Logo

मेलम्चीको सुरुङ ४ ठाउँबाट खन्न शुरु, दैनिक २५ मिटर खनिने, असोजसम्म आउला त पानी ?

मेलम्चीको सुरुङ ४ ठाउँबाट खन्न शुरु, दैनिक २५ मिटर खनिने, असोजसम्म आउला त पानी ?


रामराजा श्रेष्ठ
0
Shares

काठमाडौं । मेलम्ची खानेपानी आयोजना निर्माण कार्यलाई द्रुत गतिमा अघि बढाउन ४ ठाउँबाट सुरुङ खन्न थालिएकोे छ । आगामी असोजभित्र निर्माण सम्पन्न गर्नेगरी द्रुत गतिमा काम अघि बढाइएको मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक धनश्याम भट्टराइले बिजखबरलाई बताए ।

भट्टराइका अनुसार २७ दशमलव ५ किलोमिटर लामो उक्त सुरुङमध्ये अब ५ किमी खन्न बाँकी रहेको छ । अहिले दैनिक २० मिटरका दरले सुरुङ खन्ने काम भइरहेको र केही समयभित्रै त्यसलाई बढाएर २५ मिटर पुर्याइने भएको छ ।

आयोजनाले सिन्धुघाट, जयथुन, अम्बाथानबाट सुरुङ खन्न शुरु गरेको छ । तर, दैनिक २० मिटरका दरले खन्ने हो भने सुरुङ खन्नका लागि मात्र ८ महिनाभन्दा बढी समय लाग्ने छ । जुन सुरुङ खन्न मात्रै असोजसम्म लाग्ने छ र आयोजनाले भनेको समयमा निर्माणकार्य सम्पन्न गर्नेछैन ।

अहिलेको अनुसार सुरुङ खन्दा समयमै काम नसकिने भएकाले अब दैनिक न्युनतम २५ मिटरका दरले खन्न लागिएको भट्टराइ बताउँछन् । दैनिक कम्तीमा २५ मिटरका दरले खन्दा साउनमा सुरुङको काम सकिने र असोजबाट धारामा पानी झार्न सकिने उनको तर्क छ । साउनसम्ममा सुरुङ खन्ने काम सकिने र २ महिनाभित्र सम्पूर्ण निर्माण कार्य सकेर काठमाडौंमा पानी ल्याइने समेत उनले जानकारी दिए ।

पानी वितरणको लागि पाइप विच्छाउने काम गर्दै आएको खानेपानी तथा सरसफाइ मन्त्रालयले भने सोको झण्डै ८० प्रतिशत काम सकिसकेको जानकारी दिएको छ । कुल ६ सय ७० किलोमिटर पाइप विच्याउनुपर्नेमा ५ सय २० किलोमिटरभन्दा बढीको काम सम्मपन्न भइसकेको मन्त्रालयका सविच भीमप्रसाद उपाध्यायले बताए । मेलम्चीको पानी सुन्दरीजलमा झर्दा आफुहरुले काठमाडौं उपत्यकामा पानी वितरणको लागि पाइप संजाल तयारी गरिसक्ने समेत उनको दावी छ । संसदको विकास समितिले पनि मेलम्ची खानेपानीको पाइप विच्छ्याउदा काठमाडौं प्रदुषित भएको भन्दै छिटो गर्न निर्देशन दिएको छ ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेडले विभिन्न ११ वटा जक्सनबाट काठमाडौंमा पानी वितरण गर्ने भएको छ । मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी ल्याउने लक्ष्य रहेको र त्यसको ६० प्रतिशत पानी चक्रपथ भित्र र अन्य वाहिर वितरण गरिनेछ । लिमिटेडले पहिलो चरणमा पानी वितरण गरिने क्षेत्रको सुचि समेत तयार पारिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL