Logo

पुर्वसभामुख महरालाई बलात्कारको अभियोगमा सफाई, के होला अब उनको राजनीतिक करिअर ?

पुर्वसभामुख महरालाई बलात्कारको अभियोगमा सफाई, के होला अब उनको राजनीतिक करिअर ?



काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरालाई जिल्ला अदालत काठमाडौंले बलात्कारको अभियोगमा सफाई दिएको छ । पुर्पक्षका लागि थुनामा रहेका महराको मुद्धाको सोमबार फैसला गर्दै महरालाई जिल्ला अदालतका न्यायाधीश अमरराज पौडेलको इजलासले सफाई दिएको हो ।

बलात्कारको प्रयासको मुद्दामा सफाइ दिएको काठमाडौँ जिल्ला अदालतका स्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिए । यसअघि आइतबार सुनुवाइ शुरु भए पनि समयाभावका कारण हेर्दाहेर्दै आजका लागि राखिएको थियो । महरालाई पुर्पक्षका लागि डिल्लीबजार कारागारमा राखिएकोमा अदालतको सफाई पछि आजै रिहा हुने भएका छन् ।

महराविरुद्ध बलात्कार प्रयासमा पाँच वर्ष र विशिष्ट व्यक्ति भएकाले थप साढे दुई वर्ष गरी साढे सात वर्षसम्मको कैद सजाय माग गरिएको थियो । संसद सचिवालयमै कार्यरत महिला कर्मचारीलाई बलात्कार प्रयासको आरोपमा गत असोज १९ गते प्रहरीले पक्राउ अनुसन्धान शुरु गरेको थियो ।

अदालतले सफाई दिएपनि उनको राजनीतिक क्यारियर भने अब कसरी अघि बढ्छ भन्नेमा अन्यौलता रहेको छ । सफाई पाएसँगै निलम्बन रहेको सांसद पदमा महरा रहने भएपनि उनको सभामुख पद भने पार्टीकै सहकर्मी अग्नि सापकोटाको पोल्टामा परिसकेको छ । यसैले अब सभामुख पदमा उनको पुर्नस्थापनाको सम्भावना असम्भव देखिएको छ ।

सभामुख जस्तो गरिमामय पद बलात्कार जस्तो आरोपमा गुमाएका महरालाई अब उनको पार्टीले कसरी उनको राजनैतिक र नैतिक क्षतिको क्षतिपूर्ति गर्छ भन्नेमा धेरैको नजर प्रधानमन्त्री केपी शर्मा ओली र पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डमा रहेको छ ।

त्यस्तै महरा अब सक्रिय राजनीतिमा फर्किएलान कि गुमनाम रहलान भन्नेमा पनि धेरैको आशंका रहेको छ । यो भने महरा स्वंयले रिहाइपछि कसरी अघि बढनेछन त्यसले पुष्टि गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL