Logo

उद्योगी व्यवसायीलाई कोरोना भाइरसको मौका छोपेर कालोबजारी नगर्न एफएनसिसीआइको अपिल

उद्योगी व्यवसायीलाई कोरोना भाइरसको मौका छोपेर कालोबजारी नगर्न एफएनसिसीआइको अपिल



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसीआइ)ले अत्यावश्यक वस्तुहरूको विक्रिवितरण पारदर्शी र प्रभावकारी बनाउन अपिल गरेको छ ।

laxmi

महासंघले मित्र राष्ट्र चीनबाट शुरू भएको कोरोना भाइरस(कोभिड–१९)का कारण अहिले विश्वनै चिन्तित भएको उल्लेख गर्दै त्यसको प्रभाव नेपालमा देखिनसक्ने अवस्थामा अत्यावश्यक वस्तुहरू व्यवस्थापन, विक्रिवितरण र ढुवानी कार्य पारदर्शी र प्रभावकारी ढंगबाट गरी आम जनतालाई सेवा दिन नेपाल उद्योग वाणिज्य महासंघ सम्बन्धित सबै उद्योगी व्यवसायीहरूको गम्भीर ध्यानाकर्षण गराएको हो ।

महासंघले अत्यावश्यक वस्तुहरू जस्तो मास्क, सेनेटाइजर लगायत औषधि, खाद्यान्न, पेट्रोलियम पदार्थहरूको विक्रिवितरण र ढुवानी कार्य पारदर्शी र प्रभावकारी ढंगबाट गर्न अपिल गर्दै यस कठिन परिस्थितिमा सबै उद्योग व्यवसाय÷उद्योगी व्यवसायी क्षेत्रले आ–आफ्नो ठाउंबाट भोलि आउन सक्ने विपत्ति समेतलाई दृष्टिगत गर्दै आ–आफ्नो भूमिका प्रभावकारी ढंगबाट निर्वाह गर्नुपर्ने वेला आएको उल्लेख गरेको छ ।

‘विश्व स्वास्थ्य संगठनले समेत कोरोना भाइरसबाट सुरक्षित र सचेत रहन विश्व समुदायलाई आव्हान गरिसकेको छ । नेपाल पनि कोभिड–१९ भाइरसको उच्च जोखिमयुक्त राष्ट्रको रूपमा रहेको कुरा सबैमा विदितै छ । यतिखेर विश्वभरीनै उद्योग व्यवसाय खासगरी सेवा क्षेत्रका पर्यटन उद्योग, औषधिजन्य उद्योगहरूमा यसको असर पर्ने र विस्तारै अन्य उद्योगहरूमा समेत गम्भीर समस्या पर्दै जाने र त्यसको प्रभाव नेपालमा समेत पर्ने अनुमान गर्न सकिन्छ’, महासंघद्धारा जारी विज्ञप्तिमा छ ।

महासंघले भनेको छ–‘अत्यन्त कठिन परिस्थितिमा पनि जिम्मेवारीपूर्वक आफ्नो कर्तव्य निर्वाह गरेको निजी क्षेत्रको विगत समेतलाई मध्यनजर गर्दै अत्यावश्यक वस्तुहरू जस्तो मास्क, सेनेटाइजर लगायत औषधि, खाद्यान्न, पेट्रोलियम पदार्थहरूको व्यवस्थापन, विक्रिवितरण र ढुवानी कार्य पारदर्शी र प्रभावकारी ढंगबाट गरी आम जनतालाई सेवा दिन नेपाल उद्योग वाणिज्य महासंघ आफ्ना सदस्य संघ-संस्था, उद्योग प्रतिष्ठानहरू-उद्यमी व्यवसायीहरू सबैमा हार्दिक आव्हान गर्दछ । साथै महासंघ आफ्ना सदस्य संघ-संस्थाहरूलाई आफू मातहतका उद्योग प्रतिष्ठानहरूमा समेत सोही अनुसारले अनुरोध गर्न आग्रह गर्दछ ।’

प्रतिक्रिया दिनुहोस्
MBL