Logo

उद्योग दर्तामा नयाँ व्यवस्था, एउटै फाइलबाट उद्योग विभाग र कम्पनी रजिष्ट्रारको काम

उद्योग दर्तामा नयाँ व्यवस्था, एउटै फाइलबाट उद्योग विभाग र कम्पनी रजिष्ट्रारको काम


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । उद्योग दर्ता तथा नविकरण गर्दा एकै प्रकृतिका फाइल उद्योग विभाग र कम्पनी रजिष्ट्रारमा बुझाउन नपर्ने भएको छ । उद्योग तथा कम्पनीको विवरण विभाग र कम्पनी रजिष्ट्रारमध्ये एउटा कार्यालयमा बुझाए पुग्ने भएको हो । सेवा ग्राहीलाई सर्वसुलभ तरिकाबाट सेवा प्रदानका लागि आगामी फागुन २ गतेदेखि नयाँ प्रणाली लागू गर्न लागिएकोे उद्योग मन्त्री नवीन्द्रराज जोशीले बताए ।

दुई कार्यलयबीच तथ्याङ्क आदनप्रदान गर्न मिल्ने बनाएसँगै उद्योगीहरु एउटै फाइल दुई तिर बोकेर हिड्नेपर्ने झण्झटबाट मुक्त हुनेछन् । हाल उद्योग दर्ता गर्दा विभाग र कम्पनीमा एकै प्रकृतिका फाइल छुट्टाछुट्टै पेश गर्नुपर्ने बाध्यता छ । ‘उद्योग दर्ता तथा नविकरणमा नयाँ व्यवस्था लागू भएसँगै समयको बचत हुनुका साथै उद्योगीले पनि सास्ती भोग्नु पर्दैन,’ मन्त्री जोशीले भने ।

उद्योग विभागलाई अनलाइन प्रणालीमा लैजाने क्रममा उद्योग दर्तालाई अझ सहज बनाउने उद्देश्यसहित कम्पनी रजिष्ट्रारसँग सहकार्य गर्न लागिएको विभागका निर्देशक दुर्गा भुसालले जानकारी दिए । हाल विभागको प्राविधिक टोलीले दुई संस्थाबीचको तथ्याङ्क आदनप्रदान सम्बन्धी काम गरिहेका समेत उनले जानकारी दिए ।

जसअनुसार विभाग र कम्पनी रजिष्ट्रारबीच अनलाइनबाट डाटा आदानप्रदान हुन्छ । विभागमा दर्ता भएका विदेशी लगानीका उद्योगको विवरण कम्पनी रजिष्ट्रारबाट सिधै हेर्न सकिन्छ । त्यस्तै कम्पनी रजिष्ट्रारबाट कम्पनी दर्ता पछि दिने प्रमाणपत्र विभागबाट हेर्न मिल्छ । उद्योगको विवरण दुवै संस्थाबाट हेर्नका लागि छुट्टै कोडनम्बर उपलब्ध गराइने छ ।

उद्योग दर्ता गर्दा कर्मचारीले उद्योगीसँग पैसा असुल्ने र सताउने प्रवृत्ति बढेको गुनासो आएपछि त्यसलाई न्युनिकरण गर्न उद्योग मन्त्रालयले यस्तो प्रणाली शुरु गर्न लागेको स्रोतले बताएको छ । विभाग माघ २ गतेदेखि अनलाइन प्रणालीमा जाने भएको छ । उद्योग दर्तालगायत काम ढिला भएको गुनासो आएसँगै सेवालाई छिटो छरितो र सहज बनाउने उद्देश्यका साथ अटोमेशनमा जान लागेको हो ।

अनलाइन प्रणालीमा गएसँगै विदेशी लगानी दर्ताका प्रक्रिया कम्तिमा १ हप्ताभित्र सक्ने गरी काम गरिने छ । त्यस्तै नेपाली कम्पनी दर्ता लागि ३० घण्टाभित्र गरिने बताइएको छ । फुल अटोमेसनमा गएसँगै प्रत्यक्ष विदेशी लगानी स्वीकृति, उद्योग दर्ता, व्यवसायीक भिसा सिफारिस तथा आईईईलगायत सम्पूर्ण काम अव अनलाइनबाट गरिने छ ।

त्यसैगरी उद्योगको क्षमता विस्तार तथा नविकरणलगायत काम पनि अनलाइनबाट गरिने हुँदा सेवाग्राहीलाई विभागसम्म धाइ रहनुपर्ने झण्झट हट्ने निर्देशक भुसालले बताए । विभागले उद्योग दर्ता सम्वन्धमा अनावश्यक प्रक्रियाहरु समेत कटौती गर्न लागेको उनले जानकारी दिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL