Logo

सौर्य ऊर्जामा लगानी गर्दै आईएमएस ग्रूप, ६ महिना भित्रै उत्पादन थालिने

सौर्य ऊर्जामा लगानी गर्दै आईएमएस ग्रूप, ६ महिना भित्रै उत्पादन थालिने


रामराजा श्रेष्ठ
0
Shares

काठमाडौं । आईएमएस ग्रूपले सौर्य ऊर्जामा लगानी गर्ने भएको छ । आईएमएस ग्रूप आन्तरगतको आइएमएस इनर्जीले १० मेगावाटको सोलार प्लाण्ट राख्न लागेको हो । मोवाइल, ज्वेलरी, अटोमोवाइलजस्ता ट्रेडिङ व्यवसाय गर्दै आएको सो समुहले लगानीको क्षेत्र विस्तार गर्दै सौय ऊर्जामा लगानी गर्न लागेको हो ।

सौर्य ऊर्जा उत्पादनको लागि सम्पूर्ण तयारी भएको र नेपाल विद्युत् प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पीपीए)को विषयमा कुरा नमिल्दा रोकिएको आईएमएस ग्रूपमा अध्यक्ष दिपक मलहोत्राले बिजखबरलाई बताए । ‘पीपीएको विषयमा प्राधिकरणसँग छलफल भइरहेको छ,’ उनले भने, ‘यदि प्राधिकरणले तत्काल पीपीएको विषय टुङ्गो लगाउने हो भने ६ महिनाभित्रै विद्युत उत्पादन थाल्ने छौं ।’

हालको व्यवस्था अनुसार प्राधिकरणले प्रति युनिट ९ रुपैयाँ ६० रुपैयाँमा विद्युत खरिद गर्ने जनाएको छ । तर, आफुहरुले प्रति युनिट १२ रुपैयाँ माग गर्दै आएको उनले जानकारी दिए । ‘सोलारबाट २४ सै घण्टा विजुली उत्पादन नहुने भएकाले केही बढी दरमा पीपीए गर्न आग्रह गरेका छौं,’ उनले भने, ‘सोलारबाट निकालेको विजुली प्रति युनिट ९ रुपैयाँ ६० पैसामा बेच्न सकिँदैन ।’

आईएमएसले सुनसरी जिल्लामा सोलार प्लाण्ट राख्ने भएको छ । सोको लागि भारतीय कम्पनीले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारेको थियो । जस अनुसार १० मेगावाट विजुली निकाल्न जग्गा वाहेक १ अर्ब रुपैयाँ लाग्ने भएको छ । जसका लागि आवश्यक वित्तीय व्यस्थापन लगायत सम्पूर्ण कुराको तयारी भइसकेको छ । पीपीएकै विषयमा कुरा नमिल्दा सोलार प्लाष्ट राख्ने काम अन्योलमा परेको समेत उनले जानकारी दिए ।

कम्पनीले भारत र चीनबाट सोलार प्लाण्ट ल्याउने तयारी गरेको छ । हाल दुवै देशबाट कोटेशन आएको र जुनबाट राम्रो मुल्यमा पाइन्छ सोही देशको प्रयोग गरिने मलहोत्रा बताउँछन् । सोलार प्लाण्ट राख्नका लागि २५ विगाहा जमिन चाहिने र सोका लािग आवश्यक जग्गा समेत जुटाइसकेको उनले जानकारी दिए ।

उक्त परियोजना संचालनमा आएसँगै राष्ट्रिय प्रशारण लाइनमा दैनिक १० मेगावाट विजुली थपिने छ । राष्ट्रिय प्रसारण लाइन नजिकै सोलार प्लाण्ट राखिने र त्यस सम्मको दूरीमा कम्पनीले नै प्रसारण लाइन बनाएर जोडिदिने छ । सोलार प्यानल भएकाले दैनिक ६ देखि ७ घण्टा मात्र विजुली उत्पादन हुने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL