Logo

२९ तलाकै काठमाडौं भ्यू टावर बनाउन महानगरको पत्राचार

२९ तलाकै काठमाडौं भ्यू टावर बनाउन महानगरको पत्राचार


रक्षा रेग्मी
0
Shares

काठमाडौं । पुरानो बसपार्कमा बन्ने भनिएको काठमाडौं भ्यू टावर २९ तलाको बनाउन पहल शुरु गरिएको छ । टावर निर्माणका लागि बसपार्क खुल्लामञ्चमा सारेको करिव ७ महिना वितिसक्दा पनि काम शुरु नभएको भन्दै विभिन्न आरोप आइरहेको बेलामा काठमाडौं महानगरपालिका र ठेकेदार कम्पनीले भने टावरलाई २९ तलाको बनाउन कसरत गरेका हुन् ।

नगर विकास समिति र शहरी विकास मन्त्रालयलाई १२ तलाको संशोधन गरि २९ तलाको स्वीकृति दिन पत्राचार गरेको महानगरपालिकाका राजस्व शाखा प्रमुख महेश काफ्लेले जानकारी दिए । ‘भुकम्प पश्चात १२ तलाको मात्र बनाउने निर्णय भएको थियो, तर यसलाई पुनः २९ तलाको बनाउन पत्राचार गरिएको हो,’ उनले भने, ‘मन्त्रालयले स्वीकृति दिएको अवस्थामा भ्यू टावरलाई २९ तलाकै बनाउने छौं ।’

शुरुमा सम्झौता हुँदा २९ तलाको बन्ने भनिए पनि भुकम्प पछिको मापदण्ड अनुसार भ्यू टावरलाई १२ तलामा सिमित गर्ने निणर्य भएको थियो । २९ तलाको बन्ने भनेर महानगर र ठेकेदार कम्पनी जलेश्वर, स्वछन्द विकोइवीच सोही नुरुप राजस्व तथा कर तिर्ने सम्झौता भएको थियो । तर १२ तला मात्र बनाउने भएपछि अन्य कम्प्लेक्स सरह राजस्व तिर्न पाउनुपर्ने माग ठेकेदार कम्पनीले गरेकोले पुनः २९ लताकै लागि प्रक्रिया शुरु गरिएको हो ।

१२ तलाको बनाएर भाडा उठाउँदा महानगरलाई तिर्दैमा ठिक्क हुने भन्दै ठेकेदार कम्पनीले यस्तो माग राखेको हो । साथै भ्यू टावर पनि सामान्यतया उपत्यका देख्ने नै हुनुपर्छ ।

काफ्लेका अनुसार कम्पनीले नक्सा पासका लागि १ करोड रुपैयाँ तिरिसकेको छ । भ्यू टावर बनाउने भन्दै गत बैशाखमा बसपार्कलाई खुल्लामञ्चमा सारिएको थियो । तर विभिन्न बाहानामा टावर निर्माणको काम अघि बढ्न सकेको छैन । केही समय अघि कांग्रेस नेता तथा सभासद भिमसेनदासले टावर निर्माणमा हस्तक्षेप गर्ने चेतावनी समेत दिएका थिए । पछि महानगरपालिकाका पदाधिकारीहरुसँगको छलफलपछि कुरा मिलेको काफ्लेले जानकारी दिए ।

त्यस्तै महानगरले असक्षम कम्पनीलाई भ्यू टावर बनाउन दिएको आरोप पनि लागेको थियो । ‘महानगरले सम्झौता गर्नु अघि सवै डकुमेन्ट जाँच गरेर मात्र काम अघि बढाएको हो,’ उनले भने, ‘कुनै पनि अवस्थामा कम्पनी कमजोर भएको देखिदैन ।’
त्यस्तै वातावरण मन्त्रालयले वातावरणीय प्रतिवेदन (इआइई) को प्रतिवेदन स्वीकृत नगरेकोले पनि काममा ढिलाई भएको बताइएको छ । काफ्लेका अनुसार कम्पनीले इआईएका लागि प्रतिवेदन मन्त्रालयमा पठाए पनि स्वीकृत नहुँदा काम अघि बढेको छैन ।

यता ठेकेदार कम्पनीले भने पहिला ल्याएको जमिन खन्ने पाइलिङ मेसिनले काम नगरेकोले काम अघि नबढेको बताएको छ । कम्पनीले ल्याएको मेसिनले २५ मिटरसम्म तल गएर पाइलिङ गरेकोले सो भवन निर्माणका लागि ४० मिटर भन्दा तल गएर पाइलिङ गर्नुपर्ने हुन्छ । काठमाडौं महानगरपालिका र ठेकेदार कम्पनीवीच भएको सम्झौता अनुसार कम्पनीले बार्षिक २ करोड ३५ लाख रुपैयाँ तिर्नुपर्ने हुन्छ । यो बार्षिक २ दशमलव ५ प्रतिशतले बढ्दै जान्छ ।

बसपार्कमा बन्ने भनिएको टावरमा बस पार्किङ, सिनेमा हल, थिएटर, स्वीमिङ पुल, रेष्टुराँ, बैंक तथा कामनपाको वडा कार्यालय समेत रहनेछ । सो भवनमा विभिन्न स्वदेशी तथा विदेशी सामग्रीहरु राखिने कामपाले जानकारी दिएको छ ।

भवनका लागि २३ रोपनी ५ आना जग्गा छुट्याइएको छ । जसमध्ये ४० प्रतिशत भुभागमा भवन बन्ने छ भने ६० प्रतिशत खाली राखिने छ । ६० प्रतिशत जग्गामा आकर्षक बगैचा, बस्ने ठाउँ तथा विभिन्न मनोरञ्जनका सामग्री राखिनेछ । महानगर बनाउन लागेको सो भवन नेपाली कला सस्कृति झल्किने खालको हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL