Logo

त्रिशुली–गल्छी ७५ मेवा हाइड्रोको फाइनान्सियल क्लोजर छिट्टै, २०१७ बाट निर्माणकार्य शुरु

त्रिशुली–गल्छी ७५ मेवा हाइड्रोको फाइनान्सियल क्लोजर छिट्टै, २०१७ बाट निर्माणकार्य शुरु


रामराजा श्रेष्ठ
54
Shares

काठमाडौं । भर्खरै मात्र उत्पादन अनुमति पाएको त्रिशुली–गल्छी जलविद्युत आयोजनाले केही समयभित्रै फाइनान्सियल क्लोजर गर्ने भएको छ । नुवाकोट र धादिङको सिमानामा बन्न लागको सो जलद्यिुत आयोजनाको तत्काल फाइनान्सियल क्लोजर गरिन आयोजना निर्माता कम्पनी सिद्धकाली पावर लिमिटेडका कार्यकारी अध्यक्ष गुरुप्रसाद न्यौपानेले बताए । ‘वित्तीय व्यवस्थापनको लागि विभिन्न ११ वटा वाणिज्य बैंक तयार भएका छन्,’ उनले भने, ‘ती बैंकको संचालक समितिले निर्णय गर्ने वित्तिकै फाइनान्सियल क्लोजर हुने छ ।’ कम्पनीले यही कात्तिक १२ गते उत्पादन अनुमति पाएको थियो ।

trishuli_galchi_hydro_1

 

सो जलविद्युत आयोजनामा लक्ष्मी बैंकको अगुवाइमा अन्य ११ वाणिज्य वैंकले लगानी गर्ने भएका छन् । जसमा सिद्धार्थ, सिभिल, प्रभु, मेगा, नेपाल एसवीआई, एभरेष्ट, नेपाल बंगलादेश बैंक, राष्ट्रिय वाणिज्य बैंक, ग्लोवल आईएमई र एनआईसी एसिया बैंक रहेका छन् । सो आयोजनामा बैंकहरुले कुल ९ अर्ब ८० करोड लगानी गर्ने छन् । जसमा एउटा बैंकको न्युनतम ५० करोड रुपैयाँ देखि अधिकतम १ अर्ब ७० करोड रुपैयाँसम्म लगानी रहनेछ ।

न्यौपानेका अनुसार हाल आयोजनाको बाँध बस्ने ठाउँको जग्गा अधिग्रहण भइरहेको छ । साथै आयोजनाले प्रभाव पार्ने अन्य स्थानमा पनि जग्गा अधिग्रहणको काम भइरहेको छ । कम्पनीले तत्काल जग्गा अधिग्रहणको काम सकेर सन् २०१७ को सुरुवातसँगै निर्माण कार्य अघि बढाउने लक्ष्य लिएको न्यौपानेले जानकारी दिए । ‘हाल कम्पनीले अन्रराष्ट्रिय रुपमा बोलपत्र आब्हानको लागि कागजात तयार गर्दै छ,’ उनले भने, ‘केही समय भित्रै नेपाली तथा भारतीय मिडियामार्फत आयोजना निर्माणका लागि बोलपत्र आब्हान गर्ने छौं ।’ अन्तरराष्ट्रिय रुपमा बोलपत्र आब्हानको लागि एक टोली भारत जान लागेको समेत उनले जानकारी दिए ।

करिव १४ अर्ब ४० करोड रुपैयाँ लागत अनुमान गरिएको सो परियोजनाको लागि वाणिज्य बैंकहरुले ९ अर्ब ८० करोड रुपैयाँ लगानी गर्ने भएको छ । थप ४ अर्ब ६० करोड रुपैयाँ भने सेयरधनीबाटै संकलन गरिने न्यौपाने बताउँछन् । कम्पनीले जसका लागि संस्थागत लगानीकर्ताहरुका लागि सेयर आवेदन समेत खुला गरेको छ ।

सो आयोजनाको ८ मिलोमिटर सुरुङ खन्नुपर्ने छ । जसमा ३ सय ८० किलोमिटरमात्र फलामे पाइपबाट पानी लगिने छ । वाँधबाट आयोजनाको हेडसम्म सरुङबाटै पानी लगिने भएको छ । सो आयोजना निर्माणका लागि त्रिशुली नदी तरेर जानुपर्ने भएकाले सोका लागि नदीमा ह्युम पाइप विच्छ्याएर २ वटा क्रसिङ राखिने भएको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका जनताको लागि १० प्रतिशत अर्थात ४६ करोड रुपैयाँ बरावरको सेयर दिने भएको छ । उक्त सेयर नुवाकोट र धादिङका जनतालाई दिन लागिएको हो । त्यसमध्येमा पनि अति प्रभावित क्षेत्रका जनतालाई ४० र अन्यलाई ६० प्रतिशत सेयर दिइने भएको छ । आयोजनाको अति प्रभावित क्षेत्रमा नुवाकोटका ५ र धादिङको १ गाउ विकास समिति पर्दछ ।

प्रतिक्रिया दिनुहोस्
MBL