Logo

सडकमा गाडी नचलेपछि समस्यामा बीमा कम्पनी, फिर्ता गरे ग्राहकको ८ सय मिलियन डलर

सडकमा गाडी नचलेपछि समस्यामा बीमा कम्पनी, फिर्ता गरे ग्राहकको ८ सय मिलियन डलर



काठमाडौं । कोरोना महामारीको असर समग्र क्षेत्रमा देखिइरहेको छ । कोरोनाकै कारण पछिल्लो समय बीमा कम्पनीहरुले करोडौं डलर गुमाउने भएका छन् । गत सोमबार न्युयोर्कस्थित २ बीमा कम्पनी अलस्टेट र अमेरिकी फ्रयामिलिले आफ्ना ग्राहकको करिव ८ सय मिलियन डलर प्रिमियन फिर्ता गर्ने घोषणा गरेका छन ।

सडकमा धेरै कम मानिसले गाडी चलाएका कारण उक्त २ कम्पनीले आफ्ना ग्राहकको अटो बीमाबापतका ८ सय मिलियन डलर प्रिमियन फिर्ता गर्ने निर्णय गरेका हुन् ।

अलस्टेट बीमा कम्पनीले अप्रिल र मे महिनामा आफ्ना ग्राहकले तिरेको प्रिमियमको १५ प्रतिशत अर्थात ६ सय मिलियन डलर फिर्ता गर्दैछ । मानिसहरुले आफ्ना गाडीहरु थन्क्याएर घरमा राखेका र एक्सीडेन्टको सम्भावना ज्यादै न्यून हुनेभएपछि यस्तो कदम चालिएको अलस्टेटका प्रमुख कार्यकारी अधिकृत टोम विल्सनले जानकारी दिए ।

अलस्टेट कम्पनीले अमेरिकालगायत क्यानेडेली नागरिकको पनि अटो बीमा गरिदिएको छ । कम्पनीले आफ्ना ग्राहकहरुको २ महिनाको प्रिमियम फिर्ता गर्दैछ । यस्तै अमेरिकन फ्यामिली कम्पनीका भने अमेरिकाका १९ प्रान्तमा मात्रै ग्राहक छन् ।

अमेरिकन फ्यामिलिले आफ्ना सबै ग्राहकलाई २ महिनाको प्रिमियमको ५० प्रतिशत अर्थात २ सय मिलिण्न डलर फिर्ता गर्ने घोषणा गरेको हो । यस्तै उक्त २ कम्पनीले आफ्ना ग्राहकहरुले प्रिमियम नतिरेर बाँकी रहेको खण्डमा पनि कम्पनीमा सम्पर्क गरेर जरिवाना मिनाह गर्न सक्नेछन् । यसैबीच अत्यावश्यक रुपमा सडकमा गुड्ने सवारीसाधन जस्तै पानी, औषधि, खाना लगायतका साधनको बीमा पनि बढाईरहेका छन् ।

उक्त २ कम्पनीले ग्राहकका लागि भन्दा पनि आफ्नै फाईदाका लागि यस्तो कदम उठाएको विज्ञहरुको दावी छ । यस्तो कदम उठाएमा कम्पनीमा ग्राहकले गर्ने बीमा दावीमा केही कमी आउने विज्ञहरुको अनुमान छ । अलस्टेट कम्पनील यसअघि मासिक १ अर्ब रुपैयाँ अटो बीमा दावी भुक्तानी गर्ने गरेको थियो । हाल सडकमा हुने सवारी दुर्घटना घटेपछि यसमा ८५ प्रतिशतले गिरावट आएको छ ।

हाल विश्वभरी फैलिएको कोरोना भाईरसको महामारीका कारण सवै सवारीसाधनहरु सडकमा आउँदैनन । सवारीसाधनहरु सडकमा नगुडेपछि सवारी दुर्घटना पनि शुन्यप्राय भएको छ । अमेरिकन फेमिलिका अनुसार पछिल्लो समय बीमा दावी भुक्तानी प्रतिहप्ता २० देखि ४० प्रतिशतले गिरावट आईरहेको छ ।

हाल अमेरिकालगायत विभिन्न देशमा अटो बीमा सुस्ताएको छ । अमेरिकाका उक्त २ कम्पनीले चालेको कदमको अन्य केही कम्पनीहरुले पनि पछ्याउने अनुमान गरिएको छ ।- वालस्ट्रिट जर्नलको रिपोर्ट

प्रतिक्रिया दिनुहोस्
MBL