Logo

टेलिकम कम्पनीलाई कस्दै प्राधिकरण, क्षतीपूर्ती अनिवार्य बनाइने

टेलिकम कम्पनीलाई कस्दै प्राधिकरण, क्षतीपूर्ती अनिवार्य बनाइने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीको समस्या सम्बोधनका लागि विशेष नियम कार्यन्वयनमा ल्याउने भएको छ । प्राधिकरणले सेवाग्राहीको गुनासो सम्वोधन गर्न दुरसञ्चार सेवाको गुणस्तर सम्वन्धी नयाँ नियमावली कार्यान्वयनको तयारी थालेको हो । यसका लागि सेवाको गुणस्तरसम्बन्धि नियमावलीको मस्यौदा तयार भइसकेको प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए ।
यसअघि सेवाको न्यूनतम सर्त (बेन्चमार्क) तोकेपनि नियमावली नबन्दा सेवा प्रदायकलाई कारवाही तथा नियमन गर्न असहज भएको थियो । ‘दूरसञ्चार सेवामा गुनासो बढ्दै गएको छ,’ उनले भने, ‘नियमावली नहुँदा सेवाप्रदायकसँग क्षतीपूर्ती लिने अधिकार नभएकोले नियमावली तयार गरिएको हो ।’ सेवाग्राहीलाई दूरसञ्चार सेवाको गुणस्तर प्रत्याभुत गराउने उद्देश्यका साथ नियमावली तयार गरिएको उनले बताए । प्राधिकरणले सेवाको गुणस्तरका लागि वेन्चमार्कमा व्यवस्था भएको बुँदालाई परिमार्जन पनि गरेको छ ।
के छ नियमावलीको मस्यौदामा ?
प्रवक्ता अर्यालका अनुसार नियमावलीको मस्यौदामा सेवा प्रदायकले आवाज तथा डाटाको गुणस्तर कायम गर्नुपर्ने व्यवस्था गरिएको छ । यस्तो नभएको अवस्थामा सेवाग्राहीलाई क्षतिपूर्तीको व्यवस्था गर्नुपर्ने नियमावलीमा उल्लेख गरिएको छ । जसअनुसार सेवा प्रदायकले नियमित विद्युत आपुर्ती नभएको अवस्थामा फोन नलाग्ने, आवाज नबुझिने, इन्टरनेटको गति, रिचार्ज नुहनेलगायत समस्या समाधान गर्नुपर्ने उल्लेख गरिएको छ । अन्यथा ग्राहकलाई क्षतिपूर्ती दिनुपर्ने छ ।
विशेषगरी सेवाको गुणस्तर कम भएमा प्रदायक जवाफदेही हुने गरी नियमावली तयार गरिएको प्रवक्ता अर्यालले जानकारी दिए । नियमावली लागु भएसँगै सेवा प्रदायकले आफ्नो प्रतिज्ञा (कमिटमेन्ट) अनुसार सेवा उपलब्ध गराउनु अनिवार्य हुनेछ ।अर्यालका अनुसार मस्यौदा प्राधिकरणको बोर्डमा पेस गरिएको छ । बोर्डले पास गरेपछि मन्त्रालयमा पठाइने र मन्त्रीस्तरीय बैठकले सो मस्यौदा पास गरेपछि मात्र लागु हुने छ । यसैबीच प्राधिकरणले उपभोक्तालाई क्षतीपूर्ती उपलब्ध गराउन सुझाव दिन कार्यदल तयार गरेको छ । सो कार्यदलले अल्पकालिन, मध्यकालिन र दिर्घकालिन व्यवस्था तथा सेवाग्राहीको समस्या सम्बोधन लगायतबारे सुझाव दिने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL