Logo

निजी क्षेत्रका महिला नेता, भवानी पछ्याउँदै कमला र ज्योत्स्ना

निजी क्षेत्रका महिला नेता, भवानी पछ्याउँदै कमला र ज्योत्स्ना


रक्षा रेग्मी
0
Shares

काठमाडौं । स्थापनाको ५० औ बर्षपछि निजी क्षेत्रका उद्योगी व्यापारीको प्रतिनिधि संस्था नेपाल उद्योग वाणिज्य महासंघले महिला नेतृत्व पाउने भएको छ ।

गत मंसिरमा सम्पन्न महासंघको विशेष साधारणसभाले विधान संसोधन गर्दै वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था गरेपछि वरिष्ठ उपाध्यक्ष भवानी राणाको जिम्मेवारीमा अब महासङ्घ हुनेछ । त्यसो त राणा आफै पनि निर्वाचन प्रणाली अनुसार नेतृत्व चयन गर्ने व्यवस्था भए पनि अध्यक्षका लागि प्रबल दाबेदार हुन नै ।

महिला नेतृत्वमा रहने महासंघको ६३ सदस्यीय केन्द्रिय समितिमा यस पटक राणासँगै अन्य दुई जना महिलाले पनि उम्मेदवारी घोषणा गरेका छन् ।

वस्तुगततर्फको केन्द्रिय सदस्यमा व्यवसायी तथा सौन्दर्य कला व्यवसायी महासंघकी अध्यक्ष कमला श्रेष्ठले उम्मेदवारी दाबी गरेकी छन् । त्यस्तै रत्न तथा आभुषण संघकी उपाध्यक्ष तथा सार्क सिसिआइकी सदस्य ज्योत्सना श्रेष्ठ पनि एशोसिएट्स सदस्यमा उम्मेदवारी दिने तयारीमा छन् ।

महासङ्घ नेतृत्वमा महिला पनि सबल बन्दै गरेको बुझाइ छ राणाको । ‘१२ बर्षअघि म प्रवेश गर्दा महासंघमा एक जना मात्र महिला थिए अहिले पाँच जना भइसक्यौं’ उनको अनुभव छ ‘यसले महिला नेतृत्व तयार हुँदै गरेको सङ्केत गर्छ’ । महिलाहरुसँग क्षमता भएपनि ठूला व्यवसायमा सहभागी नभएकोले पछि परेको उनको बुझाइ छ ।

महासंघमा महिला नै भएर नेतृत्वमा चुनौती नभए पनि समग्र निजी क्षेत्रमा भने चुनौती रहेको राणाले बुझेकी छन् ।

आफ्नो नेतृत्वकालमा आर्थिक समृद्धिका लागि निजी क्षेत्र ऐक्यबद्ध भएर अघि बढ्नुपर्ने र त्यसमा आफ्नो मूख्य भुमिका रहने उनले बताइन् । ‘व्यापारमा सफल हुनका लागि महिला वा पुरुषले सबैभन्दा पहिले उद्देश्य बनाउनुपर्छ’ उनको मान्यता छ ।

महिलाको हकमा परिवार र व्यवसाय दुवै जिम्मेवारी हुनेभएकोले परिवारको सहयोग भएन भने सफल भइँदैन । हाम्रो समाजमा महिलाहरूलाई उद्यमशीलतामा नेतृत्व गर्न अझै पनि गाह्रो भएको उनी बताउँछीन् । यसले पनि महिलाहरूलाई पछाडि पारेको उनको तर्क थियो ।

ठूलो व्यवसायमा पुरुषहरूमात्रै बढी छन् र महिला नेतृत्व तहसम्म आइ नसकेका सौन्दर्य व्यवसायी कमला श्रेष्ठ बताउँछिन् । महिलाहरु सक्रिय नभएकोले महासंघमा महिला नेतृत्व कम भएको उनको तर्क छ । ‘महिलासँग क्षमता छ’ उनले भनिन् ‘तर ठूला व्यापार व्यवसायमा पुरुषको वर्चस्व छ ।’

पछिल्लो समय विस्तारै महिलाहरु पनि उद्योग व्यवसायतिर लाग्न थालेकोले अबको केही बर्षमा महासंघमा महिला नेतृत्वको कमी नहुने उनले बताइन् ।

पुरुषहरुको बाहुल्य भएकोले महासंघमा महिलालाई त्यती सहज नभएपनि महासंघका सदस्यहरु सहयोगी र प्रेरणादायी रहेकोले काम गर्न सजिलो हुने उनको भनाई छ ।

ज्योत्सना श्रेष्ठ इच्छा शक्ति र योग्यता भएमा अहिलेको अवस्थामा महिला भएर पछाडी हुने स्थिती नभएको बताउँछिन् । तर अहिले पनि सामाजिक व्यवधान रहेकोले खुलेर ठूला व्यापार व्यवसायमा आउन नसकेको अवस्था रहेको गुनासो गरिन् । त्यस्तै महासंघमा आउन अन्य छाता संगठनमा आवद्ध भएको हुनुपर्ने नियम छ । त्यस्ता संगठनमा महिला सहभागीता कम हुँदा महासंघमा पुरुषको वर्चश्व भएको हो ।

उम्मेदवारी किन ?

कमला श्रेष्ठ

shrestha kamala (2)

सौन्दर्य व्यवसायलाई उद्योगको मान्यता दिइसकेको अवस्थामा त्यसलाई अघि बढाउने उद्देश्यका साथ चुनावमा उठ्न लागेको हुँ । साथै उद्यमी महिलाहरुको सिपलाई व्यवसायमा परिणत गर्न तथा उनीहरुलाई अगाडी ल्याउन मेरो प्रमुख भुमिका रहने छ ।

आफु उद्यमी महिला समितिको सभापति पनि भएकोले महिलाहरुको विषय सम्बोधन गर्न उम्मेदवारी दिएकी हुँ । समग्र उद्योग क्षेत्रको विकासका लागि समयाअनुकुल र आफ्नो अधिकार अनुसारको काम गर्ने छु ।

ज्योत्सना श्रेष्ठ

shrestha jyotsna
म आफ्नो छाता संगठनलाई वलियो बनाउन पनि चुनाव लड्न लागेको हो । रत्न तथा आभुषण क्षेत्रमा भएका समस्याको समाधान गरी आर्थिक समृद्धिमा सहयोग पुर्याउने उद्देश्य छ । देशको अर्थतन्त्रलाई अघि बढाउन पहल गर्ने, सरकार र निजी क्षेत्रबीचको दुरीलाई कम गर्ने प्रयास गर्ने छु ।

मेरो उम्मेदवारीको अर्को उद्देश्य भनेको उद्यम व्यवसाय बढाउनु पनि हो । किनभने आर्थिक समृद्धिका लागि उद्यम व्यवसायको विकास अत्यावश्यक छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL