Logo

६ खर्ब रेमिट्यान्स र ५ लाख कामदारको भविश्य अन्योलमा

६ खर्ब रेमिट्यान्स र ५ लाख कामदारको भविश्य अन्योलमा


रामराजा श्रेष्ठ
0
Shares

काठमाडौं । सरकार र म्यानपावर व्यवसाबीचको टकरावले वैदेशिक रोजगारीमा जाने कामदारको भविश्य अन्योलमा परेको छ । फ्रि भिसा, फ्रि टिकट तथा मलेशियाको रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षणमा लागू गरिएको वायोमेट्रिक प्रणालीको विरोध गर्दै आएका म्यानपावर व्यवसायीहरु पछिल्लो समय प्रहरीले छापा मारेको भन्दै अनिश्चितकालका लागि व्यवसाय नै बन्द गरेका छन् ।

उनीहरुको अनिश्चितकालिन बन्दसँगै वैदेशिक रोजगारीमा जान चाहने लाखौ युवाहरुको भविश्य अन्यौलमा परेको छ । नेपालबाट वार्षिक ५ लाखभन्दा बढी युवायुवती वैदेशिक रोजगारीका जाने गरेका छन् । यदि सरकार र व्यवसायीबीचको टकरावले गर्दा व्यवसाय नै बन्द हुने भने श्रम बजारमा आउने वार्षिक ५ लाख युवाको भविश्य अन्योलमा पर्ने छ । स्वदेशमा रोजागारीको अवसर नहुनु तथा वैदेशिक रोजगारीमा जाने ढोका पनि बन्द भएमा उनीहरु अन्योलमा पर्ने छन् ।

नेपाली कामदारको प्रमुख गन्तव्य मेलशियाले केही समयअघि मात्र विदेशी कामदार लिन बन्देज लगाएको छ । उक्त निर्णसँगै मलेशियाको रोजगारीमा जान चाहने कामदारको भविश्य अन्योलमा परेको छ । केही वर्ष यता नेपालबाट वार्षिक २ लाखभन्दा बढी कामदार मलेशियाको रोजगारीमा गइरहेका छन् । यदि मलेशियाले विदेशी कामदार लिन रोक लगाउने हो भने नेपाली कामदार रोजगारीमा जानबाट बञ्चित हुनुका साथै ठूलो हिस्सा रेमिट्यान्स समेत गुमाउनु पर्ने हुन्छ ।

यदि मेलेशियाको रोजगारीमा मात्र सहज रुपमा कामदार जान नपाउने हो नेपाल भित्रने रेमिट्यान्स झण्डै ४० प्रतिशत रकम घट्ने नेपाल मुद्रा विप्रेशक संघका महासचिव तथा आइमईका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले जानकारी दिए । पछिल्लो समय अन्य देशको रोजगारीमा जान पनि समस्या देखिएकाले अझै घट्ने सम्भावना रहेको उनी बताउँछन् ।

पछिल्लो समय नेपालमा वार्षिक ६ खर्बभन्दा बढी रेमिट्यान्स भित्रने गरेको छ । यदि नेपाली कामदार वैदेशिक रोजगारीमा नजाने हो भने देशमा रेमिट्यान्स भित्रन् आधार नै बन्द हुने छ । जसको असर देशको अर्थतन्त्रमा पर्ने छ ।

सरकारले जथाभावी रुपमा व्यवसायीमाथी हस्तक्षेप गरेकाले वाध्यतावस व्यवसाय नै बन्द गर्नु परेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव रोहन गुरुङले बताए । ‘राज्यले आफुखुसी फ्रि भिसा तथा फ्रि टिकट लागु गरेर व्यवसायीलाइृ अनावश्यक दुःख दिएको थियो,’ उनले भने, ‘पछिल्लो समय राज्यका केही अंगले क्षेत्राधिकार नै मिचेर छापा मार्न थाले ।’ व्यवसायीलाई काम गर्ने वातावरण नै नभएकाले बन्द नै गर्नुपरेको उनको धारणा थियो ।

राज्यले आफ्ना मागलाई सम्बोधन नगरे अनिश्चितकालिन बन्द लामो समयसम्म जाने गुरुङ बताउँछन् । म्यानपावर व्यवसायीलाई वैदेशिक रोजगार ऐन र नियमावली अन्तरगत रहेर कारवाही गरिनुपर्ने उनको धारणा छ । यस्तै, वैदेशिक रोजगार ऐनमा रहेको पूर्व तथा अन्तिम स्वीकृति सम्बन्धी मौजुदा व्यवस्थालाई समेत तत्काल परिमार्जन गरिनुपर्ने उनको भनाइ थियो ।

यता प्रहरी प्रशासनले भने व्यवसायीहरुले वैदेशिक रोजगार ऐन र नियमावलीभन्दा वाहिरका गल्ती गरेकाले पक्राउ गरी छानविन गर्नुपरेको बताउँदै आएको छ । म्यानपावर व्यवसायीले मानव वेचविखन, विदेशी मुद्रा अपचलन, हुण्डी कारोवारलगायतका गलत क्रियाकलाप गरेको उजुरु परेकाले पक्राउन गरी छानविन गुर्नपरेको उपत्यका प्रहरी अपराध अनुसन्धान महाशाखा प्रमुख सर्वेन्द्र खनालले बताए । ‘एउटै म्यानपावर कम्पनीको २० भन्दा बढी ठगीको उजुरी परेको छ,’ उनले भने, ‘एकैपटक धेरैवटा कम्नपीको उजुरी परेकाले पक्राउ गरी छानविन गरेका हौं ।’ साथै, पछिल्लो समय उजुरी आउने क्रम बढेकाले केही समयभित्रै अन्य कम्पनीमा पनि छापा मारिने उनले जानकारी दिए । साथै, व्यवसायीले गलत काम गर्न छुटकारा पाउनु पर्ने माग राख्दै व्यवसाय बन्द गरेको समेत उनको आरोप थियो ।

यस्तै, नियामक निकाय श्रम तथा रोजगार मन्त्रालयले पनि ऐन र नियमावलीभन्दा बाहिरको गल्ती गरेमा प्रहरीले प्रक्राउन गरी मुद्दा चलाउने सक्ने जानकारी दिएको छ । मानव वेचविखन, हुण्डी कारोवार तथा विदेशी मुद्रा अपचलनजस्ता विषयमा वैदेशिक रोजगार ऐन र नियमावलीको क्षेत्राधिकारभित्र नपर्ने भएकाले त्यसमा प्रहरीले मुद्दा चलाउन सक्ने श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता गोविन्दमणी भुर्तेलले बताए । ‘यदि प्रहरीले क्षेत्राधिकार मिचेर पक्राउ गरेको रहेछ भने त्यसमा मन्त्रालयले व्यवसायीलाई सहयोग गर्न सक्छ,’ उनले भने, ‘गतल काम गरेका रहेछन् भने ऐन तथा नियमावलीको केही अर्थ राख्दैन ।’

प्रतिक्रिया दिनुहोस्
MBL