Logo

फ्रिक्वेन्सी नीतिले ‘प्रविधि विस्तारमा ‘डुओपोली’ निम्त्याउँदै छ’

फ्रिक्वेन्सी नीतिले ‘प्रविधि विस्तारमा ‘डुओपोली’ निम्त्याउँदै छ’


बिजखबर संवाददाता
0
Shares

बढी शुल्क तोकेर यस क्षेत्रमा अन्य सेवाप्रदायकको प्रवेशलाई रोक लगाइएको छ । ठूलो कम्पनीको तुलनामा अरुसँग पूँजी कम छ भन्दैमा सेवामा रोक लगाइनु हुँदैन ।

आइएसपीहरुको मुख्य समस्या डुब्लिकेशन हो । जसले गर्दा प्राइस वार बढाएको छ । तर, हाम्रो मुख्य लक्ष्य भनेको गुणस्तरिय सेवा प्रदान गर्नु हो अझै पनि शहरमा गुणस्तरिय इन्टरनेटको बजार छ । त्यसैलाई केन्द्रित गरेर भायनेटले आफ्नो सेवा विस्तार गर्दै आएको छ ।

अहिले आईएसपीहरुलाई शहर केन्द्रित भएभन्ने अरोप छ । तर, सेवाप्रदायक आफैले पूर्वाधार बनाएर गाउँमा जान सक्दैनन् । यसका लागि सरकारले इन्फरमेशन सुपर हाइवे बाइदिनुपर्छ । नेपालको आइएसपीको अवस्था, गुणस्तर तथा आगामी दिनमा गरिनुपर्ने कामको विषयमा केन्द्रित रहेर आएसपानमा निवर्तमान अध्यक्ष तथा भायनेटका संस्थापक/प्रवन्ध निर्देशक विनय बोहोरासँग बिजखबरका रामराजा श्रेष्ठले गरेको कुराकानीको सार ः

तपाइहरुले जुन रुपमा इन्टरनेट क्षेत्र विस्तार गर्दै हुनुहुन्छ सोही अनुरुप गुणस्तरमा सुधार गर्न सक्नु भएन किन ?

यो क्षेत्रमा धेरै व्यवसायीको आवद्धता भइसकेको छ । खुलाबजार अर्थतन्त्रमा जो पनि व्यवसायमा आउन सक्छन् तर सोही अनुरुप गुणस्तर दिन्छ कि दिँदैनन् भन्ने कुरा मुख्य हो । सवै आईएसपीहरुले राम्रो सेवा दिइरहेका छन् भन्न सक्दिन तर त्यसो भन्दैमा सवै नराम्रा छन् भन्ने पनि होइन । १/२ वटा आईएसपीहरुले राम्रो गुणस्तर दिन नसक्दा सवैलाई एउटै टोकरीमा राखेर हेर्ने काम भइरहेको छ । उदाहरणका लागि भायनेटले गुणस्तरकै लागि फाइवर माध्यमबाट मात्र इन्टरनेट प्रदान गर्दै आएको छ । तसर्थ यसमा अहिले कुनै गुनासो छैन । अहिले पनि यो क्षेत्रमा धेरै कमजोरीहरु छन् यसलाई विस्तारै सुधार गर्दै जानु पर्छ ।

bineya_bohara_ispan

सेवाप्रदायकहरुबीच एकदमै प्रतिस्पर्धा देखिएको छ । यसले व्यवसायमा कस्तो प्रभाव पारेको छ ?

मुख्य कुरा त डुब्लिकेशन नै हो । एकै ठाउँमा ४/५ वटा सेवा प्रदायकले एउटै प्रकृतिका सेवा दिँदै आएका छन् । सवै सेवा प्रदायक एकै ठाउँमा जाँदा पूर्वाधारमा बढी खर्च भइरहेको छ । त्यसो भन्दैमा फेरी एक स्थानमा एउटा मात्र सेवाप्रदायक जाँदा एकाधिकार हुने डर हुन्छ । अहिले आइएसपीहरु सुगम क्षेत्रमा केन्द्रित भएका छन् । एकै ठाउँमा केन्द्रित हुँदा पनि अझै गुणस्तर सुधारमा ध्यानदिनु पर्ने देखिन्छ । तसर्थ अझै पनि शहरमा राम्रो र गुणस्तरिय इन्टरनेटको माग छ ।

प्रतिस्पर्धाको मुख्य असर चाहिँ के हो ?

यसको मुख्य समस्या प्राइस वार हो । अहिले कसले सस्तोमा सेवा दिने भन्नेमा होडवाजी छ । तर त्यसो गर्दा गुणस्तर खस्किन्छ । हाम्रो मुख्य लक्ष्य भनेको ग्राहकलाई गुणस्तरिय सेवा दिनु हो । तसर्थ हामी प्राइस वारमा पर्न चाहँदैनौं । राम्रो गुणस्तरको इन्टरनेट दिनका लागि सोही अनुरुपको लागत लाग्छ । तसर्थ हामी दिर्घकालिन रुपमा गुणस्तरिय सेवा दिन चाहन्छौं । अहिले भायनेटले गुणस्तरमा सम्झौता गर्दैन । अन्यको तुलनामा भायनेटको शुल्क केही महङ्गो होला तर गुणस्तरमा खोट लगाउने ठाउँ छैन । ग्राहकसँग सेवा शुल्क लिएपछि सोही अनुरुपको सर्भिस दिन सक्नुपर्छ । नेपालका आइएसपीहरुको मुख्य चुनौती पनि यहि हो ।

तपाइकै भनाइमा पनि आईएसपीहरु शहर केन्द्रित भएर सेवा दिइरहेका छन् । किन गाउँमा जान डराइरहेका छन् ?

जहाँ माग छ त्यहाँ सेवा प्रदायक पुग्छन् । तर, त्यसो भन्दैमा बढी खर्च गरेर थोरै आम्दानीका लागि सेवा प्रदायक जाँदैनन् । कति खर्च गर्दा कति आम्दानी हुन्छ भन्ने विषय मुख्य कुरा हो । घाटाको व्यवसाय गर्न को चाहन्छ ? यो क्षेत्रलाई राज्यले कुनै सुविधा दिएको छैन । यदि राज्यले सुविधा दियो भने वाध्यताले पनि गाउँगाउँमा जानु पर्छ । यदि कुनै व्यवसायीले आफ्नै लगानीमा मात्र काम गर्छ भने जहाँ सहज र सुविधा छ त्यतै केन्द्रत हुनु स्वभाविक नै हो । इन्टरनेटको नेटवर्क कुनै एउटा आईएसपी कम्पनीले बनाउन सक्दैन । जसका लागि सरकारले ‘इन्फरमेशन सुपर हाइवे’ बनाइदिनु पर्छ । पहिला सरकारले बाटो बनाउनु पर्छ त्यसपछि मात्र आईएसपी कम्पनीहरु गाउँगाउँमा जान सक्छन् ।

भर्खरै सरकारले फ्रिक्वेन्सी नीति जारी गरेको छ । यसमा तपाइको धारणा के छ ?

यस पटकको नीति टेक्नोलोजी न्युट्रल र फोरजीको लागि आएको ल्याइएको हो । फोरजी आउँदैमा कुनै जादू हुने होइन । भ्वाइसको लागि थ्रीजी नै प्रयोग गर्नुपर्छ । आइएसपीलाई पहिलेदेखि बढावढमा फ्रिक्वेन्सी दिने भनिएको थियो । तर अहिलेसम्म सो विषयमा कुनै प्रगति भएको छैन । किन नदिएको हो यो गम्भिर विषय हो । कसको इन्ट्रेस्टले गर्दा रोकिएको हो यो मुख्य पश्न हो ? नयाँ नीतिले मोवाइल अपरेटरलाई फोरजी चलाउन सहज बनाइदिएको छ ।

नीतिका राम्रा र नराम्रा पक्ष के हुन् ?

नीति पहिला देखि नै विग्रीएर आएको छ । नीतिले नेपाल टेलिकम र एनसेललाई पावरफुल बनाइदिएको छ । २० अर्ब रुपैयाँ शुल्क तोकेर यस क्षेत्रमा अन्य सेवाप्रदायकको प्रवेशलाई रोक लगाइएको छ । ठूलो कम्पनीको तुलनामा अरुसँग पूँजी कम छ भन्दैमा सेवामा रोक लगाइनु हुँदैन । नीतिकै कारण अहिले यो क्षेत्रमा डुओपोली हुने डर छ । नेपालको इन्टरनेशनल लङ डिस्टेन्स कल महङ्गो हुनुको मुख्य कारण नै यहि हो । जसले गर्दा नेपालको कल नर्मिनेशन रेट विश्वकै महङ्गो भएको छ । तसर्थ महङ्गो लाइसेन्स शुल्क देखाएर सेवा सुविधा २ वटा कम्पनीमा मात्र सिमित गर्ने काम भइरहेको छ ।

नीतिले आइएसपी कम्पनीहरुलाई २३०० व्याण्ड फ्रिक्वेन्सी दिएको छ । के आइएसपी कम्पनीहरु संचालनका लागि सक्षम छन् ?

प्रविधि सजिलो छ तर महङ्गो छ । यो सेवा आइएसपीलाई आजभन्दा ४ वर्ष अगाडी नै दिने भनिएको थियो । तर, ४ वर्षसम्म थाती राखियो । अहिले ठूला कम्पनीसँगै दिन लागिएको छ । अहिलेको मुख्य प्रश्न ठूला कम्पनीसँग प्रतिस्पर्धा गरेर चलाउन सक्छन् कि सक्दैनन् ? अहिले हाम्रो मुख्य माग भनेको एउटा आईएसपीले नसकेपनि ८÷१० वटा सेवा प्रदायक मिलेर चलाउनपाउनु पर्छ भन्ने हो । त्यसका लागि आईएसपीहरु सक्षम छन् ।

आईएसपी संचालकले ग्राहकसँग एक किसिमको सम्झौता गर्छन तर सोही अनुरुप सेवा दिँदैनन भन्ने जनगुनासो छ । यसमा अपरेटरहरु जिम्मेवार हुनुपर्छ कि पर्दैन ?

निश्चयपनि जिम्मेवार हुनुपर्छ । सम्झौता अनुरुप सेवा दिइदैन भने त्यो ठगी हो । अर्को कुरा ग्राहकलाई पनि धेरै च्वाइस छ । एउटले राम्रो सेवा दिँदैनन् भने अर्को सेवाप्रदायकमा जान सक्छन् । अहिले ग्राकहलाई कुनै पनि सेवा लिन र त्यसबाट निस्कन एकदमै सहज छ । यदि कुनै ग्राहकलाई भायनेटको सेवा मन परेन भने उसले तिरेको पैसा फिर्ता लिएर वाहिरिन सक्छ । प्रतिस्पर्धी जमानामा बजार आफुलाई टिकाइरहन गुणस्तरमा सुधार गर्नुको अर्को विकल्प रहँदैन । अन्यथा बजारबाट वाहिरिनुपर्ने हुन्छ ।

अन्तमाः अहिले भायनेटले कस्तो सेवा दिँदै आएको छ र आगामी दिनमा आफ्नो सेवालाई कसरी विस्तार गर्दै छ ?

नेपालमा अझै पनि राम्रो गुणस्तरको इन्टरनेटको कमि छ । त्यसैलाई मध्यनजर गर्दै हामीले फाइवरबाट मात्र इन्टरनेट दिँदै आएका छौं । काठमाडौंको हरेक घरमा फाइवर सेवा पुर्याउने लक्ष्य अनुरुप अघि बढेको छ । हाम्रो मुख्य लक्ष्य उपभोक्ताको जिवनमा परिवर्तन ल्याउनु हो । भायनेटले उच्च क्षमताको इन्टरनेट सेवा प्रदान गर्दै आएको छ । तसर्थ आगामी दिनमा इन्टरनेट प्रोटोकल टेलिभिजन ल्याउने तयारी गरिरहेका छौं । अव हाइ क्वालिटीको इन्टरनेटका साथै हाइ क्वालिटीको भिडियो प्रदान गर्ने छ । हालको यसको आन्तरिक रुपमा परीक्षण भइरहेको छ । आगामी १ महिनाभित्रै व्यवसायीक रुपमा लञ्च गर्ने छौं ।

प्रतिक्रिया दिनुहोस्
MBL