Logo

मोबाइल दर्ता नभए ‘ब्लक’ होला, अहिलेसम्म ९१ लाख मोबाइल दर्ता

मोबाइल दर्ता नभए ‘ब्लक’ होला, अहिलेसम्म ९१ लाख मोबाइल दर्ता


रक्षा रेग्मी
27
Shares

काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरणमा हालसम्म करिब ९१ लाख इण्टरनेशनल मोबाइल इक्वीपमेण्ट आइडेण्टीटी(आइएमईआई) नम्बर दर्ता भएका छन् ।

प्राधिकरणले गत बैशाखदेखि मोबाइलको आइएमइआई नम्बर दर्ता अनिवार्य गरेपछि सँगै ९० लाख ७० हजार आइएमईआई दर्ता भएको जानकारी दिएको हो । हाल मासिक करिब ४ लाखबटा नम्बर दर्ता हुने गरेको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए । जसमध्ये व्यक्तिगततर्फ करिब ३ हजार ९ सय ओटा मोबाइलका आईएमईआई नम्बर दर्ता भएका हुन् । बाँकी व्यवसायीक प्रायोजनका लागि मोबाइल आयातकर्ताहरुले दर्ता गरेका छन् ।

नेपालमा चोरीको फोन हटाएर मोबाइलको प्रयोग र बिक्री वितरणलाई थप व्यवस्थित तथा नियमित बनाउने उद्देश्यका साथ प्राधिकरणले आईएमइआई दर्ता अनिवार्य लागु गरिएको हो ।

मोबाइल चोरी हुने तथा मोबाइलबाट आपराधिक क्रियाकलाप गर्ने क्रम बढेकोले त्यस्ता आपराधिक क्रियाकलाप रोक्न यस्तो व्यवस्था गरेको अर्यालले जानकारी दिए ।

विशेषगरी अवैध रुपमा भित्रिएका तथा विदेशबाट उपहार स्वरुप आएका अधिकांश मोबाइलमा आईएमइआई नम्बर नहुने भएकोले त्यस्ता मोबाइल प्रयोगकर्ताले समयमै विचार पुर्याउन अर्यालले सुझाव छ ।

प्राधिकरणले नेपाल भित्रने हरेक फोनको आईएमईआइ दर्ता नगरेमा त्यस्ता मोबाइल सेट नै ब्लक गर्ने चेतावनी समेत दिएको छ ।

प्राधिकरणले तयार पारेको ‘राष्ट्रिय उपकरण पहिचान दर्ता’ (एनइआईआर) को अन्तरिम कार्यविधीले आधिकारिक आईएमइआई नम्बर नभएका मोबाइल ब्लक गराउने निर्णय गरेको हो । तर एक वर्षसम्म मोबाइल दर्ता नभएमा मोबाइल सेट बन्द हुने भनिएपनि हालसम्म लागु भने भएको छैन ।

टेलिफोन सेवा प्रदायक कम्पनीले इक्विपमेन्ट आइडेन्टिटी रजिस्टेसन प्रणाली पूर्ण रूपमा सञ्चालनमा नल्याउँदा पनि यस्तो समस्या आएको उनले बताएका छन् ।

अर्यालका अनुसार इआईआरलाई पूर्ण रुपमा लागु गर्न अन्तरराष्ट्रिय परामर्शदाताका रुपमा युकेको लाउरेसिया एशोसिएट्स छानिएको छ । परामर्शदाताले अध्ययन अनुसन्धान गरेर टेलिफोन सेवा प्रदायक कम्पनीले के गर्ने र प्राधिकरणको जिम्मामा के हुने निधो भई काम पूर्ण रूपमा अघि बढ्नेछ ।

एनआइईआर नाम दिइएको सो निर्देशिकाले मोबाइलको तस्करी, कालोबजारी रोक्ने र हराएका मोवाइलको ट्रयाकिङ तथा व्लकिङ गर्ने छ । त्यस्तै आईएएमईआर्ई नम्बरमार्फत मोबाइल सेवा प्रदायकले हराएका या चोरी भएका मोबाइल ट्रयाक गर्न सक्नेछन् । जसले गर्दा अपराधिक क्रियाकलाप पनि कम भई अवैध व्यापार नियन्त्रण गर्छ ।
कसरी गर्ने आईएमईआई दर्ता ?

मोबाइलको आईएमइआई दर्ताका लागि सम्बन्धित कम्पनीले प्राधिकरणमा निवेदन दिन्छ । सो निवेदन प्राप्त गरेसँगै प्राधिकरणले नो अब्जेक्सन लेटर भन्सारमा पठाएपछि आईएमईआईको अरु प्रक्रिया शुरु हुनेछ ।

व्यक्तिग मोबाइलको आईएमईआई दर्ताका लागि प्राधिकरणको वेबसाईटमा उपलब्ध फारम भरेर इमेल ठेगानामा पठाउने व्यवस्था मिलाइएको छ ।

मोबाइल प्रयोगकर्ताले *#06# डायल गरेर आफ्नो मोबाइलको आईएमइआई नम्बर पत्ता लगाउन सक्छन् । साथै मोबाइलमा व्याट्रि राख्ने भागमा पनि आईएमइआई नम्बर उल्लेख गरिएको हुन्छ ।

तस्वीर : होक्स स्लेयर

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL