Logo

प्रतिबन्धित भारुमा आजदेखि छलफल, पाँच सय र दुई हजारका नोट पनि चल्ने

प्रतिबन्धित भारुमा आजदेखि छलफल, पाँच सय र दुई हजारका नोट पनि चल्ने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । प्रतिबन्धित भारतीय रुपियाँ सटही सम्बन्धमा छलफल गर्न भारतीय टोली आज(मंगलबार) नेपाल आउने भएका छन् । गत डिसेम्बरदेखि प्रतिबन्धित ५ सय र १ हजारका भारु सहटी सम्बन्धमा छलफल गर्न भारतीय टोली नेपाल आउन लागेको हो ।

भारतीय टोली आज नेपाल आउनासाथ वार्तामा सहभागी हुने नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता राजेन्द्र पण्डितले जानकारी दिए । भारतीय रिजर्व बैंक(आरबीआइ)को विदेशी विनियम विभागका कार्यकारी निर्देशकको नेतृत्वमा दुई सदस्यीय टोली वार्तामा सहभागि हुनेछन् ।

भारतीय टोलीले भारु सटहीका सम्बन्धमा नेपाल राष्ट्र बैंकसँग दुई दिनसम्म छलफल गर्ने छ । नेपाल सरकारले प्रतिबन्धित भारु सटही सम्बन्धमा मोडालिटी समेत तयार गरेको छ । सोही मोडालिटी अन्तरगत रहेर छलफल गरिने समेत पण्डितले जानकारी दिए ।

Old Indian Currency
Old Indian Currency

नेपाल सरकारले एक नेपालीलाई २५ हजार भारुसम्म साट्न दिनुपर्ने माग राख्दै आएको छ । केही समय अघि नेपाली टोली भारतमै गएर गरेको छलफलमा भारतीय टोलीले त्यसको सीमा घटाउन माग गरेको थियो । तर, नेपालीले कानुनी रुपमै २५ हजारसम्म भारु राख्ने पाउने भएकाले सोही अनुरुप नै सटही सुविधा दिने माग राखिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

भारतीय टोली प्रतिबन्धित भारु सटही सम्बन्धमा छलफल गर्न नेपाल आएसँगै उक्त नोट साटिने सम्भावना बढेको छ । तर, नेपालमा आएर छलफल मात्र गर्ने र उनीहरुले पनि सो सम्बन्धमा आफ्नो सरकार समक्ष उक्त प्रस्ताव पेश गर्नुपर्ने भएकोले अझै निश्चित नहुने राष्ट्र बैंक स्रोतको दावी छ ।

नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार नेपालको बैंकिङ प्रणालीमा ७ करोड ९० लाख बराबर प्रतिबन्धित भारु नोट रहेको छ । तर, धेरै नेपाली कामदार रोजगारीका लागि भारत जाने गरेको र व्यापारमा समेत भारु प्रयोग हुने गरेकाले नेपालीसँग १५ अर्ब रुपैयाँभन्दा बढी भारतीय नोेट रहेको अनुमान छ ।

भारु सटहीको लागि नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीको नेतृत्वमा गठित समितिले ‘डिक्लेरेशन’ फारम समेत तयार गरेको थियो । सोमबार र मङ्गलबार हुने छलफलमा पनि डिक्लेरेशन फारम र २५ हजारको सटही सुविधा सिमाभित्र केन्द्रित रहने भएको छ ।

५ सय र २ हजारका भारु नोट चल्ने
दुई दिनसम्म चल्ने छलफलमा भारत सरकारले हालै प्रयोगमा ल्याएको ५ सय र २ हजार रुपैयाँका भारु नोट नेपालमा पनि प्रचलनमा ल्याउने विषय पनि केन्द्रित हुने भएको छ । ५ सय र २ हजारका नोट संचालनमा ल्याउने विषयमा दुवै देश सकारात्मक भएको र केही समयभित्र कार्यान्वयनमा ल्याउने गरी प्रक्रिया अघि बढाउन लागिएको समेत पण्डितले जानकारी दिए ।

पण्डितका अनुसार दुई पक्षीय वार्तामा नयाँ भारु नोट कार्यान्वयमा ल्याउने विषयमा सैद्धान्तिक सहमति मात्र हुने छ । तर, व्यवहारिक रुपमा कार्यान्वयनमा ल्याउन भारतीय रिजर्भ बैंकलाई पत्राचार नै गर्नुपर्ने उनले जानकारी दिए । आरबीआईले उक्त पत्रमा सहमति जनाएपछि मात्र कार्यान्वयनमा आउने उनको तर्क छ ।

फिचर तस्वीर साभार : हिन्दुस्तान टाइम्स

प्रतिक्रिया दिनुहोस्
MBL