Logo

श्री एयरलाइन्स पहिलो पटक भारत जाँदै, बनारसको लागि परीक्षण उडान ३ बजे

श्री एयरलाइन्स पहिलो पटक भारत जाँदै, बनारसको लागि परीक्षण उडान ३ बजे



काठमाडौं । श्री एयरलाइन्सले आज ३ बजे भारतको बनारसमा परीक्षण उडान गर्ने भएको छ । निजी क्षेत्रको अन्तरराष्ट्रिय उडानको तयारी गरेको श्री ले भारतको बनारसमा पहिलो पटक उडान सुरु गर्न लागेको हो ।

उक्त उडानमा श्री का उच्च अधिकारीहरु सहित नेपाल नागरिक उड्डयन प्राधिकरणको प्रतिनिधिहरु रहनेछ । बनारसको पहिलो परीक्षण उडानमा १६ जनाको सहभागिता रहने मानन्धरले जानकारी दिएको छ ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट दिउसो ३ बजे बनारसको लागि परीक्षण उडान गर्न लागेको कम्पनीका निर्देशक तथा प्रवक्ता अनिल मानन्धरले जानकारी दिएका हुन । उनका अनुसार पहिलो उडान कम्पनीको सिआरजे २०० विमानबाट हुनेछ ।

अन्तरराष्ट्रिय उडानको लागि नागरिक प्राधिकरणसँग अनुमति मागेको लामो समयपछि मात्रै श्रीले परीक्षण उडान भर्न लागेको हो । सोमबारको परीक्षण उडान पछि मात्रै उडान अनुमति पाउने कम्पनीले जानकारी दिएको छ ।

सन २०१७ देखि आन्तरिक उडान गर्दे आएको श्री एयरलाइन्सले ३ वटा विमानबाट तराइका ५ गन्तव्यमा नियमित उडान गर्दै आएको छ । जसमा भद्रपुर, विराटनगर, भैरहवा, नेपालगन्ज र धनगढी रहेका छन ।

हाल श्रीसँग जेट इन्जिन र बम्बार्डियर ७८ सिट क्षमताको सीआरजे ७००, ५० सिट क्षमताको सीआरजे २०० मोडेलका ३ जहाज रहेका छन । क्यानले अनुमति दिए लगतै भारतबाहेक बंलगादेश, थाइल्यान्ड, चीन र खाडी मुलुकहरूमा समेत उडान गर्ने तयारीमा रहेको मानन्धरले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL