Logo

निर्वाचनका लागि जुट्यो महासंघ, मनोनयन दर्ता र सदस्यता नविकरणको निकाल्यो समय तालिका

निर्वाचनका लागि जुट्यो महासंघ, मनोनयन दर्ता र सदस्यता नविकरणको निकाल्यो समय तालिका



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले आसन्न निर्वाचनको लागि समयतालिका सार्वजनिक गरेको छ । महासंघले आफ्नो ५४ औ वार्षिक साधारण सभा एवं निर्वाचन सम्बन्धी मनोनयन दर्ता तथा सदस्यता नविकरणको लागि समय तालिका सहित सुचना प्रकाशित गरेको हो ।

महासंघले आसन्न निर्वाचनका लागि वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरु र कार्यकारिणी समितिका सदस्यको उम्मेद्वार मनोनयन गर्न इच्छुक सदस्य संघरसंस्थाहरु आर्थिक बर्ष २०७६/७७ सम्मको वार्षिक सदस्यता शुल्क, प्रतिनिधि शुल्क र उम्मेदवारी शुल्क सहित २०७७ साउन १८ गते साझ ५ बजे भित्र महासंघको सचिवालय टेकूमा मनोनयन दर्ता गराउने सुचित गरेको छ ।

ललितपुर स्थित हेरिटेज गार्डेनमा साउन २६ गते बिहान ९ बजेदेखि सुरु हुने उक्त साधारणसभाका लागि जिल्ला र नगर उद्योग वाणिज्य संघ एवं बस्तुगत संघ र द्विराष्ट्रिय उद्योग वाणिज्य संघको हकमा अध्यक्ष स्वयं मुख्य प्रतिनिधि रहनु पर्ने व्यवस्था गरेको छ । यदि अध्यक्ष स्वयं उपस्थित हुन नसक्ने अवस्थामा सम्बन्धित सदस्य संघको कार्यकारिणी समितिले आफू मध्येबाट प्रतिनिधि छानी मुख्य प्रतिनिधि सहितको प्रतिनिधिमण्डलको नाम पठाउनु पर्ने छ ।

निर्वाचनमा उम्मेदवार खडा गर्ने प्रदेश, उद्योग वाणिज्य संघ, वस्तुगत संघ, द्विराष्ट्रिय उद्योग वाणिज्य संघ, एशोसिएटस सदस्य एवं महासंघका संस्थापक सदस्यहरुले आफ्नो तर्फबाट निर्वाचनमा खडा गर्ने उम्मेदवारलाई अनिवार्य रुपमा प्रतिनिधिमण्डलमा समावेश गरी प्रतिनिधिमण्डल पठाउनु पर्नेछ । यसैगरी जिल्ला र नगरस्तरीय उद्योग वाणिज्य संघहरुले मुख्य प्रतिनिधिसहित २ जना र उम्मेदवार खडा गर्ने जिल्ला नगर स्तरीय उद्योग वाणिज्य संघको हकमा भने उम्मेदवार सहित थप प्रतिनिधिमण्डल पठाउन सकिनेछ ।

वस्तुगत संघहरुले मुख्य प्रतिनिधि सहित २ जना, द्विराष्ट्रिय उद्योग वाणिज्य संघहरुले मुख्य प्रतिनिधि सहित १ जना र एशोसिएट सदस्यले मुख्य प्रतिनिधि १ जना पठाउनु पर्नेछ ।

साथै वार्षिक साधारण सभामा भाग लिने प्रतिनिधिहरुले महासंघको वार्षिक सदस्यता शुल्क प्रतिनिधि शुल्क र प्रतिनिधिपत्र २०७७ साल साउन २६ गतेभित्र बुझाई सकेको हुनु पर्नेछ । तर उम्मेदवार खडा गर्ने सदस्य संघ संस्थाको हकमा भने उक्त सबै शुल्क साउन १८ गते भित्र बुझाई सकेको हुनुपर्ने महासंघले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL