Logo

नेपाल टेलिकमका कर्मचारीलाई संचारमन्त्रीको प्रश्न–‘आमाको जन्मदिनमा खुसी हुनुहुन्छ कि शंख फुक्दै रुनुहुन्छ ?

नेपाल टेलिकमका कर्मचारीलाई संचारमन्त्रीको प्रश्न–‘आमाको जन्मदिनमा खुसी हुनुहुन्छ कि शंख फुक्दै रुनुहुन्छ ?



काठमाडौं । संचार तथा सुचना प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाले नेपाल टेलिकमका आन्दोलनरत कर्मचारीको आन्दोलनलाई निरर्थक बताएका छन् । बुधबार नेपाल टेलिकमले आफ्नो १६ औं बार्षिकोत्सव मनाईरहँदा केही कर्मचारीहरु भने विभिन्न नाराका साथ पर्चा पम्पलेट समातेर आन्दोलन गरिरहेका थिए ।

laxmi

कार्यक्रममा प्रमुख अतिथि रहेका मन्त्री बास्कोटाले वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै कर्मचारीहरुलाई नेपाल टेलिकमको कर्मचारी भएर आफ्नै कम्पनीलाई माया गर्न छोडेर आन्दोलन गर्न नहुने बताए ।

‘आजको दिन त तपाइँहरुका लागि खुसीको दिन हो । तपाईँको आमा (नेपाल टेलिकम) जन्मेको दिन हो,’ उनले भने, ‘आमा जन्मेको दिन तपाईँ खुसी हुनुहुन्छ कि शंख फुक्दै रुनुहुन्छ ?’

नेपाल टेलिकमले छोटो समयमै नेपालका सबै जिल्लामा फोरजी सेवा पुर्याउन सफल भएको उनको भनाई थियो । ‘हामीले गत बर्षको बार्षिकोत्सवमा १ बर्षमा सबै जिल्लामा फोरजी सेवा पुर्याउँछौं भनेका थियौं त्यसबेला सबैले मन्त्रीको दम्भ, फुस्रा गफ भन्थे, यसपालि देखियो नी ।’

उनले थप्दै भने – ‘नेपाल टेलिकमले धेरै प्रगति गरिरहेको छ, कर्मचारी संरचनामा समेत उल्लेख्य सुधार भएको छ । ‘यस्तो बेला पञ्चायतको टालोजस्तो बोकेर के ठाउँ–ठाउँमा उभिराखेको, अरुले देख्दा के भन्लान ?’

कार्यक्रममा उनले राजनीतिको नाममा कम्पनीलाई कुनै किसिमको अप्ठ्यारो हुने काम नगर्न समेत आन्दोलनरत कर्मचारीलाई निर्देशन दिए । ‘राजनीति गर्ने मन छ भने पार्टी कार्यालय जानुहोस’, उनले भने, ‘यो राजनीति गर्ने ठाउँ होईन, राजनीति गरेर कम्पनीलाई टिम्बर कर्पाेरेशनको जस्तो हालतमा नपुर्याउनुहोला ।’

आफुलाई कम्पनीविरुद्धका कुनैपनि कदम मान्य नहुने उनको भनाई थियो । कर्मचारीले कम्पनीका विरुद्ध गरेका विभिन्न कामहरु पुर्ण रुपमा निस्तेज पार्न आफु लागिरहेको उनले बताए । उनका अनुसार सबै कर्मचारीले कम्पनीका विरुद्ध गरेका हरेक क्रियाकलापको अब हिसावकिताव राखिनेछ । बुधबार मन्त्री बास्कोटा कार्यक्रमस्थलमा प्रवेश गर्ने बेलामा ५० जना भन्दा बढी कर्मचारीहरुले विभिन्न मागसहितका पर्चा बोकेर विरोध जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL