Logo

५० लाख धरौटीको चर्चापछि पर्यटन व्यवसायीमा त्रास, यस्तो छ मन्त्रालयको स्पष्टीकरण

५० लाख धरौटीको चर्चापछि पर्यटन व्यवसायीमा त्रास, यस्तो छ मन्त्रालयको स्पष्टीकरण



काठमाडौं । विश्वव्यापी कोरोना भाईरस (कोभिड–१९) महामारीको कारण सरकारले घोषणा गरेको लकडाउनका कारण पर्यटन व्यवसाय सबैभन्दा बढी प्रभावित भएको छ । यस्तो अवस्थामा व्यवसाय बन्द गरेर घरभित्र बसेका पर्यटन व्यवसायीहरु केही दिनयता व्यवसायीलाई ठूलो भार पर्नेगरि सरकारले नयाँ प्रावधान ल्याउन लागेको चर्चाले आतंकित बनिरहेका छन् ।

laxmi

वर्तमान विषम परिस्थितिका कारण व्यवसाय चौपट भएको अवस्थामा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ल्याउन लागेको नयाँ पर्यटन नीतिमा एजेन्सीको धरौटी रकम ५० लाख रुपैयाँ पुर्याउने भन्ने हल्लाले ब्यवसायीमा आतंक श्रेजना गरेको हो । अहिलेको स्थितिमा सरकारले भरथेग नगरे समग्र पर्यटन उद्योग नै धराशायी हुनसक्ने भन्दै पर्यटन व्यवसायीहरुले सरकारसँग विभिन्न सहुलियतको माग गरिरहेका छन् ।

ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) ले ट्रेकिङ व्यवसायको नवीकरण म्याद ६ महिना थप्न माग गरिरहेको बेला उक्त हल्ला आए पछि ब्यवसायीहरु चिन्तित भएको टानका अध्यक्ष खुमबहादुर सुवेदीले जानकारी दिए । उनले भने, ‘कोरोनाका कारण विश्व पर्यटनसँगै नेपालको पर्यटन बजार कोमामा छ । यसलाई पुनर्जीवन दिन धेरै देशहरुले प्रोत्साहन प्याकेज ल्याएका छन् । यस्तो अवस्थामा त्यस्तो नीति ल्याए बिरोध गर्ने छौं ।’

नीति तथा कार्यक्रम र बजेटमा प्याकेज राख्ने भनेर पर्यटन क्षेत्रलाई राहत दिन सरकारले ढिलासुस्ती गरिरहेकोसमेत उनको आरोप छ । कोरोनाको महामारीलाई बेलैमा रोक्न सरकारले चालेका कदम सराहनीय भएको भन्दै पर्यटन व्यवसायी आफ्नो व्यवसायबाट पलायन हुने अवस्थाबाट जोगाउन समेत उनले सरकारलाई आग्रह गरे ।

व्यवसायीलाई प्याकेज ल्याएर जोगाउनु पर्ने अवस्थामा उल्टै ब्यवसायीको ढाड सेकाउने काम सरकारबाट हुनसक्ने सम्भावना रहेको भन्दै उनले त्यैका लागि यस्तो हल्ला बजारमा आएको हुन सक्ने अनुमान गरे । ‘अहिले धरौटीको कुरा उठाउनु भनेको मलामी जान बिहेको बाजा बजाउनु जस्तै हो’, उनले भने, ‘व्यवसायी बाँचे व्यवसाय बाँच्छ र व्यवसाय बाँचे देशको अर्थतन्त्रले गति लिन्छ ।’

कोरोना महामारीका कारण अहिले नेपालमात्र नभई विश्वका धेरै देश लकडाउनमा छन् । देशमात्र नभई देशको अर्थतन्त्र नै लकडाउनको स्थितिमा छ । लकडाउनले गर्दा सरकारका तर्फबाट धरौटी राख्नुपर्ने प्रावधान नल्याई विगतमा व्यवस्था गरिएको धरौटी रकम प्रयोग गर्न दिए केही राहत मिल्ने ब्यवसायीहरुको भनाई छ ।

तर, मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले भने यो सबै हल्ला मात्रै भएको र धरौटी रकम थपको विषयमा आफुलाई कुनै जानकारी नभएको बताए । उनले अहिले देश लकडाउनका कारण सबै बन्द भएकाले त्यस्तो बजारी हल्लामा नलाग्नसमेत आग्रह गरेका छन । अहिले ऐन निर्माणको चरणमा रहेको र अहिले नै त्यस्तो कुनै पनि नीतिमा धरौटी रकम थप नगरेको बताएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL