Logo

लाईसेन्स होल्ड गरेर बस्ने सेवाप्रदायकलाई कडाई गर्दै मन्त्री खतिवडा, हेलो र युटीएलमाथी पोखे आक्रोस

लाईसेन्स होल्ड गरेर बस्ने सेवाप्रदायकलाई कडाई गर्दै मन्त्री खतिवडा, हेलो र युटीएलमाथी पोखे आक्रोस



काठमाडौं । अर्थ एवं संचार तथा सुचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले लाईसेन्स होल्ड गरेर सेवा प्रदान नगर्ने सेवाग्राहीलाई कडाई गर्नुपर्ने बताएका छन । मंगलबार नेपाल दूरसंचार प्राधिकरणको २२ औं बार्षिकोत्सवमा बोल्दै उनले नेपालमा सेवा प्रदान गर्ने अनुमति लिएर सेवा नदिने प्रचलन बढिरहेको बताएका हुन ।

‘बैंक तथा वित्तीय संस्थाहरुमा पनि अनुमति लिएर सेवा संचालन नगर्ने प्रवृत्ति व्याप्त थियो, त्यसलाई केही कम गर्दै लगेका छौं,’ उनले भने, ‘अर्काे मन्त्रालयमा आउँदा पनि त्यही प्रवृत्ति रहेछ ।’

उनले लाईसेन्स होल्ड गरेर सेवा प्रवाह नगर्ने प्रवृत्तिले देश विकासको अवधारणालाई नै खल्बल्याईरहेको बताएका छन । उनले यस्तो प्रवृत्तिको अन्त्य गर्नका लागि नेपाल दूरसंचार प्राधिकरणले तिब्र कदम चाल्नुपर्ने समेत बताएका हुन । हाल दूरसंचार सेवाको लाईसेन्स लिएका विभिन्न सेवाप्रदायकले लाईसेन्स होल्ड गरेर सेवा नदिई बसेका छन ।

हाल सुमार्गीको हेलो र भारतीय लगानी रहेको युटिएलले दूरसंचार सेवाको लाईसेन्स होल्ड गरेर बसेका छन् । यस्तै अन्य थुप्रै आईएसपी तथा सेवा प्रदायकहरुले पनि लाईसेन्स लिएर सेवा प्रबाह नगरी बसेका छन् ।

कार्यक्रमका बोल्दै उनले दूरसंचार सेवालाई चुस्त दुरुस्त बनाउनका लागि कानुनको सहि उपयोग गर्दै काम गर्न प्राधिकरणलाई निर्देशन दिएका छन । उनले नेपालमा डिजिटल टेक्नेलोजीलाई समेत विकास गरेर लैजानुपर्ने अवस्थामा प्राधिकरणले यसलाई सहयोग पुग्नेगरी विभिन्न सह्राहनिय काम गरिरहेको बताएका छन । ‘अहिले विश्वमै सबैभन्दा बढी प्राथमिकताको विषय नै डिजिटल ईकोनोमी हो,’ उनले भने, ‘यसलाई नेपालमा पनि सोही अनुरुप अगाडी बढाउन प्राधिकरणले राम्रै काम गरिरहेको छ ।’

यस्तै उनले कार्यक्रममा बोल्दै अब तोकको भरमा सेवाप्रदायकलाई लाईसेन्स र अनुमति दिने प्रक्रियाको समेत अन्त्य भएको बताएका छन । ‘अब अनुहार हेरेर नाता हेरेर फ्रिक्वेन्सी र लाईसेन्स दिने चलनको अन्त्य भएको छ,’ उनले भने, ‘प्राधिकरणले पहिलोपटक गरेको फ्रिक्वेन्सी बोलकबोलले यस्तो प्रवृत्तिलाई समेत अन्त्य गरिदिएको छ ।’

कार्यक्रममा प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले नेपालको दूरसंचार विकासका लागि छुट्टै पूर्वाधार कम्पनीको अभाव भएको बताएका छन । उनले नेपालको डिजिटल फ्रेमवर्कलाई सहजीकरण हुनेगरी बनाईने विभिन्न दूरसंचार पूर्वाधारका लागि कम्पनी चाहिएको बताएका हुन । उनले उक्त कम्पनीका लागि प्राधिकरणले एलओसी खोलीसकेको बताएका छन ।

यस्तै उनले ब्रोडब्याण्ड ईन्टरनेटको मापदण्ड न्युनतम ५ एमविपीएस पुर्याउने समेत बताएका छन । कार्यक्रममा बोल्दै उनले यसअघि तोकिएको ब्रोडब्याण्ड ईन्टरनेटको न्युनतम सिमा ५ सय १२ केविपीएसलाई बढाएर ५ एमविपीएस पुर्याईने बताएका हुन ।

प्रतिक्रिया दिनुहोस्
MBL