Logo

लकडाउनको मोडालिटी परिवर्तनको तयारी : निजी सवारी र व्यवसाय सञ्चालनसँगै आन्तरिक हवाई उडान पनि खुलाउने तयारी

लकडाउनको मोडालिटी परिवर्तनको तयारी : निजी सवारी र व्यवसाय सञ्चालनसँगै आन्तरिक हवाई उडान पनि खुलाउने तयारी



काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण फैलन नदिन नेपाल सरकारले लागू गरेको लकडाउन (बन्दाबन्दी) ७१ औं दिन पुगिसकेको छ ।

आज सरकारले जारी गरेको सातौं चरणको लकडाउन सकिदैं छ र भोलिदेखि आठौं चरणको लकडाउन शुरु हुँदैछ ।

सरकारले नेपालमा कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै पहिलोपटक चैत ११ गते बिहान ६ बजेदेखि चैत १८ बिहान ६ बजेसम्म लकडाउन घोषणा गरेको थियो । सरकारले अहिले आठौं चरणमा जेठ ३२ सम्म लकडाउन गर्ने घोषणा गर्दै अन्तरराष्ट्रिय सीमानाका र विमानस्थल आगामी असार १६ गतेसम्म बन्द गर्ने निर्णय पनि गरेको छ ।

निरन्तर एकै प्रकृतिको लकडाउन कायम राखिएपछि सरकारलाई चौतर्फी दबाब छ । यो दबाबका बीच जेठ मसान्तसम्म लकडाउन लम्ब्याउने निर्णय गरेसँगै सरकारले ढाँचा बदल्ने तयारी गरेको हो । जसअनुसार नयाँ ढाँचा तयार गर्न कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिलाई निर्देशन दिएको छ ।

यस्तोमा सरकारले लकडाउनको मोडालिटी (ढाँचा)मा केही फेरबदल गर्ने भएको छ । संक्रमित क्षेत्र र जोखिमको अवस्था हेरेर लकडाउनको मोडालिटी परिर्वतन गरिने भएको हो ।

निर्देशनअनुसार समिति र कोभिड(१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले नयाँ ढाँचा बनाइरहेको छ । जोखिमको अवस्थालाई मध्यनजर गर्दै लकडाउन अब क्रमशः सामान्य बनाउँदै जानुपर्ने आवश्यकता बोध भएको उच्चस्तरीय समन्वय समितिका एक सदस्यले बताए । सम्भवतः भोलिदेखि नै लकडाउनको ढाँचामा केही परिवर्तन हुने अनुमान गरिएको छ ।

यसअघि खाद्यान्न, कृषि, निर्माणलगायत अत्यावश्यक गरी झन्डै ४० प्रकारका सेवासँग सम्बन्धित कलकारखानामा सामाजिक दूरी र स्वास्थ्य सावधानी अपनाएर काम गर्न सक्ने निर्णय मन्त्रिपरिषद्ले गरिसकेको छ । अब उत्पादनमूलक र सेवामूलक क्षेत्र छुट्याएर कुनलाई कसरी सञ्चालन गर्ने भन्ने ढाँचा तयार गरी आजै सरकारलाई प्रस्ताव गरिनेछ ।

अन्य मुलुकले आर्थिक गतिविधि ठप्प र जनजीवनसमेत अस्तव्यस्त बनेपछि लकडाउनलाई खुकुलो पारिसकेका छन् । संक्रमितहरूको अवस्था, त्यहाँको जनसंख्या, स्वास्थ्य उपचारको सम्भावित उपलब्धता हेरेर ठाउँ विशेषमा लकडाउनको ढाँचा परिवर्तन हुने समितिका उक्त सदस्यले जानकारी दिए ।

हाल कम जोखिम देखिएका हिमाली, पहाडी जिल्ला र काठमाडौं उपत्यकालगायतमा आवागमन खुकुलो बनाइने सम्भावना छ । बढी जमघट हुने स्थानबाहेक अन्य क्षेत्रमा खुकुलो हुनेछ । सार्वजनिक यातायात तत्काल खुला नभए पनि केही स्थिति आकलन गरी आन्तरिक हवाई उडान खुलाउने विषयमा कुरा भइरहेको पनि उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL