Logo

मापदण्डविनाको इलेक्ट्रीक सवारी भित्र्याउँदा व्यवस्थापनमा समस्या आउँछ

मापदण्डविनाको इलेक्ट्रीक सवारी भित्र्याउँदा व्यवस्थापनमा समस्या आउँछ


बिजखबर संवाददाता
27
Shares

राजनीतिक विषयलाई छाड्ने हो भने राजधानीमा यतिबेला सवारीसाधनको चर्चा व्यापक चुलिएको छ । पछिल्ला केहि हप्ता निरन्तर भइरहेका सवारी दूर्घटनाले यसको सुरक्षाको विषयमा जनतादेखि संसदसम्मको गहिरो चासोदेखिन्छ । आजदेखि सुरु हुने ११ औं संस्करणको ‘नाडा अटो सो २०१६’ले पनि सवारीको चर्चालाई झन् बढाएको छ । सवारी सुरक्षाको विषयसहित बजारमा नयाँ नयाँ सवारीको प्रवेश र यो क्षेत्रमा विकास भएका नयाँ प्रविधिका कारण पनि विगत देखिनै नाडा सोले धेरैको आकर्षण बटुलेको छ । त्यसैले पनि नाडा अटो सो सवारी खरिद गर्नेका लागि ठूलो चाडकै रुपमा परिणत भइसकेको छ । सवारी सुरक्षा, व्यवसाय र नाडा अटोसँग केन्द्रित रहेर नेपाल अटोमोवाइल्स डिलर्श एशोसियशनका अध्यक्ष तथा लक्ष्मी इन्टरकण्टिनेन्टलका कार्यकारी निर्देशक अञ्जन श्रेष्ठसँग बिजखबरका रामराजा श्रेष्ठले गरेको कुराकारनीको सार ः

भूकम्पले अर्थतन्त्रका महत्वपूर्ण क्षेत्रमा ठूलो धक्का दिंदा पनि अटो व्यवसायको ग्राफले उकालो लय समात्यो । यो कसरी सम्भव भयो ?

हो, भुकम्पले धेरै क्षेत्रमा असर पुर्यायो  । अझ बढी पर्यटनमा यसको प्रभाप प¥यो । हामीले पनि त्यसबीचमा ठूलो समस्या सामना ग¥यौं । उपभोक्ताको माग हुँदाहुँदै पनि सामान नभएर बेच्न पाएका थिएनौं । जब नाकाबन्दी खुल्यो तब यसको व्यापार भने ह्वात्तै बढ्न थाल्यो । मतलब नाकाबन्दी पछि व्यापारको क्षेत्रले गति लियो । यहिं कारण हो सरकारले लक्ष्य भन्दा बढी राजस्व सङ्कलन गर्न सक्यो ।
भुकम्प र नाकाबन्दीले देशमा उद्योग व्यवसाय ठप्प हुँदा पनि विदेशबाट रेमिट्यान्स भित्रिरहेको थियो । त्यहिं समयमा अमेरिकी डरलको भाउ बढेकाले नेपाल भित्रने रेमिट्यान्सपनि बढ्न गयो । तर देशमा न्य क्षेत्रमा लगानी गर्ने वातावरण बनेन । बैंक तथा वित्तीय संस्थाले पनि अटो लोनको ब्याजदर घटाउए अनि कर्जा पनि सहजै बन्यो । यस्तै परिस्थितीले अटो व्यवसायलाई झन् बढायो ।

व्यवसायीहरुले कहिले काँही नेपालमै एसेम्बल प्लाण्ट सहितका योजना सार्वजनिक गर्छन् । तर यसको सङ्केत देखिदैंन । व्यवसायनै बढीरहेका बेला प्लाण्टको अर्को चिन्ता किन लिने भनेर हो ?

नेपालमै एसेम्बल प्लाण्टका सरकारले दुई वर्ष अघि नेपाल अटोमोवाइल डिलर्स एशोसिएनसँग छलफल गरेको थियो । त्यहिं छलफलमा छुट दिने कुरा पनि आएको हो । तर, नीतिगत अस्पष्टताले त्यहाँबाट अघि बढ्न सकेन । नेपालमै मोटरसाइकल एसेम्बल प्लाण्ट यसअघि नै स्थापना भइसकेको छ । तर, उत्पादन पश्चात के गर्ने भन्ने विषयमा अन्यौल हुँदा निर्माण हुन सकिरहेको छैन । सो सम्बन्धी कानुनी व्याख्या नै गलत छ । कस्तो छ भने दुई पाङ्गे्रमा ५० प्रतिशत र चार पाङ्ग्रेमा २५ प्रतिशत अन्तःशूल्क छुटको व्यवस्था छ । यहिंनेर एउटा समस्या छ । बढी खर्च लाग्ने चार पाङ्ग्रे सवारीमै छुट भने कम छ । यसैले पनि पाङग्रे सवारीको एसेम्वल प्लाण्ट खोल्न धेरैले चासो देखाएका छ्रैनन् । जुनसुकै देशमा एसेम्वल उद्योगबाटै अटो उद्योगको स्थापना भएको छ ।

पछिल्लो समय सवारी दुर्घटनाका समाचार निरन्तर आइरहेका छन् । सवारी साधन सुरक्षाको सचेतनामा नाडा के गर्दैछ ?

पक्कै पनि पछिल्लो समय दुर्घटना हुने क्रम बढेको छ । यसको छानविन आवश्यक छ । नाडाले दुर्घटना घटाउने विषयमा सरकारसँग सहकार्य गर्दै आएको छ । अहिले दुर्घटना बढ्नुमा भौतिक, यान्त्रिक र मानवीय कारण रहेका छन् । नेपालमा प्रविधि र प्राविधिक प्रयोग नगरी सडक बनिरहेका छन् । नेताहरुले आ–आफ्नो क्षेत्रमा सडक पुर्याउनका लागि आफुखुशी निर्माण गरिरहेका छन् । यसरी निर्माण गरिएका सडक कत्तिको सरक्षित छन् मुल्याङ्कन हुनु जरुरी छ । यस्तै पुराना सडकहरु जिर्ण हुँदै गएका छन् त्यसको मर्मत सम्भार हुन सकेको छैन ।

अहिले व्यवसायीहरुले विश्वस्तरमा भर्खर आएका उच्चस्तरिय सवारीसाधन नेपालमा भित्र्याउँदै आएका छन् । तर, त्यहि अनुसारको पेट्रोलियम नहुँदा समस्या परेको छ । यसैगरी खुला सिमानाले पोका पुन्तुरामार्फत नक्कली पार्टपुर्जा भित्रिरहेको छ । जसले गर्दा पनि सवारी दुर्घटना बढिरहेको छ । आगामी दिनमा नक्कली पार्टपूर्जा भित्रन नदिन त्यसमा लाग्दै अएको भन्सार शुल्क घटाएर एकलदर लागू गरिनु पर्छ ।

नेपालमा नागरिक सचेतनाको जरुरी छ । सडक प्रयोगकर्ता तथा सवारीसाधन चालकका लागि सोही अनुरुपको जानकारीमुलक अभियान चलाउनु पर्छ भने सवारी चालक अनुमतिपत्र वितरण प्रणालीलाई पनि सुधार गरिनुपर्छ । व्यावसायीक र व्यक्तिगत सवारीसाधन चलाउनेका लागि एकै खालको लाइसेन्स दिएर हुँदैन । हामीकहाँ सवारीसाधनको स्वास्थ्य परीक्षण गर्ने यन्त्र छैन । हचुवाको भरमा चलाउनु परेको छ । आगामी दिनमा सकभर छिटो भेइकल फिटनेस सेन्टर संचालनमा ल्याइनु पर्छ ।

सरकारको प्राथमिकता इलेक्ट्रिक सवारीलाई छ । लोडसेडिङको मार खेपिरहेको हाम्रो जस्तो देशमा यसले कस्तो अर्थ राख्छ ?

मुख्य विषय भनेको इन्धन सुरक्षा हो । जसका लागि उर्जाको नयाँ स्रोतको खोजी गरिनुपर्छ । नेपालमा अहिले डिजेल पेट्रोलबाट मात्रै सवारीसाधन संचालन भइरहेको छ , अगामी दिनमा इन्धनको विकल्प खोजेर इलेक्ट्रिक सवारी संचालनमा ल्याउनुपर्छ भन्ने नाडाको माग हो । तर यसको लागि नीति नियम तथा सोही अनुसारको मापदण्ड बनाउनु जरुरी छ ।

इलेक्ट्रिक सवारीको मुख्य समस्या भनेको ब्याट्रि व्यवस्थापन हो । विश्वभर यसको प्रयोग बढ्दै गएको छ । तर, त्यसको ब्याट्रि व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा अझै पनि समस्या देखिएको छ । चार्जिङ स्टेशनको पनि अभाव छ । नेपालजस्तो लोडसेडिङबाट ग्रसित भएको मुलुकले कसरी चार्जिङ स्टेशन बनाउने ?

अहिले पेट्रोलबाट चल्ने स्कुटरका लागि चालक अनुमति पत्र चाहिने तर इलेक्ट्रिकको लागि चाहिँदैन । के यो ठिक हो ?

यो विल्कुल गलत हो । नीति नियम सवैलाई समान हुनुपर्छ । भावनात्मक रुपमा समयको वहावसँग बहेर निर्णय गर्नु गलत हो । नेपालमा पेट्रोलको समस्या भइरहेको अवस्थामा इलेक्ट्रिक स्कुटर ल्याउनु राम्रो हो । तर, भावनात्मक रुपमा बहेर त्यसको नियमन नै नगर्नु ठिक हो ? त्यसले भविष्यमा ठूलो विकृति ल्याउँदै छ । समयमा मापदण्ड नबनाउने हो भने सरकारको लागि यो काउसोको मालाजस्तै हुन्छ । तसर्थ सवै खालका सवारीसाधनका लागि मापदण्ड बनाएर अनिवार्य रुपमा नम्बर प्लेट लागू गरिनुपर्छ ।

नाडा अटो सोको एघारौं संस्करणमा आइपुग्नु भएको छ । के यो व्यावसायिक निरन्तरता मात्र हो अथवा यसले कस्तो परिवर्तन ल्याएको अनुभव गर्नुभएको छ ?

नाडा अटो सो भनेको क्रेता र विक्रेताको संगमस्थलको रुपमा विकासित भएको छ । जुन नयाँ पुराना तथा अटो क्षेत्रको जानकारी लिन चाहने सबैका लागि उपयुक्त अवसर पनि हो । अटोमोवाइल उद्योगमा विश्वमा भइरहेको विकासक्रमको वारेमा जानकारी लिन यो एउटा उपयुक्त माध्यम पनि हो । यसले अटो क्षेत्रमा ठूलो परिवर्तन ल्याएको हाम्रो अनुभव छ ।

उदाहरणका लागि सन् २०१० भन्दा अघि नेपालमा अटो क्षेत्रको वार्षिक वृद्धिदर १० देखि १५ प्रतिशतमात्र थियो । त्यतिवेला नाडाले हरेक दुई वर्षमा मात्र अटो सो आयोजना गर्दै आएको थियो । केहि समयपछि यो वार्षिक कार्यक्रम नै बन्यो । वृद्धिदर पनि २५ देखि ३० प्रतिशत पुगेको थियो । यसैगरी गत आर्थिक वर्षमा यसको वृद्धि ४० प्रतिशतभन्दा बढी पुग्यो । यसको श्रेय अटो सोलाई नै जान्छ । त्यस्ता प्रदर्शनीमार्फत आम उपभोक्तालाई सवारीसाधनको वारेमा बुझाउन सक्यौं । मेलाले नेपालको अटोमोवाइल उद्योगलाई नयाँ दिशातर्फ उन्मुख गराउन ठूलो साथ दिएको छ ।

यो पटकको नाडा अटो सोमा किन जाने ?

नाडा अटो शो भन्ने वित्तिकै यो सवारीसाधन तथा त्यस सम्बन्धी पार्टपूर्जाको कुम्भ मेला नै हो । व्यवसायीले अटो सोलाई लक्षित गरी उपभोक्ता लागि विभिन्न योजनाहरु ल्याएका छन् । यसपटको मेलामा सहभागी ब्राण्ड तथा व्यवसायीको सख्या बढी छ । यस अघि ६६ वटा प्रदर्शनीकर्ता रहेकोमा यसपटक ७७ वटा रहेका छन् । सवै प्रदर्शनीकर्ताले उपभोक्तालाई लक्षित गरी उपहार तथा छुट योजना ल्याएका छन् । जुन उपभोक्ताका लागि ठूलो अवसर हो । साथै यही १४ गतेदेखि २० गतेसम्म चल्ने यो मेलाले उपभोक्तालाई नेपालमा विक्री भइरहेको सवारीसाधन, पार्टपूर्जा, इञ्जिन आयल तथा सो सम्बन्धी बैंकिङ स्किमको वारेमा जानकारी दिनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL