Logo

सेयर बजारमा विदेशी लगानी भित्र्याउँदै लगानी कोष, विदेशमा समेत लगानी गरिने

सेयर बजारमा विदेशी लगानी भित्र्याउँदै लगानी कोष, विदेशमा समेत लगानी गरिने


रामराजा श्रेष्ठ
0
Shares

काठमाडौं । पूँजी बजारमा विदेशी लगानी भित्र्याउन मिल्ने गरी नागरिक लगानी कोषले आफ्नो ऐन परिमार्जन शुरु गरेको छ । धितोपत्र बोर्डले सेयर बजारमा गैर आवासीय नेपाली (एनआरएन)लाई लगानी खुला गर्ने कार्यविधी तयार गरेको र उद्योग मन्त्रालयले पनि विदेशी लगानी तथा प्रविधि हस्तान्तर ऐनको मस्यौदामार्फत विदेशी कम्पनी तथा एनआरएनलाई सेयर बजारमा लगानी खुला गर्न लागेको अवस्थामा कोषले पनि सोही अनुरुप तयारी शुरु गरेको हो । वैदेशिक रोजगारीमा गएका नेपाली कामदार तथा गैर आवासीय नेपालीको लगानी भित्र्याउन मिल्नेगरी मौजुदा ऐनमा परिमार्जन गर्न लागेको कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेलले बताए ।

कोषले पूँजी बजार तथा म्युचुअल फण्डलाई प्राथमिकतामा राख्दै पहिलो पटक ऐन संसोधनका लागि दफावार छलफल शुरु गरेको हो । २०४७ सालको उक्त ऐन पश्चात कोषको काम कारवाही तथा पूँजी बजारमा धेरै उतारचढाव आएकाले परिमार्जनको प्रक्रिया अघि बढाइएको हो । पोखरेलका अनुसार कोषले विदेशमा रहेका नेपाली कामदार तथा गैर आवासीय नेपालीले नेपालको सेयर बजामा लगानी गर्न चाहेमा यसका लागि छुट्टै डलर खाता सञ्चालनमा ल्याइने छ । उक्त खातामा जम्मा भएको रकमलाई कोषले पूँजी बजारमा लगानी गर्नेछ ।

कोषले स्वदेशमा मात्र नभई विदेशस्थित पूँजी बजारमा समेत लगानी गर्न मिल्नेगरी ऐन परिमार्जन गर्ने तयारी पनि गरेको छ । जसअनुसार विदेशबाट पठाएको रकमलाई डलर खातामा जम्मा गरी सम्भावित देशका पूँजी बजारमा लगानीको सोंच बनाइएको छ । ‘पूँजी बजारलाई बढावा दिनेगरी विदेशमा रहेका नेपालीको पैसा भित्र्याउने तयारी गरेका हौं,’ उनले भने, ‘उनीहरुले पठाएको रकमलाई विदेशी मुद्रामै जम्मा गरी विदेशका स्टक मार्केटमा लगानी गर्ने छौं ।’ यो लगानीकर्ताको हितमा हुने समेत उनको दाबी छ ।

यसैगरी कोषले म्युचुअल फण्डमार्फत डिभेञ्चर ट्रस्टीको काम गर्ने प्रक्रियालाई पनि अघि बढाएको छ । यदि कुनै कम्पनीले पूँजी जुटाउनका लागि डिभेञ्चर जारी गरेमा त्यस्तो क्षेत्रमा समेत कोषले लगानी गर्न लागेको हो । यसले कुनै कम्पनीलाई नयाँ क्षेत्रमा काम गर्नका लागि लगानी जुटाउन समेत सहज हुनेछ ।

पोखरेलका अनुसार कोषको ऐन संसोधन गरी आफ्ना कामलाई समेत वैधानिकता दिन लागेको हो । हाल कोषले अनिवार्य अवकास कोष, योगदानमा आधारित बीमाका लागि फण्ड म्यानेजरजस्ता काम गर्दै आएको छ । त्यस्ता कामलाई कोषको ऐनबाटै वैधानिकता दिनका लागि समेत परिमार्जन जरुरी रहेको पोखरेल बताउँछन् ।

केही समय अघि कोषले पूँजी बजारमा मार्केट मेकर तथा स्टक डिलरको काम गर्नेभन्दै काम अघि बढाएको थियो । स्टक डिलरको काम गर्न डेढ बर्ष अघि नेपाल स्टक एक्स्चेञ्जमा आवेदन दिएपनि सो विषयमा हालसम्म कुनै टुङ्गो नलागेको पोखरेलले जानकारी दिए । कोषले सेयर बजारमा भइरहने उतारचढावलाई कम गर्न सहायक कम्पनीको रुपमा १० अर्ब रुपैयाँको मार्केट मेकर कम्पनी संचालनमा ल्याउने प्रक्रिया अघि बढाएको थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL