Logo

राष्ट्र बैंकले भन्यो, ‘तरलता समस्याको हल्ला बैंकको ब्याज बढाउने बाहाना मात्र हो’

राष्ट्र बैंकले भन्यो, ‘तरलता समस्याको हल्ला बैंकको ब्याज बढाउने बाहाना मात्र हो’


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले बजारमा तरलता समस्या भएको बताएपनि नेपाल राष्ट्र बैंकले भने त्यस्तो अवस्था नरहेको बताएको छ । राष्ट्र बैंकले तरलता समस्या समाधान गर्न न्युन ब्याजदरमा ४० अर्ब रुपैयाँको ‘आउट रिच पर्चेज’ जारी गर्दा पनि बैंक वित्तीय संस्था लिन नआएपछि बजारमा तरलता समस्या नभएको निष्कर्षमा पुगेको हो ।

बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाहमा ब्याजदर बढाउनको लागि बजारमा तरलता समस्याको हावा फैलाएको समेत राष्ट्र बैंकका एक अधिकारीले जानकारी दिए । ‘यदि बैंक वित्तीय संस्थालाई तरलता चाहिएको थियो भने राष्ट्र बैंकले जारी गर्दा किन लिन आएनन्,’ ती अधिकारीको प्रश्न थियो, ‘यो वास्तविक तरलता समस्या नभई बैंकहरुको कर्जा प्रवाहमा ब्याजदर बढाउने बाहाना मात्र हो ।’

राष्ट्र बैंकले अन्तर बैंक ब्याजदरभन्दा बढीमा बोलकबोल गर्ने गरी ४० अर्ब रुपैयाँको तरलता बजारमा ल्याएको थियो । हिजो रितपूर्वक २ अर्ब रुपैयाँ जतिको आवेदन परेकोमा आज अन्तर बैंक ब्याजदरभन्दा माथी कुनै पनि बैंक वित्तीय संस्थाले आवेदन नदिएको नेपाल राष्ट्र बैंक राष्ट्र ऋण विभागका कार्यकारी दिर्नेशक त्रिलोचन पंगेनीले जानकारी दिए । ‘हामीले बैंक वित्तीय संस्थाकै अनुरोधमा बजारमा तरलता ल्याएका हौं,’ उनले भने, ‘वास्तवमा उनीहरुलाई आवश्यक नै रहेनछ ।’ बजारमा अनावश्यक हल्ला फैलाउनका लागि बैंक वित्तीय संस्थाले तरलताको बाहाना बनाएको समेत उनको तर्क थियो ।

हाल बैंकहरुले बजारमा तरलता अभाव भएको भन्दै कर्जा प्रवाहमा १४ प्रतिशतसम्म ब्याज लिँदै आएका छन् । यसैगरी पहिला प्रर्वाह गरेको कर्जामा पनि ४ प्रतिशतभन्दा बढीले ब्याजदर बढाइसकेका छन् । बैंक तथा वित्तीय संस्थाले नियामकको आँखा छलेर कर्जामा ब्याजदर बढाउनका लागि तरलता समस्याको बाहाना बनाएको सम्बद्ध सारोकारवालाहरुको भनाइ छ ।

पंगेनीका अनुसार आज ६ वटा बैंक वित्तीय संस्थाले तरलता लिनका लागि आवेदन दिएका थिए । तर, सवैले अन्तरबैंक ब्याजदरभन्दा कम ब्याज हुन आउनेगरी आवेदन दिएकाले सवैको आवेदन रद्द भएको छ । राष्ट्र बैंकले विहीबार १० अर्ब रुपैयाँको मात्र आउट रिच पर्चेज जारी गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL