Logo

सेयर बजारमा राजनीतिक अस्थिरताको प्रभाव, उचाईको चक्र पूरा, अव बजार माथितिर धानिदैन

सेयर बजारमा राजनीतिक अस्थिरताको प्रभाव, उचाईको चक्र पूरा, अव बजार माथितिर धानिदैन


रामराजा श्रेष्ठ
0
Shares

 विश्लेषण

राजनीतिक अस्थिरतासँगै अव सेयर बजार तलतिर जाने प्रवल संभावना छ । निरन्तर बढेर १७ सय अंकको छेउछाउ लामो समय तलमाथि गरिरहेको बजारलाई तलतिर जान निहु चाहिएको छ । राजनीतिक अस्थिरता २०६५ सालको झै निहु हुन सक्छ ।
माओवादीले छोडेपछि कस्तो राजनीतिक गठवन्धन हुने हो भन्ने तीब्र अनिश्चितता देखिएको छ । माओवादी केन्द्रका महराले भनेजस्तै प्रचण्डको नेतृत्वमा सरकार बन्ने र कांग्रेसले समर्थन गर्ने वा प्रचण्डले कांगे्रसलाई समर्थन गर्ने हो भन्ने पनि अन्योल छ । पर्दाभित्र थुप्रै किसिमका खेलहरु भैरहेका छन ।

भित्री सूचना तथा जानकारीहरुका आधारमा विश्लेषण गर्दा अहिले ३ वटा परिदृश्यहरुमध्ये एकमा राजनीति फस्नेछ । पहिलो, राष्ट्रपति आफू अनुकूल भएकोले प्रधानमन्त्री केपी ओलीले संसद भंग गरेर चुनाव घोषणा गर्न सक्नेछन । यसका लागि अरु तयारी नगरुन भनेर उनले संसदको सामना गर्ने सन्देश पठाएका छन । यो उनको समय बचाएर निर्णय गर्ने चालाबाजी मात्र हो । निर्णय जे पनि आउन सक्नेछ । यस किसिमको अस्थिरता भयो भने बजारलाई दबाब पर्नेछ । यो सरकारका कारणले नभै अन्यत्र लगानीका अवसर नभएर सेयर बजारमा लगानी थुप्रिएको हो । नियामक निकायहरुको कमजोर निगरानी क्षमताका कारण पनि यस क्षेत्रमा अनेक किसिमका अवैध पैसाहरु आकर्षित भएका छन ।

दोस्रो, शेरबहादुर देउवालाई यथाशीघ्र सरकारमा जानुछ । ठूलो लगानीका साथ पार्टीको र संसदीय दलको चुनाव पूरा गरेर पार्टी कब्जा गर्न पुगेका देउवाले सितिमिति प्रचण्डलाई सत्ता छोडिहाल्ने विश्वास गर्न सकिन्न । उनको पक्षमा अदृश्य शक्तिहरु पनि सक्रिय भएर लाग्नेछन । कांग्रेसको नेतृत्वमा सरकार बन्यो भने बजार यही उचाईमा स्थीर हुनसक्छ । किनकि अव बजार बढ्ने तात्विक कारण र तर्क छैनन ।

तेस्रो, एमालेसँगको महंगो सहकार्य टुटाएर ल्याइएका प्रचण्डलाई छोटो समयका लागि सत्ता सुम्पिने तयारी हुनसक्छ । प्रचण्डको नेतृत्वमा सरकार बन्यो भने सत्ता साझेदार जोसुकै भएपनि फेरि सेयर बजारमा प्रतिकूल असर पर्नेछ । विसं २०६५ भदौमा पनि प्रचण्ड प्रधानमन्त्री भएपछि बजार निरन्तर घट्न थालेको थियो । तर त्यसबेला प्रचण्ड प्रधानमन्त्री भएर भन्दा पनि बजार अभूतपूर्व उचाईमा पुगिसकेकोले घटेको थियो । अहिले पनि अभूतपूर्व उचाईमा पुगेकोले घट्ने निहुमा बजार तलबलाएको देखिन्छ । प्रचण्ड प्रधानमन्त्री भएर भन्दा पनि घट्ने समय आएकोले सेयर तलतिर लाग्नेछ । उनी आएपछि घट्नु संयोग हुनेछ, उनी प्रमुख कारक हुनेछैनन ।

धितोपत्र बोर्डले कालोधन भित्रिएको सम्वन्धमा अनुसन्धान शुरु गरेको बुझिएको छ । यदि यसमा बोर्ड कडा ढंगले प्रस्तुत हुन सक्यो र केन्द्रीय बैंकले पनि सेयर कर्जामा कडाई गरेको खण्डमा बजार गल्र्याम्मै तल खस्न सक्छ । डिम्याट तथा अन्य कारणले बजारलाई केही सहज बनाएपनि राजनीति र आर्थिक अवस्थाको प्रतिकूलतालाई अव बजारले थेगिरहन सक्नेछैन । केही खेलाडीहरुले अल्पकालिनरुपमा बजारलाई तलमाथि पार्ने संभावना छ, जुन मंगलबारको कारोबारमा पनि देखियो । तर बजारको आकार ठूलो हुँदै गएको र सेयरको आपूर्ति पनि बढिसकेको अवस्थामा उनीहरुको दैया नचल्न सक्ने संभावना बढी छ । साना लगानीकर्ताहरुले सावधानीपूर्वक लगानी गर्नु र आफ्नो पोको बलियो बनाउनु वुद्धिमानी हुनेछ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL