Logo

ठूला आयोजनामा चाइनिजको चासो बढ्यो, बोर्ड भन्छ, हामीसँग ‘प्रोजेक्ट’ नै छैन

ठूला आयोजनामा चाइनिजको चासो बढ्यो, बोर्ड भन्छ, हामीसँग ‘प्रोजेक्ट’ नै छैन


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । पछिल्लो समय ठूला पूर्वाधार आयोजना निर्माणमा चाइनिज लगानीकर्ताको चासो बढेको छ । विशेषगरी जलविद्युत आयोजना, पूर्धाधार र पर्यटन क्षेत्रमा लगानी गर्न चाइनिज लगानीकर्ता इच्छुक देखिएको लगानी बोर्डले जानकारी दिएको छ । ‘पछिल्लो समय दैनिक जसो चाइनिजहरु ठूला आयोजनामा लगानीका लागि प्रस्ताव लिएर आउँछन्,’ बोर्ड स्रोतको भन्यो, ‘तर, हामीसँग उनीहरुलाई यो क्षेत्रमा लगानी गर भनेर दिने आयोजना नै छैन ।’

सरकारले ठूला आयोजनाको सम्भाव्यता अध्ययन तथा त्यस्ता आयोजनामा विदेशी लगानी भित्र्याउने उद्देश्य अनुरुप झण्डै ५ बर्ष अघि लगानी बोर्डको गठन गरेको थियो । तर बोर्ड गठन भएको ५ बर्ष वितिसक्दा पनि बोर्डले ठूलो आयोजनाको छनौट गरी विदेशी लगानी भित्र्याउन सकेको छैन ।

केही समय अघि बोर्डमार्फत भारतीय लगानीकर्ताले विभिन्न परियोजनामा लगानी गर्न चासो देखाउँदै आएका थिए । तर, पछिल्लो समय चीन तथा यूरोपका लगानीकर्ताले चासो देखाएको बोर्डले जानकारी दिएको छ । लामो समयको नाकाबन्दीका कारण पछिल्लो समय भारतीय लगानीकर्ताहरु नेपालमा लगानी गर्न हच्किएका सम्बद्ध सरोकारवालाहरु बताउँछन् ।

उद्योग विभागको तथ्याङक अनुसार पनि पछिल्लो समय नेपालमा चिनीयाँ लगानी बढेको देखिन्छ । केही समय अघिसम्म नेपालमा भारतीय लगानीको वर्शच्व रहेकोमा गत आवमा चिनीयाँ लगानी बढी भित्रिएको थियो । गत आर्थिक वर्षमा झण्डै ६ अर्ब रुपैयाँ चिनीयाँ लगानी भित्रिएको विभागको तथ्याङकमा उल्लेख छ । तर भारतीय लगानी भने १ अर्ब ९२ करोड रुपैयाँ सिमित भएको देखिन्छ ।

परियोजना बैंक बनेपछि मात्र लगानी

बोर्डले भने ठूला आयोजना विदेशी लगानी ल्याउनका लागि परियोजना बैंक बनाउने तयारी थालेको छ । यस अघि बोर्डले सम्भावित ठूला आयोजना छनौट गर्न नसकेकोले अवमा दिनमा परियोजना बैंकनै बनाएर विदेशी लगानी भित्र्याउने तयारी थालेको हो । ‘अहिले हामीसँग परियोजना नहुँदा विदेशी लगानीकर्ताहरु त्यतिकै फर्कन वाध्य भएका छन्,’ बोर्ड स्रोतले भन्यो, ‘अवका दिनमा परियोजना बैंक बनाएर बढीभन्दा बढी विदेशी लगानी भित्र्याउने तयारी भइरहेको छ ।’

बोर्डले परियोजना बैंकमा सम्भावित ठूला आयोजनाहरु समावेश गर्ने छ । सो आयोजनामा नेपाललाई हित हुनेगरी विदेशी लगानी भित्र्याइने समेत बोर्डको भनाइ छ । जसमा पूर्वाधार निर्माण, खानी, जलविद्युत, पर्यटन उद्योगजस्ता आयोजनाहरु समावेश गरिने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL