अर्का उद्योगपती अशोक टेमानी पनि नेपाली कांग्रेसमा प्रवेश गरेको हल्ला चलाइएको छ । तर, उनले भने सो कुरा इन्कार गरे । कांग्रस निकटको नागरिक समाजले उनलाई सम्मान गरेपछि उनी पार्टी प्रवेशको हल्ला चलेको थियो ।

यसैगरी तराईका अन्य उद्योगीहरु तराई–मधेस लोकतान्त्रिक पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टी (रामसपा), सद्भावनालगायतमा प्रवेश गर्न थालेका छन् ।
तमलोपाले हालै एक कार्यक्रमवीच पार्टी प्रवक्ता तथा वीरगन्जका पूर्वमेयर विमलप्रसाद श्रीवास्तवले नवप्रवेशीलाई अबिर र माला लगाइदिएर पार्टीमा भित्र्याएका थिए ।
त्यस्तै कांग्रेस जिल्ला अध्यक्ष अजयकुमार द्विवेदीले तीन दिनअघि वीरगन्ज उपमहानगरपालिका–१४ श्रीपुरमा आयोजित कार्यक्रममा उद्योगीसहित २ सय ५० भन्दा बढीलाई पार्टी प्रवेश गराए ।

स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा राजनीतिक दलहरुले आफ्नो चुनावी प्रचारप्रसार तथा अभियानलाई तिव्रता दिन थालेका छन् । निर्वाचननै लक्षित गर्दै पार्टी प्रवेश गर्ने गराउने होड पनि चल्न थालेको छ । अहिलेकै अवस्थामा चुनाव गर्न नसकिने आंकलन गरिएको २ नम्बर प्रदेशमा पनि पार्टी प्रवेश गर्ने गराउनेको होड उस्तै छ । व्यवसायीको पार्टी प्रवेशको मोह स्थानीय तहको निर्वाचनमा मेयर तथा गाउँपालिका अध्यक्षको टिकट पाउने आशमा हो कि राजनीतिक आडमा व्यवसायिक लाभ लिन हो ? यो भने प्रश्नको विषय छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL