Logo

आईएमईको मोबाइल बैंकिङ्मा राष्ट्र बैंक र दूरसञ्चार प्राधिकरण एकैसाथ, बढ्ला त ५० अर्ब राजस्व ?

आईएमईको मोबाइल बैंकिङ्मा राष्ट्र बैंक र दूरसञ्चार प्राधिकरण एकैसाथ, बढ्ला त ५० अर्ब राजस्व ?


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले मोबाइल बैंकिङ सेवालाई प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउन सके कम्तीमा पनि राज्यको ५० अर्ब रुपैयाँ आम्दानी बढ्ने बताएका छन् । यस अघि आएका मोबाइल बैंकिङ सेवा प्रभावकारी रुपमा कार्यान्वयनमा आउन नसकेको र आईएमईले संचालनमा ल्याएसँगै बढी प्रभावकारी हुने उनको तर्क थियो । ‘बैंकहरुको स्थानीय तहको एजेन्ट व्यवस्थापन राम्रो नभएकाले मोवाइल बैंकिङ प्रभावकारी रुपमा कार्यान्वयमा आउन सकेको थिएन,’ आईएमईको ‘आईएमई डिजीटल’ले ल्याउन लागेको मोबाइल बैंकिङ सार्वजनिक कार्यक्रममा उनले भने, ‘आईएमई ठूलो संजाल भएको रेमिट कम्पनी भएको र एजेन्ट व्यवस्था पनि राम्रो भएकाले अब प्रभावकारी हुनेछ ।’

आईएमईले ल्याउने लागेको मोबाइल बैंककिङमा नियमक निकाय नेपाल राष्ट्र बैंक र नेपाल दूरसञ्चार प्राधिकरण पनि सँगसँगै रहेकाले पनि प्रभावकारी रुपमा कार्यान्वयन आउने नेपालको तर्क छ । आईएमई ग्रूप अन्तरगतको सहायक कम्पनीले आईएमई डिजिटलले नेपालमा मोबाइल बैंकिङ सेवा संचालनमा ल्याउन लागेको हो । राष्ट्रिय भुक्तानी प्रणाली २०१४ अन्तरतग मोबाइल बैंकिङ सुविधालाई सफल रुपमा कार्यान्वयनमा ल्याउन सके ‘क्यास लेस ट्रान्जेक्सन’ भई गैरकानुनी कारोवार समेत निरुत्साहित हुने नेपालको तर्क छ ।

‘नगदमा कारोवार हुँदा गैरकानुनी क्रियाकलाप बढ्न गई त्यसबाट राज्यले राजस्व समेत गुमाउँदै आएको छ,’ उनले भने, ‘अबका दिनमा राष्ट्र बैंकले पनि नगदमा हुने कारोवारलाई न्युनिकरण गर्दै शुन्यमा झार्न लागेको र त्यसको लागि उपयुक्त माध्यम भनेको मोबाइल बैंकिङ नै हो ।’ आईएमईले ल्याउन लागेको मोवाइल बैंकिङको अनुगमन तथा संचालनमा नेपाल राष्ट्र बैंक अन्तरगतको पेमेन्ट एण्ड र सेटलमेन्ट विभागले हेरिरहेको छ भने प्राविधिक क्षेत्रमा प्राधिकरणको समेत साथ लिइने कम्पनीले जानकारी दिएको छ ।

आईएमईले ल्याउन लागेको मोबाइल बैंकिङको पूर्वाधार सहयोगमा युके एड अन्तरगतको सक्षम परियोजनाले सहयोग गर्नेछ । जसको लागि आज एक समझदारी पत्रमा सक्षम र आईएमईले हस्ताक्षर गरेका छन् । उक्त कार्यक्रममा बोल्दै आईएमई ग्रूपका कार्यकारी अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल सरकारले ल्याएको एक व्यक्ति एक खाता योजनालाई कार्यान्यनमा ल्याउन आईएमईको मोवाइल बैंकिङले सहयोग गर्ने बताए ।

रेमिट्यान्स क्षेत्रमा विगत १७ वर्षदेखि कामगर्दै आएको आईएमईको देशभर ५ हजारभन्दा एजेन्ट रहेको छन् । जसको माध्यमबाट देशको दुर्गम क्षेत्रमा समेत बैंकिङ सुविधाको पहँच पुर्याउन सकिने आईएमई ग्रूपका प्रवन्ध निर्देशक हेमराज ढकालले जानकारी दिए ।

कार्यक्रममा सक्षमका टीम लिडर बलदेव वोहोराल मोबाइल बैकिङमा आईएमईसँग सहकार्य गर्न पाउनु आफुहरुको लागि ठूलो उपलब्धि भएको बताए । ‘आजको यो समझदारी नेपालमा वित्तीय साक्षरता तथा नेपाली जनतामा बैंकिङ पहुँच पुर्याउनका लागि कोशेढुङ्गा सावित हुनेछ,’ उनले भने, ‘आईएमईको स्थानीय स्तरमा पहुँच राम्रो भएकाले सफल रुपमा कार्यान्वयनमा ल्याउन सकिनेछ ।’
हाल आईएमईले ल्याउन लागेको मोबाइल बैंकिङ नियामक निकाय नेपाल राष्ट्र बैंकमा स्वीकृतिको क्रममा रहेको र स्वीकृति भएर आएसँगै कार्यान्वनमा आउने कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL