Logo

युरोप र अमेरिकामा नेपाली ‘फेल्ट’, बढ्दैछ बर्षेनी निर्यात

युरोप र अमेरिकामा नेपाली ‘फेल्ट’, बढ्दैछ बर्षेनी निर्यात


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । निर्यात बजार अपेक्षित रुपमा नबढेको अवस्थामा भेडाको उनीबाट तयार गरिने ‘फेल्ट’को निर्यात भने बार्षिक रुपमा निरन्तर बढेको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको पछिल्लो १० बर्षको तथ्यांकले यस्तो देखाएको हो ।

तथ्यांक अनुसार आर्थिक बर्ष ०७२ ÷०७३ मा नेपालबाट १ अर्व ७ करोड रुपैयाँ बराबरको फेल्ट निर्यात भएको छ । जुन अघिल्लो आवको तुलनामा १७ प्रतिशतले बढी हो । आर्थिक बर्ष ७१/०७२ मा नेपालबाट ९१ करोड ६५ लाख रुपैयाँ बराबरको फेल्ट निर्यात भएको थियो । ०६३/०६४ मा २२ करोड ४७ लाखको फेल्ट निर्यात भएको थियो । त्यसपछि निर्यात क्रमश बढ्दै ०६७ ÷०६८ मा ३७ करोड ६९ लाख रुपैयाँ पुगेको थियो ।

यता नेपाल फेल्ट उत्पादक तथा निर्यातकर्ता संघले भने गत आवका फेल्टको निर्यात करिव १ अर्व ५० करोडको भएको बताएको छ । विदेशमा निर्यातका साथै नेपालमा आउने पर्यटकले पनि यस्ता सामग्री खरिद गर्ने हुँदा टिइपीसीको तथ्यांकभन्दा बढी निर्यात हुने बताइएको हो ।

विदेशमा फेल्टका सामग्रीको माग बढ्दै जाँदा निर्यातमा पनि वृद्धि भएको नेपाल फेल्ट उत्पादक तथा निर्यातकर्ता संघले जानकारी दिएको छ । फेल्ट नेपालबाट धेरै निर्यात हुने वस्तुको सूचीमा दोश्रो स्थानमा पर्ने नरेशलाल श्रेष्ठले जानकारी दिए । त्यस्तै फेल्टका नयाँ नयाँ उत्पादनहरुले गर्दा पनि यसको माग बढेको उनले बताए । ‘हामीले फेल्टबाट नयाँ प्रडक्टहरु उत्पादन गर्न थालेका छौं,’उनले भने, ‘यसले गर्दा पनि माग बढेको छ ।’ उनका अनुसार पछिल्लो समय फेल्टका गलैचाँ तथा वासिङमेसिनमा राख्ने बलमा विदेशीहरुको विशेष आकर्षण छ । त्यस्तै फेल्टका पर्स, झोला, किरिङलगायतको निर्यात पनि राम्रो भएको उनले जानकारी दिए । विदेशीहरुले विशेषगरी उनीका फेल्ट प्रडक्ट मन पराउँछन् ।

नेपालबाट विशेषगरी युरोप,अमेरिका तथा अष्ट्रेलियामा फेल्टका सामग्रीको माग बढी रहेको श्रेष्ठले जानकारी दिए । त्यसमा पनि टर्की, साउथ एशिया,रसियालगायत बढी चिसो मुलुकहरुमा यसको प्रयोग बढी हुन्छ । हाल फेल्ट उद्योगबाट २५ हजार जनाले रोजगारी पाएको संघले जानकारी दिएको छ । जसमध्ये ८० प्रतिशत अशिक्षित र अन्य शिक्षित रहेका छन् ।

नेपालमा फेल्टका कच्चापदार्थ न्यूजिल्याण्ड तथा अष्ट्रेलियाबाट आयात गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिए । ‘फेल्टका लागि नरम उनी आवश्यक पर्छ,’ उनले भने, ‘नेपालको भेडाको उनी दह्रो हुने भएकोले काम लाग्दैन ।’ राजनितिक अस्थिरता तथा लोडसेडिङको समस्या भएपनि यस क्षेत्रलाई भने कम असर पर्ने सम्वन्धित व्यवसायीहरु बताउँछन् । फेल्ट उद्योगले कम विजुली खपत गर्ने हुँदा लोडसेडिङको मार खासै नपर्ने उनीहरुले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL