Logo

महासङघ निर्वाचनमा यी हुन् उपाध्यक्षका उम्मेदवार, कसको कस्तो दख्खल ?

महासङघ निर्वाचनमा यी हुन् उपाध्यक्षका उम्मेदवार, कसको कस्तो दख्खल ?


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमितीका लागि आगामी चैत अन्तिम साता हुने निर्वाचनमा उपाध्यक्षको उम्मेदवारी करिब टुङ्गो लागेको छ । वरिष्ठ उपाध्यक्षका दुई उम्मेदवारले आफ्नो प्यानलसहित उपाध्यक्षको उम्मेदवार तयार गरिसकेका छन् ।

वरिष्ठ उपाध्यक्षका प्रत्यासी शेखर गोल्छा प्यानलको सम्पूर्ण उपाध्यक्षका उम्मेदवार तय भइसकेको छ भने अर्का उम्मेदवार किशोर प्रधानले पनि आज बेलुकासम्म सम्पूर्ण पदाधिकारीको टुङ्गो लगाउने बताएका छन् ।
महासंघ अन्तर्गत महत्वपूर्ण परिष्दको नेतृत्व लिने अवसर हुने भएकोले उपाध्यक्ष पदलाई महत्वपूर्ण रुपमा हेरिन्छ । यसबाहेक उपाध्यक्ष पद अर्को पटक वरिष्ठ उपाध्यक्षको दाबेदारीका लागि समेत आधार तयार गर्ने अवसर पनि हो ।

जिल्ला तथा नगरबाट निर्वाचित भएर आउने उपाध्यक्षले उद्योग परिषद्, बस्तुगतबाट आउने उपाध्यक्षले बस्तुगत परिषद् र एशोसियट्सबाट आउने उपाध्यक्षले रोजगारदाता परिषद् सम्हाल्नेछन् ।

लामो समयको छलफलपछि बरिष्ठ उपाध्यक्षका प्रत्यासी गोल्छाले उपाध्यक्ष लगायत आफ्नो प्यानल तयार गरिसकेको जानकारी दिएका छन् । उनका अनुसार जिल्ला तथा नगर उपाध्यक्षमा वर्तमान कार्यसमितीमा समेत बस्तुगततर्फका उपाध्यक्ष रहेका दिनेश श्रेष्ठ रहेका छन् भने बस्तुगतमा उमेशलाल श्रेष्ठको उम्मेदवारी रहनेछ ।

bizkhabar-2 (1)

 

त्यसैगरी एशोसिएट्स तर्फ शुक्रबारमात्रै चन्द्रप्रसाद ढकालको टुङ्गो लागेको छ भने मनोनित पद कोषाध्यक्षमा ज्ञानेन्द्रलाल प्रधान रहने छन् । उनले आगामी हप्ताभित्र प्यानलसहित आफ्ना उम्मेदवारीको औपचारीक घोषणा गर्ने बताए ।
यसैगरी बरिष्ठ उपाध्यक्षका अर्का उम्मेदवार किशोर प्रधानले विराटनगरबाट जिल्ला तथा नगर उपाध्यक्षसहित उम्मेदवारी घोषणा गरिसकेका छन् ।

जिल्ला नगरमा प्रधानका तर्फबाट म्याग्दीका पूर्व अध्यक्ष प्रमोद श्रेष्ठको टुङ्गो लागिसकेको छ । तर, अन्य पदको भने छलफलकै क्रममा रहेको प्रधान बताउँछन् ।

 

 

bizkhabar-1 (1)

उनले बस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठ र शंकर पाण्डे मध्ये एक जनालाई ल्याउने तयारी गरिरहेका छन् । सो विषयमा पूर्व अध्यक्षहरुको समुहले छलफल गरिरहेको र दूई मध्ये अञ्जन श्रेष्ठको सम्भावना बढी रहेको उनी बताउँछन् । एशोसिएट्सतर्फको उम्मेदवार सौरभ ज्योतिमा करिब सहमती बनिसकेको छ ।यद्यपी ज्योतीले आफूलाई स्वतन्त्र उम्मेदवारको रुपमा रहेको बताउँछन् ।

कसको दख्खल के ?

एशोयसएट्सतर्फको उपाध्यक्षमा अहिलेसम्म सौरभ ज्योति र चन्द्रप्रसाद ढकाल रहेका छन् । उर्का उम्मेदवार ज्ञानेन्द्रलाल प्रधानले ढकाललाई समर्थन जनाएसँगै चुनावी मैदानमा दुई जना उम्मेदवार देखिएका हुन् । महासंघमा एनआरएन लगानी प्रवद्र्धन समितिका सभापति रहेका ढकाल यस अघि द्विराष्ट्रिय संघबाट प्रतिनिधित्व गर्दै महासंघ कार्यकारिणी सदस्य भएका थिए । रेमिट्यान्स व्यवसायमा सफल मानिने ढकाल बैंक वित्तीय संस्था, अटोमोबाइल्स, ऊर्जा, केबलकारलगायत दर्जनौं व्यवसायमा संलग्न छन् ।

लामो समय नेपाल अटो मोबाइल्स डिलर्स एशोसिएशनको नेतृत्व सम्हालेका ज्योति अहिले महासंघको राजस्व समितिका सभापति छन् । महासंघ आबद्ध युवा उद्यमी मञ्चमा ६ बर्ष अध्यक्षको भुमिका सम्हालेका ज्योतिले महासंघमा ३ कार्यकाल बिताइसकेका छन् । ज्योति ग्रूपका निर्देशक सौरभ स्टिल वायर, स्पिनिङ मिल, अक्सिजन, अटोमोवाइल, लुब्रिकेन्ट्स, ट्राभल एजेन्सी, बैक तथा वित्तीय संस्था र ऊर्जा क्षेत्रमा आबद्ध छन् ।

जिल्ला तथा नगरतर्फबाट उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका दिनेश श्रेष्ठ अहिले महासंघको बस्तुगततर्फको उपाध्यक्ष हुन् । महासंघमा लामो समय बिताएका उनी मेडिकल कलेज, स्टेशनरी तथा आयात निर्यात व्यवसायमा संलग्न छन् ।

यसैगरी जिल्ला तथा नगर तर्फका अर्का उम्मेदवार प्रमोद श्रेष्ठ हाल महासंघको स्थानीय तह आर्थिक विकास समितिका सभापति रहेका छन् । बैंक, अस्पताल, जलविद्युत, ग्रील, आल्मुनियलगायतका उद्योग व्यवसायमा संलग्न उनी म्याग्दी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष हुन् ।

गोल्छा समुहबाट बस्तुगततर्फका उम्मेदवार बनेका उमेशलाल श्रेष्ठले नेपाल उद्योग वाणिज्य महासंघमा विभिन्न समितिको सभापति रहँदै तीन कार्यकाल बिताइसकेका छन् । हाल उद्योग समितिका सभापति रहेका उमेश नेपाल फर्मासिटिकल्स एशोसिएशनका पूर्व अध्यक्ष हुन् । उनी फर्मासिटिकल्स उद्योग, बैंक तथा वित्तीय क्षेत्र र कृषि व्यवसायमा संलग्न छन् ।

यता किशोर प्रधान समुहबाट भने अझै पनि बस्तुगत उपाध्यक्षमा तीन जना उम्मेदवार देखिएको छ । जसमध्ये प्रधान समुहबाटै लबिङ गर्दै आएका अनुप मल्लले यस अघि नै उम्मेदवारी घोषणा गरिसकेका छन् । हाल उनी महासंघको निर्यात प्रवद्र्धन समितिका सभापति रहेका छन् । महासंघका तीन कार्यकाल सदस्य भएर विभिन्न समिति सम्हालेका मल्ल कार्पेट उद्योग तथा निर्यात, प्रिन्टिङ प्रेस र इन्भेष्टमेन्ट फण्डलगायतका व्यवसायमा संलग्न रहेका छन् ।
तर, प्रधान समुहले भने अञ्जन श्रेष्ठ र शंकर पाण्डेमध्ये एक जनालाई उम्मेदावर बनाउने तयारी गरिरहेको छ । नेपाल अटोमोबाइल्स डिलर्श एशोसिएसनका अध्यक्ष रहेका श्रेष्ठ हाल महासंघको राजस्व समितिका उपसभापति रहेका छन् । लामो समय महासंघमा रहेर अनुभव बटुलेका श्रेष्ठ अटोमोबाइल्स, कन्फेक्सनरी, डेरी तथा प्लाष्टिक उद्योगमा संलग्न छन् । लक्ष्मी समुहका निर्देशक श्रेष्ठ एक सफल व्यवसायी हुन् ।
उर्का उम्मेदवार शंकर पाण्डे हाल महासंघको बैंक फाइनान्स तथा बीमा समितिका सभापति रहेका छन् । पस्मिना तथा सिल्क निर्यातमा दख्खल राख्ने पाण्डे कृषि तथा ट्राभल एण्ड टुर्र व्यवसायमा संलग्न रहेका छन् । हाल उनले महासंघका नेपाल पश्मिना उद्योग एशोसिएशनका तर्फबाट प्रतिनिधित्व गदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL