Logo

ब्याजदर बृद्धिको मारमा व्यवसायी, धरासायी बन्दै उद्योग कलकारखाना

ब्याजदर बृद्धिको मारमा व्यवसायी, धरासायी बन्दै उद्योग कलकारखाना


रामराजा श्रेष्ठ
0
Shares

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले उच्च रुपमा ब्याजदर बढाउँदा उद्योगी व्यवसायीहरु मारमा परेका छन् । बैंकहरुले एकै पटकमा २ देखि ३ प्रतिशतसम्म ब्याजदर बढाउँदा व्यवसायीहरु मारमा परेका हुन् ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले तरलता अभावको कारण देखाई उद्योगले धान्नै नसक्नेगरी ब्याजदर बढाएको युवा उद्यमी तथा इष्टर्न कशमस सिमेन्टका कार्यकारी निर्देशक प्रवलजंग पाण्डेले बताए । ‘बैंकहरुले जुन रुपमा ब्याजदर बढाएका छन् त्यसले नेपाली बस्तुको उत्पादन लागत उच्च रुपमा बढ्न गई प्रतिस्पर्धी क्षमता घट्ने छ,’ उनले भने, ‘जसले गर्दा नेपाली उद्योगहरु क्रमश धरासायी हुँदै जानेछन् ।’

राष्ट्र बैंकले ब्याजदर नियन्त्रणका लागि तत्काल नयाँ उपाय नल्याएमा उद्योगीहरु टिक्न नसक्ने समेत उनको भनाइ छ । बजारमा लगानी योग्य पूँजी ल्याउनका लागि राष्ट्र बैंकले तत्काल बैंकको सीडी रेसियो (कर्जा निक्षेप अनुपात)मा समेत परिमार्जन गर्नुपर्ने उनको सुझाव छ । ‘पहिला बैंकको चुक्ता पूँजी २ अर्ब हुँदा सीडी रेसियो ८०ः२० को अनुपातमा थियो,’ उनले भने, ‘चुक्ता पूँजी बढेर ८ अर्ब रुपैयाँ पुग्दा पनि त्यसैलाई कायम लाख्दा ठूलो मात्रामा लगानीयोग्य पूँजी रिजर्भमा बस्न गई बजारमा तरलता अभाव हुने छ ।’

उनका अनुसार बैंक तथा वित्तीय संस्थाले अस्वभाविक रुपमा ब्याजदर बढाउँदा विशेषगरी ठूला ऋणीहरु मारमा परेका छन् । ‘उदाहरणा लागि ४ अर्ब रुपैयाँ ऋण लिएको उद्योगीको ३ प्रतिशतका दरले व्याज बढ्दा वार्षिक भार १२ करोड रुपैयाँ थपिन जान्छ,’ उनले भने, ‘जुन रकम व्यवसायीको आम्दानीभन्दा बढी हुन आउँछ ।’ यदि राष्ट्र बैंक तत्काल ब्याजदर घटाउन नलागेमा उद्योग कलकारखाना बन्द गरेर बस्नुपर्ने अवस्था आउने समेत उनको जानकारी दिए ।

अस्भाविक रुपमा बढेको ब्याजदर तत्काल नियन्त्रण नभए नेपाली उत्पादनहरु विस्थापित हुने अवस्था आउने नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले बताए । ‘नेपालमा अन्य बस्तुको तुलनामा अलि सस्तो भनेको बैंक ब्याजदर थियो,’ उनले भने, ‘त्यहि पनि बढेपछि नेपाली उत्पादनले विदेशी वस्तुसँग प्रतिस्पर्धा गर्न सक्ने अवस्था छैन ।’ चर्को लोडसेडिङ, सडक यातायातको असुविधा तथा कच्चा पदार्थमा बढी भन्सारदर खेप्दै आएको नेपाली उद्योग बैंक ब्याजदर बढेसँगै अझ धरासायी हुने शर्मा बताउँछन् ।

खुला बजार व्यवस्थामा नेपाली बस्तुले आयातित बस्तुसँग प्रतिस्पर्धा गर्नुपर्ने हुँदा बैंक ब्याजदरले उत्पादन लागत बढ्न गई नेपाली उत्पादनहरु समस्यामा पर्ने सम्बद्ध व्यवसायीहरु बताउँछन् । एकैचोटी उच्च रुपमा ब्याजदर बढ्दा औद्योगिक क्षेत्रमा नकारात्मक प्रभाव पर्न थालेको नेपाल उद्योग वाणिज्य महासंघका रोजगारदाता परिषद्का उपसभापति तथा एचपी अग्रवाल ग्रूपमा निर्देशक मनिषकुमार अग्रवालले बताए । ‘उद्योगको प्रोजेक्ट रिपोर्ट बनाउँदा सस्तो ब्याजदर हुँन्छ पछि एकै चोटी बढ्दा धान्न सक्दैन,’ उनले भने, ‘सरकारले औद्योगिक कर्जाको ब्याजदरमा निश्चित ‘क्याप’ लगाउनुपर्छ ।’ सिमित अवधिसम्म औद्योगिक कर्जाको ब्याजदर बढाउन नमिल्न समेत उनको तर्क छ ।

प्रतिक्रिया दिनुहोस्
MBL