Logo

गोर्खा ब्रुअरीलाई आन्तरिक राजस्वको ७ दिने अल्टिमेटम, ७ दिनभित्र ८७ करोड तिर्न निर्देशन

गोर्खा ब्रुअरीलाई आन्तरिक राजस्वको ७ दिने अल्टिमेटम, ७ दिनभित्र ८७ करोड तिर्न निर्देशन



काठमाडौं । आन्तरिक राजस्व कार्यालय भरतपुर चितवनले गोर्खा ब्रुअरीलाई सरकारलाई तिर्नुपर्ने रकम ७ दिनभित्र तिर्न निर्देशन दिएको छ । कार्यालयले कम्पनीले तिर्नुपर्ने अन्तशुल्क, जरिवाना तथा विलम्ब शुल्क बापतको ८७ करोड १४ लाख रुपैयाँ राजश्व ७ दिनभित्र बुझाउन आदेश दिएको हो । कार्यालयले गत साउन १२ गतै नै अन्तिम अन्तःशूल्क निर्धारण आदेश जारी गरी उक्त आदेश कम्पनीलाई दिइसकेको समेत जानकारी दिएको छ ।

कम्पनीले अघिल्लो र गत आर्थिक बर्षमा तोकिएको प्रतिशतभन्दा बढी परिमाण मौज्दात कमी (जर्ती) दावि गरेको पाएपछि कार्यालयले उक्त कम्पनीको प्रारम्भिक अन्तःशूल्क गत जेठ ९ मा निर्धारण आदेश जारी गरेको थियो ।

आन्तरिक राजस्व कार्यालयको उक्त आदेशविरुद्ध कम्पनीले उच्च अदालत पोखरामा रीट दायर गरेको थियो । सोही रिट विरुद्ध फेरी आन्तरिक राजस्व कार्यालयले सर्वाेच्च अदालतमा रीट हालेको र सर्वाेच्चले उच्च अदालत पोखराको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएपछि कार्यालयले कम्पनीलाई ७ दिनको अल्टिमेटम दिएको हो ।

पोखराको उच्च अदालतले अन्तःशूल्क निर्धारण नगर्न नगराउन र असुलसमेत नगर्न आन्तरिक राजस्व कार्यालय चितवनलाई अन्तरिम आदेश जारी गरेको थियो । सोही आदेश विरुद्ध कार्यालयले सर्वाेच्चमा रीट दायर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL