Logo

औषधि उद्योग चलाउने मन्त्रीको घोषणा कागजमै सिमित, ३ महिना बित्यो प्रगति शुन्य

औषधि उद्योग चलाउने मन्त्रीको घोषणा कागजमै सिमित, ३ महिना बित्यो प्रगति शुन्य


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । ३ महिना भित्र नेपाल औषधिका उत्पादन बजारमा ल्याउने घोषणा गरेका उद्योग मन्त्री नवीन्द्रराज जोशीको योजना कागजमै सिमिति हुन पुगेको छ । उद्योग मन्त्रीको पदभार सम्हाल्ने वित्तिकै नेपाल औषधि लिमिटेड संचालनका लागि अग्रसरता देखाएपनि अन्तत त्यो निर्णय कागजमा मात्र सिमित हुन पुगेको छ ।

मन्त्री जोशीले पत्रकार सम्मेलन गर्दै असोज ३ गते ३ महिना भित्र नेपाल औषधिबाट उत्पादित ८ प्रकारका औषधि बजारमा ल्याउने उद्घोष गरेका थिए । जस अनुसार पहिलो चरणमा सिटामोल, नेपोक्स्लीन, कफनास, अल्वेण्डाजोल, जीवनजल, एमजिट, आइरन चक्की र कफहिस्ट उत्पादन गर्ने लक्ष्य लिएको थियो । तर त्यसको ३ महिना वित्नलाग्दा पनि कुनै प्रक्रिया अघि बढ्न नसकेको उद्योग मन्त्रालयका एक उच्च अधिकारीले बताए । ‘उद्योग संचालनका सरकारले १४ करोड ६५ लाख रुपैयाँ दिने निर्णय गरेको थियो,’ ती अधिकारीले भने, ‘तर सो रकम निकासाका लागि अर्थ मन्त्रालयसँग समन्वय हुन सकेको छैन ।’

तत्कालिन समयमा मन्त्री जोशीले औषधि उद्योग संचालनमा ल्याउन डा. पुष्कर बज्राचार्यको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेका थिए । उच्च महत्वकाक्षाका साथ समिति गठन गरिए पनि सो सम्बन्धमा कुनै उपलब्धि भने हुन सकेको छैन । केही समय अघि मन्त्रालयले कम्पनीको महाप्रबन्धक छनौट प्रक्रिया अघि बढाएको थियो । तर, सो विषयमा पनि हाल सो विषयमा कुनै प्रगति हुन सकेको छैन ।

उद्योगको मेसिन औजार केही नभएको र कर्मचारी समेत भएका कारण तत्काल औषधि उत्पादन गर्न सकिने बताए पनि हालसम्म कुनै प्रक्रि अघि बढ्न नसकेको हो । साथै कम्पनीबाट उत्पादित औषधि स्वास्थ्य मन्त्रालयले खरिद गर्नुपर्नेमा हालसम्म सो सम्बन्धमा पनि कुनै छलफल अघि नबढेको मन्त्रालयले जानकारी दिएको छ । यदि स्वास्थ्यले औषधि खरिद नगर्ने हो भने नेपाल औषधि संचालनमा आउन समेत कठिन हुने छ ।

त्यसैगरी मन्त्री जोशीले नेपाल औषधिलाई उच्च व्यवस्थापनका लागि सार्वजनिक–निजी–साझेदारी (पीपीपी) मोडलमा संचालन गर्ने बताएका थिए । तर, सो सम्बन्धमा पनि निजी क्षेत्रसँग कुनै छलफल अघि बढ्न सकेको छैन । हालसम्म निजी क्षेत्रलाई कसरी भित्र्याउने, कति इक्विटी दिने, व्यवस्थापन कस्तो हुने भन्ने विषयमा समेत छलफल हुन नसकेको मन्त्रालयले जनकारी दिएको छ ।

उद्योग मन्त्रालय संस्थान महाशाखा प्रमुख यमलाल भुसाल भने नेपाल औषधि संचालनका लागि गृहकार्य भैरहेको बताउँछन् । ‘उद्योगको पूर्वाधारलाई डब्लूएचओ, जीएमपी मापदण्ड अनुसार बनाउनका लागि अध्ययन भइरहेको छ,’ उनले भने, ‘साथै नेपाल सरकारले दिएको रकम निकासाका लागि पनि काम गरिरहेका छौं ।’ तर, कहिले रकम निकासा हुने र कहिले देखि औषधि उत्पादन हुन्छ भन्ने विषयमा टुङ्गो नलागेको उनले जानकारी दिए ।

नेपाल औषधिको उत्पादन ३ महिना भित्र बजारमा, पहिलो चरणमा ८ प्रकारका उत्पादन

प्रतिक्रिया दिनुहोस्
MBL